आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रूपैयाँको बम्पर उपहार जित्ने विजेता को हुन् र कहाँका हुन् भन्ने सबैलाई चासो छ।
उक्त बम्पर उपहार ००७३१५२५४४९३ कुपन नम्बर भएका व्यक्तिले जितेका छन्।
विभागले विजेताको नाम सार्वजनिक गरेको छैन। तर उनले कुन ठाउँबाट सामान किन्दा १० लाख रूपैयाँ जितेका हुन् भन्ने विभागले बताएको छ।
विभागका अनुसार १० लाखको बम्पर विजेता व्यक्तिले कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिवकृष्ण जनरल स्टोरमा सामान किनेका हुन्।
उक्त स्टोरबाट २५० रूपैयाँको सामान किन्नेले १० लाख रूपैयाँको बम्पर उपहार पाएको विभागले जनाएको छ।
उनले २५ प्रतिशत कर कट्टा गरी ७ लाख ५० हजार रूपैयाँ पाउनेछन्।
विभागले अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार बिहान विजेता घोषणा गरेको हो।
पहिलो १ लाख ३३ हजार ३३४ रूपैयाँ प्राप्त गर्ने १५ जनाको घोषणापछि बम्पर उपहारअन्तर्गत १० लाख रूपैयाँ जित्ने विजेता घोषणा गरिएको थियो।
निम्न कुपन नम्बर भएका १५ जनाले १ लाख ३३ हजार ३३४ रूपैयाँ उपहार प्राप्त गरेका छन् —
००७७५५५८०६७०
०१५६११०५८०७५
०१२२५९०८६५९९
०१४९७३९०७३३
००६८४१५५३५३७
००२९२८८१७८११
००९८९१७८३३२४५
००४७८०८४०८८४
०१०८३७१८०३३२
००५५८८५०६०८५
००३०६६७७९५८९
००८७८२४८६३३५
०१३०३५२३०२९७
००१८०८९६५९८६
०११३८०९१४५८०
उनीहरूले कर कट्टा गरी १ लाख रूपैयाँ प्राप्त गर्नेछन्।
करदातालाई बिल लिन र विद्युतीय भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले आर्थिक वर्ष २०८३/८४ देखि 'करदाता प्रोत्साहन उपहार कार्यक्रम' सञ्चालनमा ल्याइएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नै यो कार्यक्रम घोषणा गरेका थिए।
पहिलो चरणमा साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका उपभोक्तामध्ये विजेता छनोट गरिएको हो।
अब हरेक महिनाको १६ गते (१–१५ गतेसम्मको कारोबारका लागि) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबारका लागि) नियमित रूपमा उपहार घोषणा गरिनेछ।