एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा बिहीबारसम्म प्रहार भएका चौकाहरू मार्फत दुई हजार भन्दा बढी शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने भएको छ।
क्रिकेटलाई कक्षा कोठासँग जोड्ने आफ्नो सामाजिक पहल अन्तर्गत फाउन्डेसनले सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गर्दै आएको छ।
यो अभियान गत वर्ष एनपिएलसँगको सहकार्यमा सुरू गरिएको हो।
फाउन्डेसनले सिजन २ को प्रत्येक चौका बराबर ४ वटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता जनाएको छ।
मंसिर १८ सम्म ९० खेलाडीहरूले पाँच सय १० चौका प्रहार गरिसकेका छन्। जसबाट दुई हजार ४० वटा सामग्री वितरण सुनिश्चित भइसकेको छ।
चौका प्रहारकर्तामध्ये पोखरा अवेन्जर्सका एडम रोसिङटन २७ चौका सहित एक सय ८ वटा सामग्री वितरण सुनिश्चित गर्दै अग्रस्थानमा छन्।
लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौका (७६ सामग्री) सहित दोस्रो, जबकी काठमाडौं गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारी १७–१७ चौकासहित तेस्रो स्थानमा छन्।
फाउन्डेसनले उपलब्ध गराउने शैक्षिक किटमा झोला, कपी, पेन्सिल, इरेजर, शार्पनर लगायतका आवश्यक सामग्री समावेश हुने छन्।
यी सामग्रीहरूले सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ प्रक्रियामा सहयोग पुग्ने फाउन्डेसनले विश्वास व्यक्त गरेको छ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले चौका प्रहार गरेर सामाजिक पहलमा योगदान पुर्याउने सबै खेलाडीलाई धन्यवाद दिँदै भनिन्, 'गत वर्षदेखि हामीले खेलकुदको उत्साहलाई सामाजिक प्रभावसँग जोड्दै आएका छौँ। बाँकी खेलहरू रोमाञ्चक मात्र होइन, शिक्षामा हुने योगदानलाई पनि विस्तार गर्नेछन् भन्ने हाम्रो विश्वास छ।'
गत वर्ष सिजन १ का ६ सय ५३ चौकाबाट दुई हजार ६ सय १२ शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता जनाउँदै, फाउन्डेसनले करिब नौ हजार सामग्री देशभरका विद्यार्थीलाई प्रदान गरेको थियो।
यस वर्षको सामग्री वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय तह तथा कर्मयोग फाउन्डेसनको समन्वयमा गरिनेछ।