स्थापनाको झन्डै ७० वर्ष पछि दाङको तुलसीपुर उपमहानगरपालिका – १२ स्थित टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तार गर्न २५ करोड बजेट विनियोजन भएको छ।
योसँगै राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको मुलककै पुरानो मध्यको टरिगाउँ एयरपोर्टको विस्तार हुने अपेक्षा गर्न थालिएको छ।
टरिगाउँ विमानस्थल २०११ सालदेखि संचालमा आएको नेपालकै एक पुरानो मध्यको एयरपोर्ट हो।
टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तार गर्न सरकारले २५ करोड बजेट छुट्याएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दाङ क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमल सुबेदीले सेतोपाटीलाई बताए।
उनले आफ्नो सामाजिक संजाल फेसबुकमा अर्थमन्त्री स्वर्णिम वाग्लेको तस्बिर साझा गर्दै टरिगाउँ एयरपोर्टका लागि २५ करोड बजेट विनियोजन भएको कुरा उल्लेख गरेका छन्।
‘मैले त व्यक्तिगत रुपमा हेरिसके,’ उनले भने, ‘टरिगाउँ एयपोर्टका लागि यो पालि २५ करोड बजेट विनियोजन भएको निश्चित हो।’
उनले त्यसका लागि अबको केही दिन प्रतिक्षा गर्न आग्रह गरे।
‘एयरपोर्टको लागि योपालि २५ करोड बजेट परेको छ,’ उनले भने, ‘प्रतिक्षा गर्नुहोस रेड बुक आएपछि सबै छर्लंग हुने छ।’
गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा दाङको क्षेत्र नं. २ मा नेकपा (एमाले) का महासचिव शंकर पोखरलाई पराजित गर्दै निर्वाचित सांसद तथा राश्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यको घर पनि टरिगाउँ एयरपोर्ट नजिकै हो।
यो बीचमा सांसद आचार्यले लगातार टरिगाउँ एयरपोर्ट बिस्तार हुनुपर्ने कुरा सदनमा उठाउँदै आएका थिए ।
मुलुकै पुरानो मध्यको टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तारमा जोड दिदै सांसद आचार्यले यदि विस्तार गर्न सम्भव नभए त्यसको वैज्ञानिक कारण दाङबासीले थाहा पाउनु पर्ने माग गर्दै आएका थिए।
सरकारले एयरपोर्टको धावन मार्ग विस्तार गर्न आर्थिक वर्ष २०८३/०८४ का लागि २५ करोड रुपैयाँ विनियोजन गरेको र सो बजेट बाट धावन मार्ग विस्तार गरी ७२ सिटेसम्मका जहाज अवतरण गर्न सक्ने गरी विकास गरिने सुवेदीले बताए ।
‘७५० मिटरको साँघुरो घेरा तोडेर अब टरिगाउँ विमानस्थलको धावनमार्ग १५०० मिटरको फराकिलो छाति लिएर उभिँदैछ,’ उनले लेखेका छन् ‘आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारले विनियोजन गरेको २५ करोड रुपैयाँले दाङबासीको ठूला जहाज चढ्ने वर्षौं पुरानो सपनालाई पखेटा हालिदिएको छ। अब ७२ सिटे ठूला विमानहरू हाम्रै तुलसीपुरको आकाशमा उड्नेछन्। जसले दाङको आर्थिक र सामाजिक विकासमा नयाँ आयाम थप्ने निश्चित छ।’
साथै उनले राजनीति र मतभेदलाई किनारा लगाउँदै, विकासका लागि एकजुट हुने बेला आएको भन्दै
समृद्ध दाङको यो यात्रामा सँगै हिँड्न तथा सहकार्य गर्न आग्रह पनि गरेका छन् ।
७० वर्षको प्रतीक्षापछि दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि बहुवर्षीय आयोजनाको रूपमा अघि बढ्ने सुनौलो ढोका खुलेको भन्दै उनले अब टरिगाउँ विमानस्थल बन्ने निश्चित भएको बताए ।
हाल एयरपोर्टको धावन मार्ग ७५० मिटर लम्बाइमा मात्रै कालोपत्रे छ।
टरिगाउँ एरपोर्टको धावन मार्ग कालोपत्रे गर्ने काम तत्कालीन नेकपा (माओवादी) का नेता लोकेन्द्र विष्ट मगर पर्यटन मन्त्री भएको समयमा भएको थियो। जम्मा ७५० मिटर मात्रै कालो पत्रे भएको हुँदा यो विमानस्थलमा साना १९ सिटेसम्मका जहाज मात्रै अवतरण गर्न सक्छन् । अब बिनियोजित बजेट बाट धावन मार्ग विस्तार गरी १५०० मिटर पुर्याउने अपेक्षा गरिएको छ।
जस्को माग बर्षौंदेखि हुँदै आएको थियो। बजेट आयो र काम अगाडि बढ्यो भने बर्षौंदेखि कुरा उठ्दै आएको टरिगाउँ एयरपोर्टको मुहार फेरिने छ ।
तुलसीपुरदेखि दगौंरा खोलासम्मको सडकका लागि ५५ करोड
दाङको तुलसीपुर–जलकुन्दीदेखि दगौरा खोलासम्मको सल्यान जोड्ने सडक खण्डका लागि ५५ करोड बजेट विनियोजन भएको छ। यो सडक खण्ड बहु वर्षीय आयोजना अन्तर्गत स्रोत सुनिश्चित भएको सांसद सुबेदीले बताए।
यो सडक खण्डका लागि पनि यही आर्थिक वर्षभित्र ठेक्का प्रक्रिया अगाडि बढ्ने जनाइएको छ। त्यस्तै सितलपुरस्थित बबई नदीमा अर्कौ एउटा नयाँ पक्की पुल निर्माण गरिने भएको छ । त्यसका लागि पनि बजेट विनियोजन भएको सांसद सुवेदीले बताए।
डिभिजन सडक कार्यालय दाङका प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर बिष्टले पनि कार्यालयको तर्फबाट राप्ती राजमार्ग अन्तगर्तका तुलसीपुरको बबई नदी र सल्यानको शारदा नदीको पुल साँघुरो भएको हुँदा समय अनुकुल हुने गरी नयाँ पुलहरु निर्माण गर्ने योजनाको माग गरिएको थियो । माग बमोजिम बजेट विनियोजन भएको बिष्टले सेतोपाटीलाई बताए ।
दाङ लुम्बिनी प्रदेशको राजधानी पनि हो। हाल तुलसीपुर – घोराही करिब २४ किलोमिटर चार लेन सडक बिस्तारको काम तीब्र गतिमा भइरहेको छ।