निजी क्षेत्रद्वारा सञ्चालित वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले डेढ वर्षपछि उडान अनुमति पाएको छ।
२०८१ साउन ९ गते पोखरा उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि नेपाल उड्डयन प्राधिकरणले सौर्यको एयरक्राफ्ट अपरेटर सर्टिफिकेट(एओसी) अनिश्चितकालका लागि निलम्बन गरेको थियो।
जहाज सि–चेक भन्ने विस्तृत निरीक्षणको लागि काठमाडौंबाट पोखराका लागि उडेको थियो।
दुर्घटनामा परेको जहाजमा १९ जना यात्रुमध्ये क्याप्टेन मनिष शाक्य बाहेक १८ जनाको ज्यान गएको थियो।
जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो।
माघ ४ गते प्राधिकरणले सौर्य एयरलाइन्सको एओसी नवीकरण र यसअघिको निलम्बन समेत फुकुवा गरेको छ।
यो नवीकरणको अवधि सन् २०२७ सम्म रहेने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
प्राधिकरणले चन्द्रगढी विमानस्थल (भद्रपुर), विराटनगर विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट (भैरहवा), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पोखरा), नेपालगञ्ज विमानस्थल र धनगढी विमानस्थलमा नियमित तथा वैकल्पिक उडान अनुमति दिएको छ।
दुर्घटनापछि निलम्बनमा परेको एयरलाइन्सले प्राधिकरणसँग डेढ वर्षदेखि उडानका लागि अनुमति माग्दै आएको थियो।
सौर्य एयरलाइन्सका बजार प्रमुख मुकेश खनालका अनुसार एउटा विमानले काठमाडौं बाहिर र दुइटाले त्रिभुवन विमानस्थलमै रहने गरेर प्राधिकरणबाट सञ्चालन अनुमति पाएको हो।
५० सिट क्षमताका सिआरजे–२०० सिरिजका तीन विमानले उडान अनुमति पाएको हो।
'अहिले हामी काठमाडौं–भद्रपुर–विराटनगर उडान गछौं,' खनालले भने, 'नेपालगञ्ज र मानसरोवरमा पनि उडान गर्ने योजना छ।'
कम्पनीले थप तीन वटा नयाँ एटिआर–६०० जहाज पनि किन्ने योजना बनाएको खनालले जानकारी दिए।
उडानका लागि सुरक्षा अडिट, तालिम, दस्तावेज सुधार तथा डिजिटल प्रणाली सम्बन्धी आवश्यक काम पूरा भइसकेको उनले बताए।
सौर्य एयरलाइन्सले नियामक निकायको मापदण्डअनुसार फ्लाइट सेफ्टी अडिट (एसएमएस) मा ६५ प्रतिशत अंक प्राप्त गरेको छ।
सामान्यतया एसएमएसमा ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्नु राम्रो मानिन्छ।