नेपाल टेलिकमले २०८२ सालको एसइई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसइई अफर उपलब्ध गराएको छ।
यस अफर अन्तर्गत विद्यार्थीहरुलाई नयाँ सिमकार्ड उपलब्ध गराइने छ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले समेत सोही नम्बरमा उक्त अफर प्राप्त गर्न सक्नेछन्।
एसइई अफर आज (बिहीबार) देखि सुरू भएको छ र आगामी असार २६ गतेसम्म उपलब्ध हुनेछ।
यसका लागि २० रूपैयाँमा नयाँ सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुनेछ।
सिमकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन्।
नयाँ सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९ रूपैयाँ ८० पैसाबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सकिने छ।
यसमा एसइई प्याकेज २०८२ अन्तर्गत ३० दिनसम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डेटा समेत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने सेवा सोही दिनका लागि मात्र कायम रहनेछ।
अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रूपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ।
रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ।
- नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसइईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ। साथै सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले *१४१४# डायल गर्नुपर्नेछ। सो पश्चात् अफर प्राप्त गर्नका लागि *१६००# डायल गरी निर्देशन अनुसार गर्नुपर्नेछ।
- पहिले नै प्रयोग भइरहेको सिममा समेत *१६००# डायल गरी प्राप्त निर्देशन अनुसार अंग्रेजी अल्फाबेट बाहेक एसइईको सिम्बोल नम्बर टाइप गरी सेन्ड गर्ने।
- विक्रम संवतमा जन्ममिति (डिओबी) टाइप गरी सेन्ड गर्ने, डिओबी टाइप गर्दा YYMMDD फरम्याटमा टाइप गर्नुपर्नेछ ।