नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति क्रमशः सहज हुँदै गएको जनाएको छ।
निगमका अनुसार भदौ महिनामा ४२ लाख १३ हजार ६ सय ६१ सिलिन्डर बराबरको ५९ हजार ८ सय ३३ मेट्रिक टन एलपी ग्यास आयात गरी बिक्री वितरण गरिएको छ।
त्यसैगरी, इन्डियन आयल कर्पोरेसन (आइओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १७ सम्म ३० हजार ३ सय १८ मेट्रिक टन ग्यास लोडिङ भएको छ।
बाढी र पहिरोका कारण ग्यास अभाव भएपछि नेपालले भारतलाई कम्तीमा एक सातासम्म दैनिक १६० बुलेट ग्यास पठाइदिन आग्रह गरेको थियो।
आइओसीले मागअनुसार ग्यास पठाइरहेको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए।
‘कहिलेकाहीँ एक सय ६० देखि एक सय ६७ बुलेटसम्म आएको छ। कहिलेकाहीँ एक सय ३० बुलेट पनि हुन्छ,’ उनले भने, ‘हामी आपूर्ति बढाउन सक्दो प्रयास गरिरहेका छौं।’
ग्यास आपूर्तिका लागि बुलेट उपलब्ध हुनुपर्ने र गुणस्तर पनि कायम हुनुपर्ने भएकाले दैनिक आउने बुलेटको संख्या फरक पर्ने गरेको ठाकुरले बताए।
ग्यास आपूर्तिका विषयमा निगमले आइओसीका प्रतिनिधिसँग दैनिक कुराकानी गरिरहेको छ।
बिहीबारदेखि कृष्णभीर खण्डमा सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा आएपछि सोही रूटबाट एलपी ग्यास बोकेका बुलेटहरू नियमित रूपमा आउन थालेका छन्।
उनका अनुसार अहिले काठमाडौं उपत्यका केन्द्रित उद्योगहरूले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी बजारमा पठाउन थालेका छन्। यससँगै उपत्यकामा एलपी ग्यासको आपूर्ति छिट्टै सहज हुने निगमले जनाएको छ।
निगमले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर सञ्चय नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ।
एलपी ग्यासको सामान्य खपत दैनिक करिब एक सय बुलेट भए पनि बाढी–पहिरो आउनुअघि नै बजारमा ग्यासको अभाव भएकाले आपूर्ति बढाउँदा पनि बजारको मागअनुसार सन्तुलन मिलाउन नसकिएको निगमले जनाएको छ।