आज सरकारले सार्वजनिक गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को विजेता सूची हेर्दा तपाईंको कुपन नम्बर पनि परेको हुन सक्छ।
तर विजेता कुपन नम्बर आफ्नो हो कि होइन भनेर कसरी थाहा पाउने? क्यूआरबाट भुक्तानी गर्नुभएको छ भने अहिले तपाईंसँग आफ्नो कुपन नम्बर नै नहुन सक्छ।
आन्तरिक राजस्व विभागका निर्देशक केशव रघुवंशीका अनुसार क्यूआरमार्फत भएको योग्य कारोबारको कुपन नम्बर अहिले प्रणालीले स्वतः सिर्जना गर्छ। त्यो कुपन नम्बर विभागको प्रणालीमा देखिन्छ। कुपन नम्बरका आधारमा सामान वा सेवा खरिद गर्ने व्यक्तिको नाम, फोन नम्बरलगायतका विवरणसमेत प्रणालीमा खुल्छ।
तर क्यूआरबाट भुक्तानी गर्ने ग्राहकले भने अहिले आफ्नो कुपन नम्बर हेर्न सक्ने व्यवस्था छैन। त्यसैले सार्वजनिक गरिएको विजेता कुपन नम्बर आफ्नो हो कि होइन भनेर ग्राहकले कुपन नम्बरकै आधारमा आफैं जाँच गर्न सक्ने अवस्था छैन।
विभागले विजेता पहिचान भने प्रणालीमा रहेको कुपन नम्बर र त्यससँग जोडिएको ग्राहकको विवरणका आधारमा गर्छ। विजेता भए सम्बन्धित व्यक्तिलाई विभागले जानकारी दिनेछ।
अब भुक्तानी गर्दा नै कुपन नम्बर देखिने
विभागले ग्राहकले अनलाइन भुक्तानी गर्दाकै बखत कुपन नम्बर देखिने गरी प्रणाली अपग्रेड गरिरहेको जानकारी गराएको छ।
प्रणाली अपग्रेड भएपछि क्यूआरबाट भुक्तानी गर्दाकै बेला ग्राहकले आफ्नो कुपन नम्बर देख्न सक्नेछन्। त्यसलाई सुरक्षित राखेर पछि विभागले सार्वजनिक गर्ने विजेता कुपन नम्बरसँग मिलाउन सकिनेछ।
यसपछि ग्राहकले ‘मेरो कुपन नम्बर पर्यो कि परेन?’ भनेर आफैं जाँच गर्न सक्नेछन्।
अहिले भने यस्तो सुविधा छैन।
नगदमा खरिद गर्नेले भने कुपन नम्बर पाउँछन्
नगदमा सामान वा सेवा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा बिलको विवरण प्रविष्ट गरी कुपन नम्बर लिनुपर्छ।
त्यसैले नगद कारोबार गर्ने ग्राहकसँग आफ्नो कुपन नम्बर हुन्छ। विभागले सार्वजनिक गरेको विजेता नम्बर र आफ्नो कुपन नम्बर मिलाएर आफू विजेता भए/नभएको हेर्न सकिन्छ।
क्यूआरमार्फत भएको योग्य कारोबार भने स्वतः प्रणालीमा समावेश हुन्छ। त्यसका लागि ग्राहकले छुट्टै बिलको विवरण प्रविष्ट गर्नुपर्दैन।
ग्राहकले प्रत्यक्ष आफ्नो कुपन नम्बर अहिले थाहा नपाए पनि आन्तरिक राजस्व विभागका अनुसार सबै बिलको कुपन नम्बर जेनेरेट भएको छ। त्यो कुपन नम्बरका आधारमा ग्राहकको विवरण खुल्छ। र विभागले विजेतालाई जानकारी गराउँछ।
यदि तपाईंले अनलाइनबाट क्यूआर गर्नुभएको छ र तपाईंको बिलको कुपन नम्बरले लट्री जितेको छ भने आन्तरिक राजस्व विभागले जानकारी गराउँछ।
पहिलो लट्री
पहिलो चरणमा साउन १ देखि १५ गतेसम्म भएको कारोबारबाट १५ जना नियमित विजेता र एक जना बम्पर विजेता छनोट गरिएको छ।
१५ जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका छन्। २५ प्रतिशत आकस्मिक लाभकर कटाएर उनीहरूले जनही एक लाख रुपैयाँ पाउनेछन्।
बम्परमा १० लाख रुपैयाँको पुरस्कार घोषणा गरिएको छ। यसमा पनि २५ प्रतिशत कर कटाएर विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
विजेताले पुरस्कार दाबी गर्न १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा जानुपर्नेछ। पुरस्कार दाबी गर्दा सम्बन्धित मूल बिल सुरक्षित राख्नुपर्ने व्यवस्था छ।
अब हरेक महिनाको १६ गते १ देखि १५ गतेसम्मको कारोबार र महिनाको अन्तिम दिन १६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबारका लागि नियमित रूपमा विजेता घोषणा गरिनेछ।