शुक्रबारको बजेटबाट हुने करका दर तथा शुल्कहरू अद्यावधिक गर्न भन्सार जाँचपास रोकिएको छ।
भन्सार विभागले बुधबार नै सबै भन्सार कार्यालयहरूमा बिहीबार रातिदेखि भन्सार जाँचपास रोक्न पत्राचार गरेको थियो।
सामान्यतया हरेक पटक बजेट आउनुअघि रातिदेखि अर्को दिन मध्यरातसम्म जाँचपास बन्द गरिन्छ।
बजेटबाट परिवर्तन हुने भन्सार दरहरू अद्यावधिक गरिएपछि जाँचपास सुरू हुने भन्सार अधिकारीहरूले बताएका छन्।
यो पटक सरकारले मुख्यतः भन्सारका दरहरू केही बढाउने, अन्तःशुल्क लाग्ने वस्तुहरूको सूची केही घटाउने तथा भ्याट छुट भएका वस्तुको सूची पनि घटाउने तयारी गरेको छ।
हरेक पटक बजेटमार्फत अल्कोहल, चुरोट तथा सूर्तीजन्य वस्तुहरूको कर बढाउने गरिएको छ। यो पटक पनि स्वास्थ्यका लागि हानिकारक उत्पादनमा कर बढाउने तयारीमा सरकार छ।
त्यस्तै, केही विद्युतीय सवारी साधनमा पनि कर बढाउने तयारी गरिएको छ।