सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म स्वास्थ्य क्षेत्रमा सञ्चालन भएका कार्यक्रमका उपलब्धि सार्वजनिक गरेको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ मार्फत परिवार नियोजन, क्षयरोग, एचआइभी, औलो र डेंगी नियन्त्रणका कार्यक्रमको अवस्था सार्वजनिक गरेका हुन्।
फागुनसम्म परिवार नियोजन सेवाको अस्थायी साधन प्रयोग गर्नेको संख्या ११ लाख २७ हजार ४ सय ४६ पुगेको छ भने स्थायी विधि अपनाउनेको संख्या ११ लाख २४ हजार ९ सय ९३ रहेको छ।
क्षयरोग उपचारतर्फ देशभर ६ हजार २ सय ४१ डट्स सेवा केन्द्र सञ्चालनमा रहेका छन्।
फागुनसम्म २४ हजार ३ सय ३८ क्षयरोगका बिरामीले उपचार सेवा प्राप्त गरेका छन्।
'क्षयरोग मुक्त नेपाल अभियान'१४९ स्थानीय तहमा विस्तार गरिएको छ भने एआई जडित ९ डिजिटल एक्सरे मेसिनमार्फत समुदायस्तरमा बिरामी खोजी अभियान सञ्चालन गरिएको छ।
औलो रोगतर्फ फागुनसम्म २ लाख १ हजारभन्दा बढीको नमुना परीक्षण गरिएकोमा ७२१ जनामा संक्रमण पुष्टि भएको छ।
एचआइभी/एड्स कार्यक्रम अन्तर्गत ४ लाख ५६ हजार ८ सय १७ जनामा परीक्षण गरिएकोमा १ हजार २ सय २० जनामा संक्रमण पुष्टि भएको छ।
यस अवधिमा २७ हजार ५ सय २६ संक्रमित व्यक्ति एन्टिरेट्रोभाइरल उपचार सेवामा आबद्ध रहेका छन्।
डेंगी संक्रमण भने देशभर फैलिएको देखिएको छ। फागुनसम्म १७ हजार ७ सय जनामा संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ।
मुटुरोग उपचार कार्यक्रमअन्तर्गत फागुनसम्म ३६२ बिरामीको मुटुको भल्भको निःशुल्क शल्यक्रिया गरिएको छ।
यस्तै १५ वर्षमुनिका ४९३ बालबालिकाको मुटु शल्यक्रिया, ७५ वर्षमाथिका ९३२ ज्येष्ठ नागरिकको निःशुल्क उपचार र १८७ जनाको पिटिएमसी उपचार गरिएको सरकारले जनाएको छ।