आर्थिक वर्ष २०८१-८२ मा अस्तित्वमा रहेका संस्थानमध्ये २७ वटा संस्थानले नाफा आर्जन गरेका छन् भने १६ वटा संस्थान घाटामा रहेका छन्।
दुईवटा संस्थानको विवरण प्राप्त नभएको अर्थमन्त्रालयले सार्वजनिक गरेको संस्थानहरूको वार्षिक स्थिति समीक्षामा उल्लेख छ।
आर्थिक वर्ष २०८१-८२ मा नाफामा सञ्चालित संस्थानको खुद नाफा गत वर्षको तुलनामा १०.५८ प्रतिशतले बढेर ४८ अर्ब ८९ करोड ६ लाख रूपैयाँ पुगेको छ भने नोक्सानमा सञ्चालित संस्थानको खुद नोक्सानमा झिनो अंकले कमी भई ( ४.१४ प्रतिशत) ३ अर्ब ८० करोड ५७ लाख रूपैयाँमा सीमित भएको छ।
नेपाल आयल निगम लिमिटेड र तीन वटा वाणिज्य बैंकको नाफामा भएको उल्लेख्य वृद्धिले समग्र संस्थानको नाफा वृद्धिमा योगदान गरेको हो।
सार्वजनिक संस्थानको समग्र खुद नाफा भने १२.०३ प्रतिशतले बढेर ४५ अर्ब ८ करोड ४९ लाख पुगेको छ। यसअघि यस्तो नाफा ४० अर्ब २४ करोड २८ लाखको रूपैयाँ थियो।
त्यस्तै, जनकपुर चुरोट कारखाना लिमिटेड बन्द भएतापनि भवन तथा जग्गा भाडा वापत प्राप्त रकमबाट आय भएको देखिन्छ।
घाटामा रहेका संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नेसाइट प्राईभेट लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड र बुटवल धागो कारखाना लिमिटेड बन्द रहेका छन् भने धौबादी फलाम कम्पनी लिमिटेडले व्यवसायिक कारोबार सुरू गरेको छैन।
व्यावसायिक कारोबार नभएतापनि यी संस्थानको नियमित प्रशासनिक खर्च भइरहेकोले नोक्सानमा रहेको देखिएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणअनुसार आर्थिक वर्ष २०८१-८२ को अन्त्यमा यी सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी आर्थिक वर्ष १३.४४ प्रतिशतले वृद्धि भई ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख रूपैयाँ पुगेको छ।
यसअघि ७ खर्ब ३ अर्ब ९३ करोड ८८ लाख रूपैयाँ थियो।
सेयर लगानी १.४८ प्रतिशतले वृद्धि भई ३ खर्ब ७० अर्ब २५ करोड १९ लाख रूपैयाँ पुगेको छ भने ऋण लगानी २६.३२ प्रतिशतले वृद्धि भई ४ खर्ब २८ अर्ब ३१ करोड १५ लाख रूपैयाँ पुगेको छ।
कुल ऋण लगानीको ८१.७३ प्रतिशत लगानी नेपाल विद्युत प्राधिकरणमा रहेको देखिन्छ।
आर्थिक वर्ष २०८१-८२ मा कुल सेयर धनी कोष (नेटवर्थ) १० खर्ब ७३ अर्ब २८ करोड ३१ लाख पुगेको छ। यो आर्थिक वर्ष २०८०-८१ को तुलनामा ३.८९ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०८१-८२ संस्थानहरूको कुल आय ०.६७ प्रतिशतले वृद्धि भएर ७ खर्ब २१ अर्ब १४ करोड ७७ लाख रूपैयाँ पुगेको छ। यो कुल ग्राहस्थ उत्पादनको अनुपातमा ११.८ प्रतिशत रहेको छ।
त्यसैगरी आर्थिक वर्ष २०८०-८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६८ अर्ब ३ लाख रूपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१-८२ मा ०.६६ प्रतिशतले वृद्धि भई ६ खर्ब ७२ अर्ब ४० करोड २६ लाख रूपैयाँ पुगेको छ।