रोजगार अनुमति प्रणाली (इपिए) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरी रोस्टरमा १२ हजार भन्दा धेरै नेपाली युवाहरू अनुमति पर्खाइमा छन्।
पछिल्लो समय कतिपय युवाहरू लामो समयदेखि रोस्टरमा रहे पनि कोरिया जान नपाएको भन्दै आक्रोशित छन्।
बेलाबेला उनीहरू ग्वार्कोस्थित इपिएस कार्यालयमा गएर आन्दोलन समेत गरिरहेका छन्।
के रोस्टरमा रहेका सबै नेपाली युवाहरू कोरिया जान पाउँछन्?
इपिएस शाखाका अनुसार रोस्टरमा नाम हुँदैमा सबैजना जान पाउँदैनन्। उनीहरू रोजगारदाताको छनोटमा परेपछि मात्रै कोरिया जान पाउँछन्।
रोजगारदाताको छनोटमा नपरे जान पाउँदैनन्। जसले गर्दा भाषा र सीप परीक्षा पास गर्दैमा कोरिया रोजगारीको सुनिश्चितता नहुने शाखाको भनाइ छ।
‘जति जना रोजगारदाताको नजरमा पर्नुहुन्छ, उहाँहरू जान पाउनु हुन्छ। त्यहाँ श्रमिकको माग हुँदा त नेपालीहरूलाई प्राथमिकता दिएर कोरियाले लगिरहेको छ,’ शाखाका सूचना अधिकारी राजकिशोर शाहले भने।
कोरियाले नेपालसहित १७ मुलुकबाट इपिएस प्रणाली अन्तर्गत श्रमिक लैजान्छ। नेपालीहरू काममा इमानदार हुने हिसाबले धेरै आप्रवासी लैजानेमध्ये नेपाल दोस्रो मुलुकमा पर्ने अधिकारीहरू बताउँछन्।
तर पछिल्लो समय त्यहाँको श्रम बजारमा माग नै कम भएका कारण नेपालीहरू पनि थोरै संख्यामा मात्रै लगिरहेको उल्लेख छ।
शाखाका सूचना अधिकारी शाहका अनुसार पछिल्लो समय कोरियाले उत्पादनमूलक क्षेत्रमा केही कामदार लगिरहेको भए पनि कृषि र पानीजहाज निर्माण क्षेत्रमा भने माग निकै घटेको छ।
इपिएस अन्तर्गत पुगेकाहरू पनि काम परिवर्तन गर्नु परेको अवस्थामा नयाँ काम पाउन गाह्रो परेको बताउँछन्।
कोरियाले सन् २०२५ मा समग्र आप्रवासी कामदारको कोटा घटाएको छ। यो वर्ष दुई लाख ७ हजार आप्रवासी कामदार भित्र्याउने नीति लिएको छ। इपिएस अन्तर्गत एक लाख ३० हजार मात्रै आप्रवासी कामदार लैजाने निर्णय गरेको छ।
सन् २०२४ मा यो प्रणाली अन्तर्गत आप्रवासी कामदार लैजान एक लाख ६५ हजार कोटा छुट्ट्याएको थियो। सन् २०२४ को तुलनामा २०२५ मा कामदार संख्या ३५ हजार घटाएको हो।
आर्थिक मन्दीको चपेटामा परेसँगै त्यहाँका निजी क्षेत्रमा कामदारको माग कम रहेको उल्लेख छ। निजी क्षेत्रमा कामदारको मागमा आएको गिरावटकै कारण इपिएस अन्तर्गत लैजाने कामदारको संख्या घटेको हो।
योसँगै नेपालबाट लैजाने कामदारको कोटा समेत घटाएको छ। २०२५ का लागि कोरियाले नेपालबाट पाँच हजार तीन सयको कोटा तोकेको छ। जसमा उत्पादनमूलक क्षेत्रतर्फ ३५ सय तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८ सय छ।
यसअघि सन् २०२० यता हरेक वर्ष १० हजार हाराहारी नेपालीहरूले कोरियाको अवसर पाउँदै आएका थिए। त्यसको तुलनामा ५० प्रतिशत कोटा घटेको हो।
२०२५ का लागि तोकिएको कोटाका श्रमिकहरू पनि २०२७ मा मात्रै कोरिया जान पाउने शाखाले जनाएको छ।
परीक्षा हुन तथा छनोट हुन समय लाग्ने हुँदा २०२७ मा उनीहरू उड्न पाउने उल्लेख गरिएको छ। यो वर्षको परीक्षाका लागि एक लाख तीन हजारले आवेदन दिएका छन्।
२०२५ को भाषा परीक्षा आगामी मंसिर १ गतेदेखि हुनेछ। पहिलो चरणमा उत्पादनमूलक क्षेत्रको परीक्षा हुनेछ। त्यसपछि कृषितर्फको हुनेछ।
रोस्टरमा रहेकाहरूले पहिले आफूहरूलाई कोरिया पठाएर मात्रै नयाँ परीक्षा हुनुपर्ने भन्दै दबाब दिइरहेका छन्। तर नयाँ परीक्षाले रोस्टरमा रहेकाहरूलाई असर नपर्ने शाखाको भनाइ छ।
नेपालबाट इपिएस प्रणाली अन्तर्गत कोरियाले सन् २००८ देखि उत्पादनमूलक तथा कृषि क्षेत्रमा नेपाली श्रमिकहरू लैजान थालेको हो। अहिले पानीजहाज निर्माण लगायत क्षेत्रमा समेत नेपालीहरू गइरहेका छन्।
हालसम्म एक लाख २० हजार भन्दा धेरै नेपालीहरू इपिएस अन्तर्गत पुगेका छन्।