नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र पाण्डेले करसम्बन्धी विवाद छिटो निरूपण गर्नुपर्ने बताएका छन्।
लामो समयसम्म कर विवाद कायम रहँदा निजी क्षेत्रले अनावश्यक झन्झट र अनिश्चितता व्यहोर्नुपर्ने उनको भनाइ छ।
कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले राजस्वका दर र नीतिमा कम्तीमा मध्यमकालीन स्थायित्व आवश्यक रहेको बताए।
उनले सरकारले राजस्व बढाउन करका दर बढाउने सोच राख्न नहुने बताए।
कर तिरिरहेका व्यवसायीलाई थप भार पार्नुभन्दा अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।
निजी क्षेत्रले निरन्तर नीतिगत सुधार र सरकारले घोषणा गरेका सुधारका योजना कार्यान्वयनको माग गर्दै आएको उनले बताए।
अहिले सरकारले गरेका केही नीतिगत पहल सकारात्मक भए पनि तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए।
निजी क्षेत्रलाई अनावश्यक झन्झटबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै उनले व्यवसाय सञ्चालनमा सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।