नेपालमा विद्युतीय भुक्तानी कारोबार निरन्तर बढ्दै गएको छ।
बैंक तथा वित्तीय संस्थामा डिजिटल पूर्वाधार विस्तार र सर्वसाधारणको पहुँच बढेसँगै भुक्तानी प्रणाली नगद र कार्डबाट मोबाइल तथा क्युआर–आधारित प्रणालीतर्फ सरेको देखिएको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुनसम्म क्युआरमा आधारित कारोबार १ खर्ब २५ अर्ब रूपैयाँ पुगेको छ, जुन अघिल्लो असारको तुलनामा वृद्धि हो।
त्यस्तै मोबाइल बैंकिङ कारोबार पनि ५ करोड ४० लाखभन्दा बढी पुगेको छ।
तर, एटिएम, डेबिट कार्ड, पिओएस र बैंक–टु–बैंक प्रणाली (आरटिजिएस र आइपिएस) मा भने गिरावट देखिएको छ।
एटिएम कारोबार १ करोड १० लाखबाट घटेर ९३ लाखमा झरेको छ भने डेबिट कार्ड कारोबार पनि १ करोड १९ लाखबाट घटेर ९८ लाखमा सीमित भएको छ।
त्यस्तै, आरटिजिएस र आइपिएस कारोबारमा समेत उल्लेख्य गिरावट आएको छ।
पिओएस कारोबार ११ लाखभन्दा बढीबाट घटेर ६ लाख ७९ हजारमा झरेको छ।
क्युआर भुक्तानी र मोबाइल बैंकिङको विस्तारले दैनिक उपभोग्य भुक्तानी डिजिटल माध्यमतर्फ तीव्र रूपमा सरेको संकेत गर्छ।
तर ठूला बैंकिङ ट्रान्सफर र कार्ड–आधारित कारोबार भने विस्तारै घट्दै गएको देखिएको छ।