सरकारले अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ।
यो दिवस हरेक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय समुदायले मनाउँदै आएको छ।
यसै सन्दर्भमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेर सप्ताहव्यापी मनाउन लागेको हो।
यस पटक यो दिवसको नारा 'सुरक्षित, मर्यादित र नियमित आप्रवासन' तय गरिएको छ।
नाराले विश्वव्यापी आप्रवासनका सम्पूर्ण चरणमा आप्रवासीहरूको सम्मान, अधिकारको संरक्षण तथा सुरक्षित रोजगारीका महत्वलाई उजागर गर्ने उद्देश्य लिएको मन्त्रालयले जनाएको छ।
श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करले श्रम आप्रवासन क्षेत्रकाअबसर चुनौती, समस्या र समाधानका विषयमा कार्यक्रम केन्द्रित रहेको बताए।
'नेपालको आप्रवासन तुलनात्मक रूपमा सुरक्षित व्यवस्थित छ। अवसरसँगै चुनौती पनि छन्। थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले पहल गरिरहेको छ,' उनले भने।
दिवस प्रभावकारी रूपमा मनाउन नेपाल सरकार, विकास साझेदार संस्था तथा सरोकारवाला निकायहरूको सहकार्यमा सचेतनामूलक तथा बैठकसहित विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख छ।
यहि पुस ८ गतेदेखि श्रमिकका प्रश्न तथा गुनासा सुन्ने गरी हेल्प टु हेल्प टेन सेल कार्यक्रम सञ्चालन गर्न लागिएको पनि सचिव पुस्करले बताए।