आर्थिक वर्ष २०८१-८२ मा पनि पाँच सार्वजनिक संस्थान उच्च नोक्सानमा देखिएका छन्।
उच्च नोक्सानमा रहेका संस्थानमा नेपाल वायुसेवा निगम लिमिटेड, नेपाल खानेपानी संस्थान, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल दुग्ध विकास संस्थान छन्।
व्यावसायिक कारोबार सञ्चालन गरेका संस्थानमध्ये यी पाँच संस्थानले कुल नोक्सानको ५१.३८ प्रतिशत हिस्सा ओगटेका छन्।
अघिल्लो समीक्षा अवधिमा यस्तो हिस्सा ६३.६३ प्रतिशत रहेको थियो।
नेपाल वायुसेवा निगम लगातार सबैभन्दा बढी खुद नोक्सानमा रहेको संस्थान बनेको छ।
जहाज खरिदका लागि लिएको ऋणको सावाँ–ब्याज भुक्तानीमा समस्या, उच्च प्रशासनिक खर्च, जहाजको न्यून उपयोग तथा व्यावसायिक योजनाको कमजोर कार्यान्वयनका कारण निगमको वित्तीय अवस्था निरन्तर कमजोर बन्दै गएको उल्लेख गरिएको छ।
निगम एक अर्ब २३ करोड रूपैयाँ नोक्सानमा छ। यसको सञ्चित नोक्सान १८ अर्ब ९० करोड पुगेको छ।
त्यस्तै, नेपाल खानेपानी संस्थान ८० करोड ७९ लाख रूपैयाँ, नेपाल दुघ विकास संस्थान ४० करोड २१ लाख रूपैयाँ, हेटौंडा सिमेट उद्योग ३१ करोड २४ लाख रूपैयाँ, उदयपूर सिमेन्ट २८ करोड रूपैयाँ नोक्सानमा छन्।
उच्च नोक्सानमा रहेका यी संस्थानहरूको वित्तीय अवस्था कमजोर हुनुका कारणमा उच्च महसुल बक्यौता, कमजोर समन्वय, न्यून क्षमता उपयोग, उच्च प्रशासनिक खर्च तथा बदलिँदो बजार परिवेशमा प्रतिस्पर्धी क्षमता कमजोर रहनु प्रमुख रहेका छन्।
त्यसैगरी, ऋणको सावाँ–ब्याज भुक्तानीमा कठिनाइ र व्यावसायिक योजनाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समग्र सार्वजनिक संस्थानहरूको खुद तथा सञ्चित नोक्सान बढ्दै गएको छ।
यसले सार्वजनिक संस्थान क्षेत्रमा वित्तीय जोखिमसमेत बढाएको प्रतिवेदनमा उल्लेख छ।