तुलसीपुर उपमहानगरपालिकामा अबदेखि बैंकिङ कारोबारमात्रै चल्ने भएको छ।
सेवाग्राहीहरूले अबदेखि तिर्नुपर्ने रकम अनिवार्यरूपमा बैंकमा जम्मा गर्नुपर्ने नियम लागू गरिएको हो।
आर्थिक सुशासनका साथै बैंकिङ प्रणालीमा सेवाग्राहीलाई अभ्यस्त बनाउन र अनौपचारिक कारोबारलाई रोक्नका लागि बैंकिङ प्रणालीको ठूलो सहयोग पुग्ने मेयर घनश्याम पाण्डेले बताए।
बिहीबार उपमहानगरमा बैंकिङ काउन्टरको उद्घाटन गर्दै मेयर पाण्डेले उपमहानगरलाई ‘क्यासलेस’ बनाउने लक्ष्य पूरा भएको भन्दै खुसी साटे।
हरेक नागरिकलाई बैंकिङ प्रणालीसँग जोड्न सकेमात्रै औपचारिक कारोबार वृद्धि हुने उनले विश्वास व्यक्त गरे।
वित्तीय साक्षरता अहिलेको आवश्यकता भएको भन्दै पाण्डेले बिहीबारदेखि हरेक पेमेन्ट अनलाइनबाट गर्ने गरी काम अगाडि बढाएको जानकारी दिए।
त्यही उद्धेश्यका साथ मेगा बैंकलाई उपमहानगरपालिकाभित्रै काउन्टर स्थापना गर्ने स्वीकृति दिइएको वित्तीय अधिकृत ललितबहादुर घर्तीले बताए।
बैंकको म्यानेजर राजन भण्डारीले गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र बैंकसँगको प्रक्रियामा भएको ढिलाइ भएका कारण बिहीबारदेखि मात्रै सञ्चालन गर्न सकिएको जानकारी दिए।
तुलसीपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष विमल रिजालले बैंकिङ प्रणालीले आर्थिक अनियमितता बन्द हुनुका साथै सेवाग्राहीको काम छिटो छरितो हुने विश्वास व्यक्त गरे ।
तुलसीपुर बैंकर्सका अध्यक्ष सरोज लामिछानेले धेरै मानिस बैकको पहुँचबाट टाढा रहेको हुँदा उनीहरूलाई बैंकिङ प्रणालीसँग जोडेर लैजान सजिलो हुने बताए।