नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले स्थापनाको २९औं वार्षिकोत्सवका अवसरमा विभिन्न अवार्ड र पुरस्कार वितरण गरेको छ।
सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सेजनले विभिन्न विधातर्फ सेजन अवार्ड र पुरस्कार वितरण गरेको हो।
सेजनका अनुसार एक लाख रुपैयाँ राशिको सेजन अवार्ड दुई जना पत्रकारलाई प्रदान गरिएको छ।
नयाँ पत्रिका दैनिकका पवन तिमल्सिनालाई ‘पूर्वविशिष्टहरुको सेवा बढाएर तयार गरिएको विधेयक’ र त्यसको फलोअप समाचारलाई प्रदान गरियो भने अनलाइन खबर डटकम भुवन पौडेललाई ‘दीपेन्द्र अग्रवालको कारोबार आफूले बेचेको सेयर आफैं किन्ने, महँगोमा जनता फसाउने’ शीर्षकको समाचारलाई प्रदान गरिएको सेजन अवार्ड तथा पुरस्कार छनोट समितिका संयोजक तथा सेजनका पूर्वअध्यक्ष डा. गोपाल तिवारीले घोषणा गरेका हुन्।
त्यसैगरी ५० हजार रुपैयाँ राशिको सेजन छापामाध्यमतर्फको अवार्ड कान्तिपुर दैनिकका विमल खतिवडालाई प्रदान गरिएको छ। खतिवडालाई ‘टुक्रे आयोजनामा बजेट विनियोजन सम्बन्धी शीर्षकको समाचारलाई उक्त अवार्ड प्रदान गरिएको सेजनले जनाएको छ।
साथै ५० हजार रुपैयाँ राशिको सेजन डिजिटलमाध्यमतर्फको अवार्ड बिजमाण्डू डटकमका सुनिल कुँवरलाई प्रदान गरिएको छ।
उनलाई ‘आइपिओका नाममा प्रिमियम पैसा उठाएर कर छली’ शीर्षक र सो–सम्बन्धी समाचारका लागि उक्त अवार्ड प्रदान गरिएको हो।
साथै एक लाख रुपैयाँ राशिको डा. भोला चालिसे लिबरल जर्नलिजम अवार्ड दुई पत्रकारलाई प्रदान गरिएको छ।
सेजनका अनुसार उक्त अन्नपूर्ण डटकमका सुनिता कार्कीलाई ‘एकीकृत फोहरमैला व्यवस्थापन परियोजना १४ वषदेखि अलपत्र’ शीर्षकको समाचारका लागि र नेपालन्यूज डटकमका उद्धव थापालाई मुअब्जाको पासोमा ठूला परियोजना शीर्षकको समाचारका लागि उक्त अवार्ड प्रदान गरिएको हो।
वार्षिकोत्सवको अवसरमा सेजनका पूर्वउपाध्यक्ष स्व. सञ्जय न्यौपानेको स्मृतिमा स्थापना गरिएको एक लाख रुपैयाँ राशिको स्व. सञ्जय न्यौपाने लेखनवृत्ति, २०८२ गोरखापत्र दैनिकका भेषराज बेल्वासेलाई प्रदान गरिएको छ।
उहाँलाई ‘महाभूकम्प, कोभिड–१९, बाढी र जेनजी आन्दोलनले लघु, घरेलु तथा साना उद्योग व्यवसायमा परेको प्रभाव शीर्षकको अनुसन्धान प्रस्ताव उत्कृष्ट ठहरिएकाले छनोट गरिएको हो।
सो अवसरमा सेजनका पूर्वकार्यसमिति सदस्य स्व. सागर घिमिरेको स्मृतिमा आयोजना गरिएको स्व. सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई पनि पुरस्कार प्रदान गरिएको छ।