हरेक ठूलो प्राकृतिक विपत्तिपछि प्रभावित क्षतिका बासिन्दाको हातमा खर्च गर्ने पैसाको कमी हुन्छ।
तर विपत्तिपछि बजारको माग भने बढ्ने गर्छ। यसको प्रभाव भदौ १० को त्रिशूली भोटेकोशी हिमबाढीपछि पनि देखिएको छ।
सरकारले गरेको तत्कालीन अध्ययनले बाढीपछिको पुनर्निर्माणको तथा राहतको लागि ७ खर्ब बढी लागत लाग्ने देखिएको छ।
यसले स्वभाविक रूपमा वस्तुको माग बढाउने सरोकारवाला बताउछन्।
भदौ १० को बाढीले रसुवागढी नाका र आसपासको सडक सञ्जालमा ठूलो क्षति पुर्यायो।
चीनसँगको मुख्य स्थलमार्ग व्यापार प्रभावित भयो। तातोपानी नाका पनि नियमित रूपमा सञ्चालनमा आउन सकेन।
यही बेला बाढीपीडितका लागि राहत, अस्थायी बसोबास, उद्धार र सडक–विद्युत पुनःस्थापनाका सामग्रीको माग बढ्यो।
यही बाध्यतमक मागले आयातमा ठूलो प्रभाव पारेको देखिएको छ।
साउनको तुलनामा भदौमा कुल आयात १५ प्रतिशत बढेको छ। भदौमा २ खर्ब १४ अर्ब ५५ करोडको वस्तु आयात भएको छ। साउनमा यस्तो आयात १ खर्ब ८७ अर्ब ४४ करोड थियो।
बजार मागको आधारमा समयगत रूपमा हेरिने गर्छ। साउनको तुलनामा हरेक पटक भदौमा बढी आयात हुने नै गर्छ।
तर गत वर्षको २ महिनासँग तुलनामा गर्दा आयात झन् बढेको छ।
गत वर्षको पहिलो दुई महिनाको तुलनामा यस वर्षको आयात भने ३१.७३ प्रतिशत बढेको छ।
गत वर्ष साउन–भदौमा ३ खर्ब ५ अर्ब १५ करोडको आयात भएको थियो। यस वर्ष सोही अवधिमा ४ खर्ब २ अर्ब रूपैयाँ पुगेको छ।
गत वर्ष भदौमा जेनजी आन्दोलनका कारण केही दिन मुख्य भन्सार नाका प्रभावित भएका थिए।
त्यस वर्ष पनि असोजमा दसैं परेकाले भदौमै चाडपर्वका सामान आउने क्रम बढेको थियो।
यस वर्ष पनि असोजको चाडपर्वका लागि सामान भदौमै आउन थालेका छन्। तर बाढीपछि सिर्जित बाध्यतात्मक मागले पनि आयात बढाएको देखिन्छ।
जस्तो साउनमा ३४५ थान मात्र सिन्थेटिक टेन्ट आएको थियो। भदौमा ३ हजार ५९५ थान आयो।
परिमाण ९४२ प्रतिशत बढ्यो। आयात रकम ६ लाख ५९ हजारबाट बढेर ६ करोड ४४ लाख पुग्यो।
अन्य टेन्टको आयात पनि बढेको छ। साउनमा २ हजार ७०५ थान आएको थियो। भदौमा ४ हजार ६८६ थान आयो।
आयात रकम ३५ लाख ५२ हजारबाट बढेर ११ करोड ५२ लाख पुग्यो।
प्लास्टिकका त्रिपाल र पाल साउनमा आएको थिएन। भदौमा १ लाख ३९ हजार ७२३ केजी आयो।
सामान्य त्रिपालको आयात पनि २५३ थानबाट बढेर ७ हजार ३९५ थान पुगेको छ।
कम्बलको माग पनि बढेको छ। अन्य कम्बल २४ हजार ८७७ थानबाट बढेर १ लाख ३४ हजार ९४ थान पुगेको छ। रकम ९२ लाख १५ हजारबाट बढेर ६ करोड ७३ लाख पुगेको छ।
सिन्थेटिक कम्बल ७६ हजार ८६० थानबाट बढेर १ लाख ३३ हजार १०९ थान पुगेको छ।
आयात रकम २ करोड ५३ लाखबाट बढेर ४ करोड ९८ लाख पुगेको छ।
राहतसँग जोडिएका स्वास्थ्य सामग्रीको आयात पनि बढेको छ। प्राथमिक उपचार किट २९५ केजीबाट बढेर १ हजार ४०८ केजी पुगेको छ।
रकम २ लाख १५ हजारबाट बढेर ३५ लाख २९ हजार पुगेको छ।
