इ–सेवाले 'बाइ नाव, पे लेटर' (बिएनपिएल) सेवा सुरू गरेको छ।
सेवामार्फत ग्राहकले इ–सेवा एपबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सक्ने भएका छन्।
यसका लागि इ–सेवा, रिलायन्स फाइनान्स र विद्युतीय स्कुटर बिक्रेता पारमिता इन्भेस्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी भएको छ।
असोज ८ गते भएको सम्झौताअनुसार रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने पारमिता इन्भेस्टमेन्टले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ।
सम्झौताअनुसार ग्राहकले अधिकतम २ लाख रूपैयाँसम्मको डिजिटल कर्जा लिन सक्नेछन्।
उक्त कर्जाको ब्याजदर ९.९९ प्रतिशत तोकिएको छ। ग्राहकले कर्जा अधिकतम ३६ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन्।
इ–सेवाका अनुसार ग्राहकले बिएनपिएल सुविधाका लागि इ–सेवा एपबाटै प्रक्रिया पूरा गर्न सक्नेछन्।
यस सेवाबाट स्कुटर खरिद गर्दा एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने अवस्थाको सट्टा किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा प्राप्त हुनेछ।
इ–सेवाले डिजिटल वित्तीय सेवाको विस्तारसँगै विद्युतीय यातायातलाई समेत सहज बनाउने उद्देश्यले सेवा सुरू गरिएको जनाएको छ।