नेपालले भारतका हरियाणा, उत्तर प्रदेश र बिहारमा बिक्री गर्दै आएको ६०९ मेगावाट बिजुलीको द्विपक्षीय बिक्री सम्झौता नवीकरण नहुँदा यस वर्ष नेपालले उक्त परिमाणको बिजुली निर्यात गर्न पाएन।
नेपाल विद्युत् प्राधिकरणले नेपाल-भारत द्विपक्षीय सम्झौता अनुसार हरियाणामा ४०४ मेगावाट तथा उत्तर प्रदेश र बिहारमा २०५ मेगावाट गरी ६०९ मेगावाट बिजुली बिक्री गर्दै आएको थियो।
उक्त ६०९ मेगावाट बिजुली मध्यकालीन निर्यात सम्झौताको अवधि गएको अक्टोबरको अन्तिमदेखि सकिएको हो।
दुई पक्षीय मध्यकालीन निर्यात अवधि सकिएपछि नेपालले उक्त बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को बजारमा बेच्न खोजेको थियो। बिक्रीका लागि नेपालले स्वीकृति माग गरे पनि नपाएको हो।
हरेक वर्ष मध्यकालीन सम्झौताको निर्यात अवधि सकिएपछि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा रूपान्तरण गरी बिजुली निर्यात गर्दै आएको थियो। तर यस वर्ष भारतले मध्यकालीन सम्झौताको उक्त बिजुली आइएक्समार्फत निर्यात गर्न अनुमति नदिएको हो।
नेपालले आफ्नो प्रणालीमा आन्तरिक मागभन्दा बढी बिजुली उपलब्ध भएको अवस्थामा भारतीय ऊर्जा एक्सचेन्जमा बिक्रीका लागि राख्न सक्छ। बजारमा माग र प्रतिस्पर्धी दरअनुसार कारोबार हुन्छ। डे–अहेड मार्केटमा अर्को दिनका लागि र रियल टाइम मार्केटमा तत्काल आवश्यकताअनुसार बिजुली किनबेच गर्न सकिन्छ। नेपालले यसअघि पनि वर्षायाममा बढी भएको बिजुली यही बजारमार्फत भारतमा बिक्री गर्दै आएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले भने उक्त ६०९ मेगावाट बिजुलीलाई आइएक्समार्फत बिक्री गर्न अनुमति माग्दै गत अगस्टमै भारतलाई प्रस्ताव पठाएको बताए। तर प्रस्ताव पठाएको करिब तीन महिना बितिसक्दा पनि भारतबाट स्वीकृति आएको छैन।
श्रेष्ठका अनुसार नेपालले यस वर्ष वर्षायाममा उत्पादन भएको अतिरिक्त बिजुली भारतमा बिक्री गर्न सक्ने अवस्था थियो। दसैं, तिहार र छठका कारण केही समय उद्योग तथा अन्य क्षेत्रको विद्युत् खपत कम भएकाले आन्तरिक मागभन्दा उत्पादन बढी भएको थियो। त्यस अवधिमा नेपालले उक्त बिजुली बिक्री गर्न सक्ने भए पनि अनुमति नपाउँदा बिक्री गर्न सकेन।
'अब त हामीले नै बिजुली निर्यात बढाउनुपर्ने बेला भएको छ, अब अनुमति पाए पनि यो वर्ष हिउँदमा दिन सकिँदैन,' विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले भने।
अहिले नदीमा पानीको बहाव घट्दै जाँदा जलविद्युत् उत्पादन पनि कम हुन्छ। त्यसपछि नेपालमा आन्तरिक माग धान्न नै भारतबाट बिजुली ल्याउनुपर्ने हुन्छ।
प्राधिकरणका अनुसार अहिले नेपालमा करिब २ हजार ६ सयदेखि २ हजार ७ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ भने आन्तरिक माग करिब २ हजार २ सयदेखि २ हजार ३ सय मेगावाट छ।
आगामी माघ र फागुनमा करिब ५ सय मेगावाट बिजुली निरन्तर आयात गर्नुपर्ने र उच्च माग हुने समयमा ८ सयदेखि ९ सय मेगावाटसम्म आयात गर्नुपर्ने प्राधिकरणको अनुमान छ।
यसैबीच भारतले नेपाललाई हिउँदयामका लागि भारतीय ऊर्जा एक्सचेन्जबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न अनुमति दिएको छ।
त्यस्तै, नेपालका तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट बिजुली आइएक्समार्फत भारतमा बिक्री गर्न पनि स्वीकृति पाएको छ।