पूर्वाधार विकास मन्त्रालयले मेट्रो रेल निर्माणका लागि आह्वान गरेको विस्तृत आयोजना निर्माण प्रतिवेदन (डिपिआर) को टेन्डर रद्द गरेको छ।
रेल विभागले काठमाडौंको नारायण गोपाल चोक–सातदोबाटो–रत्नपार्कको २७.५ किलोमिटर मेट्रो रेल निर्माणको डिपिआर तयार गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो। सरकारले जेठ ३२ गतेसम्मका लागि यस्तो डिपिआरको आसयपत्र पेस गर्ने समयसीमा तोकेको थियो।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बिहीबार प्रतिनिधिसभा बैठकमा उक्त टेन्डर रद्द भएको जानकारी दिएका हुन्।
'हामीले मेट्रोको डिपिआरका लागि भर्खरै टेन्डर निकालेका थियौं। तर २७ किलोमिटर मात्र भएकाले स्थगित गर्ने निर्णय गरेका छौं,' लम्सालले भने।
उनले थानकोटदेखि धुलिखेलसम्म पुग्ने 'ट्रान्सपोर्टेसन मास्टर प्लान' को तयारी भइरहेको जानकारी पनि संसदलाई दिए। यो आर्थिक वर्षभित्र तयार भएर डिपिआरका लागि टेन्डर गर्ने उनले बताए।
'सरकारले कम्तिमा डेढ सय किलोमिटर लम्बाइको मेट्रो रेलको योजना बनाइरहेको छ,' उनले भने।
श्रम संस्कृति पार्टीका हर्कराज राईले प्रत्येकजसो देशको राजधानीमा मेट्रो रेल हुने भएकाले नेपालमा पनि परिकल्ना गर्नुपर्ने बताएका थिए।
'मेट्रोको परिकल्पना गरौं। प्राइभेट कार किन्दै लैजाने र सडक विस्तार गर्दै जाने, घर भत्काउँदै जाने चलन अन्त्य गर्नुपर्छ,' राईले संसद बैठकमा भनेका थिए, 'रिङरोडमा पनि ट्राफिक जाम हुन थालेको छ।'
सरकारले यस वर्ष मेट्रो रेलका लागि २ अर्ब ७९ करोड ६८ लाख रूपैयाँ बजेट छुट्याएको छ।
नेपालमा मेट्रो रेलबारे भएका अध्ययन
काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउनेबारे अध्ययन हुन थालेको एक दशक भइसके पनि अहिलेसम्म कुनै प्रगति भएको छैन।
सन् २०१२ मा नेपाल सरकारले नै कोरियन परामर्शदाताबाट उपत्यकामा मेट्रो रेल सञ्चालन गर्नेबारे सम्भाव्यता अध्ययन गराएको थियो।
उक्त अध्ययन अनुसार सन् २०१५ मा निर्माण थालेर २०१९ मा सम्पन्न गरिएको भए मेट्रो रेल चढ्नेको संख्या यति बेला दैनिक १० लाख २० हजार पुग्ने थियो।
सन् २०१७ मा जापानी सहयोग नियोग (जाइका) ले पनि उपत्यकामा सार्वजनिक यातायात सञ्चालनको मास्टरप्लान बनाएको थियो। त्यसमा सन् २०३० भित्र सञ्चालनमा ल्याउने गरी दुई लाइनको मेट्रो चलाउने मास्टरप्लानमा उल्लेख थियो।
यसमा नारायण गोपाल चोकदेखि सातदोबाटोसम्म उत्तर–दक्षिण लाइन र एयरपोर्टदेखि कलंकीसम्म पूर्व–पश्चिम लाइनको मेट्रो सञ्चालन गर्न सकिने प्रस्ताव गरिएको थियो।
काठमाडौंमा मेट्रो सञ्चालनबारे २०१२ को कोरियन अध्ययन र २०१७ को जापानी अध्ययनमाथि लगानी बोर्डले थप अध्ययन गरेको थियो।
त्यस क्रममा बोर्डले नारायण गोपाल चोकदेखि सातदोबाटोसम्मको मेट्रो लाइन विस्तार गरेर बुढानिलकण्ठबाट काठमाडौं-तराई फास्ट ट्रयाकको विन्दुसम्म पुर्याउन सुझाएको थियो।
त्यस्तै, कोटेश्वर-कंलकी लाइनको मेट्रो विस्तार गरेर धुलिखेल पुर्याउन सुझाएको थियो।
यात्रू संख्याका हिसाबले यी दुई मेट्रो लाइन सञ्चालन गर्न सकिने लगानी बोर्डको निष्कर्ष थियो।
कोरियन अध्ययनको सुझाव।
विज्ञहरूका अनुसार दुईतर्फ रेल बनाउन एक किलोमिटरक लागि करिब १० अर्ब रूपैयाँ खर्च आउँछ। त्यसैले नेपालका लागि मेट्रो रेल महँगो परियोजना मानिन्छ।
सामान्यतया ३० लाखभन्दा बढी जनसंख्या भएका क्षेत्रमा मेट्रो रेल सम्भाव्य हुने अध्ययनहरूले देखाएका छन्।
काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण, पर्यटकको आवागमनमा वृद्धि लगायत कारणले मेट्रो रेल सम्भव रहेको विज्ञहरू बताउँछन्।
बेलायतको लन्डन अन्डरग्राउन्ड मेट्रोमा लामो समय काम गरेका विनोद अमात्य सहितको मेट्रो रेल प्रवर्द्धन समूहले लामो समयदेखि बृहत काठमाडौं मेट्रो रेलको पक्षमा लबिङ गर्दै आएको छ। चक्रपथमा सडकमाथि र चक्रपथभित्र अन्डरग्राउन्ड मेट्रो रेल बनाउन उक्त समूहले सुझाव दिँदै आएको छ।
जापानको टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीबाट 'ग्राउन्ड इञ्जिनियरिङ' मा पिएचडी गरेका अमात्यले बेलायतको प्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयबाट पोस्ट-डक्ट्रेट गर्ने क्रममा लन्डन अन्डरग्राउन्ड मेट्रोबारे अध्ययन गरेका थिए।
विनोदकै पहलमा 'आर्कडिस ग्लोबल कन्सल्टेन्ट' ले पनि काठमाडौंको मेट्रो सम्भावनाबारे अध्ययन गरेको थियो। उनको अध्ययन अनुसार काठमाडौं उपत्यकामा पाँचवटा लाइनको दुई सय किलोमिटर लामो मेट्रो चलाउन सम्भव देखिएको थियो।
तत्कालका लागि दुईवटा लाइनबाट काम सुरू गर्न सकिने विनोदको अध्ययनमा उल्लेख छ।
विनोदलाल अमात्यले तयार पारेको सम्भावित मेट्रो रेलको नक्सा ।
योजना अनुसार पहिलो लाइन धुलिखेलबाट बनेपा, जडिबुटी हुँदै कोटेश्वरसम्म ओभरहेड ब्रिजबाट आउँछ र त्यहाँबाट अन्डरग्राउन्ड बाटो भृकुटीमण्डप पुग्छ।
भृकुटीमण्डपबाट यही लाइन कलंकी, सतुंगल हुँदै थानकोट पुग्छ। यसलाई अध्ययनमा 'काठमाडौं लाइन' (हरियो लाइन) भनिएको छ।
दोस्रो लाइन ललितपुरको गोदावरीबाट बाँडेगाउँ, हरिसिद्धि, सातदोबाटो हुँदै भृकुटीमण्डप पुग्छ र त्यहाँबाट महाराजगन्ज, बाँसबारी, हात्तीगौंडा हुँदै बुढानिलकण्ठसम्म तन्किन्छ। यसलाई अध्ययनमा 'पाटन लाइन' (निलो लाइन) भनिएको छ। अमात्यले काठमाडौंको मेट्रो रेलको नक्सा समेत सार्वजनिक गरेका थिए।
अमात्यले अध्ययन मार्फत् प्रस्तावित मेट्रो रेलमा नौवटा मेजर जंक्सन राख्न समेत सुझाएका छन्।
भृकुटीमण्डपमुनि बन्ने सम्भावित जंक्सन स्टेसनका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसका आर्किटेक्ट विनोद शर्माले अध्ययन गरेका छन्। यसको सुपरीवेक्षण अमात्यले गरेका थिए, जस अनुसार भृकुटीमण्डपमा तीन तलाको अन्डरग्राउन्ड मेट्रो स्टेसन हुनेछ। एक तलामुनि टिकट काउन्टर हुन्छ।
त्यसपछि दोस्रो तलामा पाटनबाट आएको निलो लाइनको रेलले मान्छे ओराल्ने र चढाउने गर्छ।
त्योभन्दा तल बनेपाबाट आएको हरियो लाइन रहने गरी डिजाइन प्रस्ताव गरिएको थियो।
भृकुटीमण्डप जंक्सनको सम्भावित डिजाइन।
विनोदले काठमाडौं उपत्यकामा परिकल्पना गरेका पाँच लाइन मेट्रोमध्ये दुइटा लाइनको ढाँचा रिङजस्तो छ।
रातो लाइन चक्रपथलाई भित्र पारेर कोटेश्वरबाट एयरपोर्ट, बौद्ध, बाँसबारी, नयाँ बसपार्क, कलंकी, बल्खु, सातदोबाटो हुँदै कोटेश्वर नै आइपुग्छ।
पहेँलो लाइनले उपत्यकाका सबैजसो क्षेत्र समेट्छ। यो लाइनको मेट्रो आसपासका नगरपालिका जोड्ने बाहिरी चक्रपथकै ढाँचामा परिकल्पना गरिएको छ।
यो भक्तपुरको सल्लाघारीबाट गोकर्ण, कपन, बुढानिलकण्ठ, टोखा, रामकोट, बलम्बु, कीर्तिपुरको भत्केको पाटी, चाल्नाखेल, बुंगमती, बाँडेगाउँ, नयाँ लुभू हुँदै सल्लाघारी पुग्नेछ।
यी दुई चक्रीय लाइनलाई आपसमा जोड्ने गरी काठमाडौं लाइन (हरियो) र पाटन लाइन (निलो) कुद्छ। खोला करिडोरको लाइन भने दक्षिणकालीबाट बल्खु हुँदै भृकुटीमण्डप र त्यहाँबाट नयाँ बसपार्क हुँदै धर्मस्थली पुग्नेछ।
प्रस्तावित मेट्रो जमिनमुनि झन्डै १५ देखि २५ मिटर तल बनाउनुपर्ने विनोदको अध्ययनको सुझाव छ।