स्यानिटरी प्याड ८९ लाख २१ हजार थानबाट बढेर १ करोड २६ लाख थान पुगेको छ। आयात रकम ७ करोड ३८ लाखबाट बढेर १० करोड १५ लाख रूपैयाँ पुगेको छ।
तत्काल खान मिल्ने खाद्य सामग्रीको आयात पनि बढेको छ।
भुजा १ हजार ७१२ केजीबाट बढेर ३ हजार १३४ केजी पुगेको छ। रकम ९९ हजारबाट बढेर १ लाख ९० हजार पुगेको छ।
गुलियो बिस्कुट ३ लाख ३३ हजार केजीबाट बढेर ४ लाख ७३ हजार केजी पुगेको छ।
यसको आयात रकम ८ करोड ७४ लाखबाट बढेर १२ करोड ९८ लाख रूपैयाँ पुगेको छ।
बाढीपछि सडक र हवाई यातायातमा परेको असरले इन्धनको मागमा पनि प्रभाव पारेको छ।
हवाई इन्धनको आयात साउनको १३ हजार ८२८ किलोमिटर लिटरबाट बढेर भदौमा १९ हजार १७२ किलोमिटर लिटर पुगेको छ। परिमाण ३८.६५ प्रतिशत बढेको छ।
रकममा वृद्धि ५१.३३ प्रतिशत छ।
सडक अवरुद्ध भएपछि उद्धारका लागि हेलिकप्टरको प्रयोग बढेको थियो। त्यसले हवाई इन्धनको माग बढाएको देखिन्छ।
सडक पुनःस्थापनाका सामग्रीको आयात पनि बढेको छ।
अलकत्रा अर्थात् बिटुमिन ५३ लाख ९५ हजार केजीबाट बढेर ९७ लाख ५६ हजार केजी पुगेको छ।
परिमाण ८०.८३ प्रतिशत बढेको छ। रकम ६८ लाख ६६ हजारबाट बढेर १ अर्ब २० करोड पुगेको छ।
बाढीले विद्युत संरचनामा पनि क्षति पुर्यायो। त्यसको असर ट्रान्सफर्मर तेलको आयातमा देखिन्छ।
चालु वर्षको दुई महिनामा ३ लाख १३ हजार ७४४ लिटर यस्तो तेल आयात भएको छ। गत वर्षको तुलनामा परिमाण १२८.१५ प्रतिशत र रकम २५० प्रतिशत बढेको छ।
तर सबै आयात वृद्धि बाढीसँग जोडिएको भने होइन। चाडपर्व र औद्योगिक उत्पादनका लागि आवश्यक वस्तुको आयात पनि बढेको छ।
त्यस्तै अर्धप्रशोधित खाने तेलको आयात भारतीय बजारको मागसँग जोडिएको छ।
कच्चा भट्मास तेल साउनमा १० करोड ८५ लाख लिटर आएको थियो। भदौमा १० करोड ९४ लाख लिटर आयो।
रकम १८ अर्ब ४० करोडबाट बढेर १९ अर्ब ६५ करोड पुगेको छ।
कच्चा पाम तेल ४२ लाख ७१ हजार लिटरबाट बढेर ६९ लाख २२ हजार लिटर पुगेको छ। रकम ७३ करोड १२ लाखबाट बढेर १ अर्ब २६ करोड पुगेको छ।
युरिया मलको आयात पनि दोब्बरभन्दा बढी बढेको छ।
साउनमा ३ करोड ५१ लाख केजी आएको थियो। भदौमा ७ करोड ४८ लाख केजी आयो।
रकम ४ अर्ब ३९ करोडबाट बढेर ८ अर्ब ६९ करोड रूपैयाँ पुगेको छ। यो वृद्धि धान खेतीमा मल हाल्ने मौसमी मागसँग जोडिएको छ।
दुई महिनाको वार्षिक तुलना गर्दा पनि खाद्य तथा औद्योगिक कच्चा पदार्थमा ठूलो वृद्धि देखिन्छ।
कच्चा भट्मास तेलको आयात रकम २१ अर्ब ६५ करोडबाट बढेर ३८ अर्ब ५ करोड पुगेको छ। कच्चा सूर्यमुखी तेल २ अर्ब २३ करोडबाट बढेर ६ अर्ब ३७ करोड रूपैयाँ पुगेको छ।
गहुँको आयात १४ करोड ३५ लाखबाट बढेर २ अर्ब १ करोड पुगेको छ। युरिया मल २ अर्ब ५१ करोडबाट बढेर १३ अर्ब ८ करोड रूपैयाँ पुगेको छ।
टेन्ट, त्रिपाल, कम्बल, प्राथमिक उपचार सामग्री, हवाई इन्धन, बिटुमिन, क्लिङ्कर र ट्रान्सफर्मर तेलको आयातमा आएको असामान्य वृद्धि बाढीपछिको मागसँग जोडिएको छ।