चालु आर्थिक वर्षमा नेपालको कुल उपभोगमा निजी क्षेत्रको हिस्सा अझ फराकिलो बनेको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल उपभोगमा सरकारी क्षेत्रको हिस्सा खुम्चिँदा निजी क्षेत्रको वर्चस्व ९१ प्रतिशत नाघेको अनुमान गरिएको छ।
चालु आर्थिक वर्षमा कुल उपभोगमध्ये सरकारी क्षेत्रको ६.६२ प्रतिशत, निजी क्षेत्रको ९१.२६ प्रतिशत र गैर-नाफामूलक संस्थाको २.१२ प्रतिशत रहने अनुमान छ।
गत आर्थिक वर्षमा सरकारी क्षेत्रको यस्तो अनुपात ९.०१ प्रतिशत र निजी क्षेत्रको ८८.९६ प्रतिशत रहेको थियो।
कुल निजी उपभोगको संरचना विश्लेषण गर्दा नेपालीहरूको सबैभन्दा धेरै खर्च अझै पनि खाद्य वस्तुमै हुने गरेको छ।
यद्यपि, कुल निजी उपभोगमा खाद्य वस्तुको अंश बिस्तारै घट्ने र सेवा तथा गैर-खाद्य वस्तुको अंशमा सामान्य वृद्धि हुने अनुमान गरिएको छ।
चालु आर्थिक वर्षको अनुमान अनुसार कुल निजी उपभोगमा खाद्य वस्तुको अंश ४८.३० प्रतिशत, गैर-खाद्य वस्तुको १८.४६ प्रतिशत र सेवाको अंश ३३.२४ प्रतिशत रहनेछ।
गत आर्थिक वर्षमा खाद्य वस्तुको अंश ४८.८४ प्रतिशत, गैर-खाद्य वस्तुको १८.३४ प्रतिशत र सेवाको अंश ३२.८२ प्रतिशत रहेको थियो।
विगत एक दशकको औसत हेर्दा खाद्य वस्तुमा ४८.७५ प्रतिशत खर्च हुने गरेको थियो।
मानिसहरुको उपभोग प्रवृत्तिमा विस्तारै परिवर्तन आउन थालेको र जीविकोपार्जनका आधारभूत खाद्य सामग्रीभन्दा अन्य सेवा र गैर-खाद्य सामग्रीमा खर्च गर्ने क्रम बढ्दै गएको संकेत गरेको छ।