त्रिशूली बाढीपछि सबभन्दा धेरै मानिस फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा आज पनि खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ।
आयोजनाका इएनएस म्यानेजर संजिव कार्कीका अनुसार नेपाली सेनासँगको समन्वय तथा विभिन्न विदेशी उद्धारकर्ताहरूको समेत संलग्नतामा उद्धारको काम भइरहेको छ।
'इन्टेक सुरूङमा २०० मिटरसम्म पुगेर खोजतलासको काम भएको छ। त्यहाँ हिजो एक जनाको खुट्टाको भाग फेला परेको छ। त्यो हाम्रै कर्मचारीको हो वा बाहिरबाट बगेर आएको हो यकिन हुन बाँकी छ,' उनले भने।
बिहीबार सेनाले सुरूङको बन्द भाग र एउटा शव फेला परेको जनाएको छ।
आज पनि बिहानैदेखि सेनासहित कर्मचारी र प्राविधिकलाई फिल्डमा खटिरहेको आयोजनाले जनाएको छ।
यो आयोजनामा तीन सय जना फसेको आशंका गरिएको छ।
आयोजनाका परामर्शदाता, ठेकेदार कम्पनी र कर्मचारी गरी ५७३ जना अझै सम्पर्कविहीन छन्।
त्यसमध्ये करिब ३०० जना सुरूङभित्र काम गर्ने थिए। बाढी आएको दिन आयोजनामा १ हजार ४ सयभन्दा बढी मानिस काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ।