सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत 'भाग्यशाली' १६ जना (१६ वटा बिल) छनोट गरेको छ।
जसमध्ये एक जनाले १० लाख र १५ जनाले १ लाख ३३ हजारको लक्की ड्र जितेका छन्।
लट्रीबाट १६० रुपैयाँसम्मको सामान खरिद गर्ने उपभोक्ताले एक लाख रुपैयाँ र २५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले १० लाख रुपैयाँसम्मको पुरस्कार जितेका छन्।
विजेताले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गरेपछि आवश्यक प्रक्रिया पूरा गरी रकम पाउनेछन्।
अहिले आन्तरिक राजस्व विभागले कुपन नम्बरबाट विजेता घोषणा गरे पनि सम्वन्धित कुपन नम्बर भएको व्यक्तिको नाममा रहेको मोबाइल नम्बर र इमेलबाट जानकारी गराउने छ।
त्यसपछि सम्बन्धित उपभोक्ताले आफूले सामान किनेको प्रमाण (बिल) लिएर नजिकको कर कार्यालयमा सम्पर्क गर्नुपर्ने छ।
आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्मको कारोबारबाट शुक्रबार १५ जना नियमित विजेता र एक जना बम्पर विजेता घोषणा गरेको हो।
१५ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र बम्पर विजेताले १० लाख रुपैयाँको पुरस्कार जितेका छन्। पुरस्कारमा २५ प्रतिशत आकस्मिक लाभकर कट्टा हुनेछ। त्यसपछि १५ जनाले जनही एक लाख र बम्पर विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
१६० रुपैयाँको सामान किन्नेले पनि एक लाख जिते
धेरै सामान किन्नेले प्राथमिकता पाउने वा पुरस्कार जित्ने सम्भावना राख्ने होइन।
पहिलो लट्रीमा १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार पाउने १५ जना छनोट भएका छन्। कर कट्टीपछि उनीहरूले जनही एक लाख रुपैयाँ पाउनेछन्।
यसमा १६० रुपैयाँसम्मको सामान खरिद गर्ने उपभोक्ता पनि विजेता बनेका छन्। यसले धेरै रकमको सामान खरिद गर्नेले मात्रै पुरस्कार पाउने नभई योग्य कुपनले समान अवसर पाउने देखाएको छ।
विजेता कुपन नम्बरहरू००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५९०८६५९९, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३०६६७७९५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० रहेका छन्।
२५० रुपैयाँको सामान किन्नेले १० लाख जिते
बम्पर उपहार ००७३१५२५४४९३ कुपन नम्बर भएका उपभोक्ताले जितेका छन्।
उनले साउन ७ गते कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिवकृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका थिए। त्यही खरिदको बिल उपहार कार्यक्रममा समावेश गरिएको थियो।
१० लाख रुपैयाँको बम्पर पुरस्कारमा २५ प्रतिशत आकस्मिक लाभकर कट्टा भएपछि उनले ७ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
पुरस्कार रकमबाट कर कट्टी भएकाले विजेताले कर तिरेको प्रमाणसमेत प्राप्त गर्नेछन्।
खातामा रकम कहिले जान्छ?
विजेताले पुरस्कार पाउन १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा पुगेर दाबी गर्नुपर्नेछ। दाबी गर्दा आवश्यक कागजात र पुरस्कारमा प्रयोग भएको मूल बिल पेस गर्नुपर्नेछ।
विभागले पुरस्कार जित्ने व्यक्तिलाई जानकारी गराइसकेको छ। आवश्यक प्रक्रिया पूरा भएपछि मात्र पुरस्कार रकम भुक्तानी हुनेछ।
डिजिटल भुक्तानीबाट ७६ अर्ब ६० करोडको कारोबार
पहिलो चरणमा बैंक तथा डिजिटल वालेटको क्यूआरमार्फत २ करोड ५६ लाख ८ हजार ९९४ वटा कारोबार भएका छन्। ती कारोबारको कुल मूल्य ७६ अर्ब ६० करोड ३ लाख २३ हजार ८१९ रुपैयाँ रहेको छ।
क्यूआरमार्फत भुक्तानी गरेर सामान वा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुन्छन्। उनीहरूले विभागको वेबसाइटमा छुट्टै बिल विवरण प्रविष्ट गर्नुपर्दैन।
अनलाइन कारोबारमा अहिले धेरै कुपन नम्बर देखिएको भए पनि सबै कारोबारमा कुपन नम्बर देखिने गरी प्रणाली थप व्यवस्थित गरिरहेको विभागले जनाएको छ।
नगदमा ८ करोड २४ लाखको कारोबार पनि लट्रीमा
नगदमा सामान खरिद गर्नेले प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा बिलको विवरण अपलोड गरी कुपन लिनुपर्ने व्यवस्था छ।
पहिलो चरणमा ७ हजार ७७ वटा नगद कारोबारबाट ८ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा खरिदको विवरण वेबसाइटमा प्रविष्ट भएको छ। यसमा ३ हजार ९१५ जना बिक्रेतासँगको कारोबार समावेश छ।
नगद कारोबारका लागि कारोबारको विवरण विभागमा प्रविष्ट भएपछि कुपन नम्बर सिर्जना हुने प्रणाली बनाइएको छ।
कुन बिल लट्रीमा सहभागी हुँदैन?
