नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच उपलब्ध गराउने र नेपालमा भारतीय लगानी बढाउने विषयमा नेपाल र भारतका उच्च अधिकारीबीच छलफल भएको छ।
भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा आयोजित ३१औं साझेदारी शिखर सम्मेलनका क्रममा उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरूसँग भएका छलफलमा नेपाली उत्पादनको बजार पहुँच, गुणस्तर प्रमाणीकरण प्रक्रिया र औद्योगिक सहकार्यका विषय उठाइएको उद्योग मन्त्रालयले जानकारी गराएको छ।
बन्दरगाहमार्फत नेपालको व्यापार सहजीकरण, नेपालमा वाणिज्य दूतावास स्थापना र धार्मिक पर्यटन सर्किट विकासका सम्भावनाबारे छलफल भएको बताइएको छ।
सम्मेलनका क्रममा भारतीय उद्योग परिसंघका उपाध्यक्ष शशांक गोयन्का र महानिर्देशक चन्द्रजित बनर्जीसँग पनि छलफल गरिएको थियो।
नेपालमा भारतीय लगानी, संयुक्त औद्योगिक साझेदारी, प्रविधि हस्तान्तरण र निजी क्षेत्रबीच सहकार्य विस्तारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
सम्मेलनमा मन्त्री साहले नेपालको जलविद्युत, नवीकरणीय ऊर्जा, उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका सम्भावना प्रस्तुत गरेका थिए।
उनले यी क्षेत्रमा लगानी गर्न भारतीय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका थिए।
नेपाली प्रतिनिधिमण्डलले विशाखापट्टनम बन्दरगाह तथा भन्सार कार्यालयको अवलोकन गरी नेपाली कार्गो ढुवानी, सेवा सुविधा र भन्सार प्रक्रियाबारे जानकारी लिएको थियो।
सम्मेलनमा भाग लिएको उद्योगमन्त्रीसहितको टोली नेपाल फिर्ता भइसकेको छ।