व्यावसायिक प्रयोजनका लागि भएका खरिदका बिल कार्यक्रममा सहभागी हुन योग्य हुँदैनन्।
सरकारी निकाय वा सार्वजनिक संस्थाको नामबाट जारी भएका बिल पनि योग्य हुँदैनन्।
टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानीका साधन र हवाई टिकट खरिदका बिल पनि कार्यक्रममा समावेश हुँदैनन्।
स्थायी लेखा नम्बर नलिएका व्यक्तिबाट खरिद गरिएका बिलसमेत योग्य हुँदैनन्।
विभागका अनुसार कार्यक्रममा सहभागी हुने कारोबार तोकिएका वस्तु तथा सेवा व्यक्ति वा परिवारले अन्तिम उपभोगका लागि गरेको हुनुपर्छ। व्यावसायिक प्रयोजनका कारोबारलाई लट्रीमा समावेश गरिएको छैन।
विजेता छनोटमा सबैलाई समान अवसर
विजेता छनोटका लागि ‘क्रिप्टोग्राफिक्ली सेक्युर्ड युनिफर्म र्यान्डम स्याम्पलिङ विथआउट रिप्लेसमेन्ट’ विधि प्रयोग गरिएको आन्तरकि राजस्व विभागले जाकनारी गराएको छ।
यस विधिले डिजिटल भुक्तानी र म्यानुअल रूपमा बिल प्रविष्ट गर्ने दुवैलाई समान अवसर दिन्छ। ग्राहकको नाम, स्थायी लेखा नम्बर वा कारोबार रकमका आधारमा कुनै विभेद हुँदैन।
एउटै कुपन दुईपटक छनोट हुन सक्दैन। रित्तो वा प्रयोग नभएको स्थानलाई विजेता मानिँदैन।
व्यक्तिगत गोपनीयताका कारण विजेताको फोन नम्बरका केही अंक मात्रै सार्वजनिक गरिने व्यवस्था छ।
अब हरेक महिनामा दुईपटक लट्री
पहिलो चरण साउन १ देखि १५ गतेसम्मको कारोबारबाट विजेता छनोट गरिएको हो।
अब प्रत्येक महिनाको १६ गते १ देखि १५ गतेसम्मको कारोबारका लागि र महिनाको अन्तिम दिन १६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबारका लागि नियमित रूपमा उपहार घोषणा गरिनेछ।
सरकारले आर्थिक वर्षभर करिब ७ करोड २५ लाख रुपैयाँ बराबरको पुरस्कार वितरण गर्ने लक्ष्य राखेको छ। करिब ३९० जना उपभोक्ता पुरस्कारका लागि छनोट हुने अनुमान छ।
बिल लिने संस्कार विकास गर्ने सरकारको लक्ष्य
कार्यक्रमको मुख्य उद्देश्य अर्थतन्त्रलाई औपचारिकीकरण गर्नु, आर्थिक गतिविधिमा पारदर्शिता बढाउनु र मूल्य अभिवृद्धि करलाई दिगो राजस्व स्रोतका रूपमा विकास गर्नु हो।
उपभोक्तालाई बिल माग्न र व्यवसायीलाई बिल काट्न प्रोत्साहित गर्ने, भ्याट तथा अन्य कर चुहावट नियन्त्रण गर्ने र विद्युतीय भुक्तानी बढाउने कार्यक्रमको उद्देश्य छ।
सरकारले भविष्यमा भ्याट बिल लिने उपभोक्तालाई आफूले तिरेको भ्याटको १० प्रतिशतसम्म फिर्ता दिने व्यवस्था कार्यान्वयनको तयारीसमेत गरिरहेको जनाएको छ।
नेपालमा भ्याट लागू भएपछि २०५४ सालतिर पनि यस्तै प्रकृतिको ‘लक्की ड्र’ सञ्चालन गरिएको थियो। त्यतिबेला मासिक रूपमा टेलिभिजनबाट विजेता घोषणा गरिन्थ्यो र नगदको सट्टा विभिन्न सामग्री पुरस्कार दिइन्थ्यो। केही वर्षपछि उक्त कार्यक्रम बन्द भएको थियो।
अहिलेको कार्यक्रमलाई त्यसकै परिमार्जित र डिजिटल संस्करणका रूपमा हेरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ घोषणा गरेका थिए।