आयरल्यान्डबाट तीन साताअघि नेपाल आएकी इथा शनिबार अन्नपूर्ण फेरो पदयात्रा सकेर पोखरा झरेकी थिइन्।
पदयात्रा क्रममा उनले हिमाली भञ्ज्याङ थोराङ–ला पार गरिन्, मुस्ताङका सुख्खा भूभाग देखिन् र मर्स्याङ्दी तथा कालीगण्डकी नदीका किनारैकिनार हिँडिन्।
पहिलोपटक नेपाल आएकी उनलाई यहाँका पहाड र हिमालले लोभ्याएका थिए। यात्राका क्रममा उनले अपरिचित नेपालीहरूसँग मित्रता पनि गाँसिन्।
आइतबार उनको नेपाल यात्रामा एउटा फरक अनुभव थपियो— दसैं।
अस्ट्रेलियामा नेपालीहरूसँग काम गर्दा उनले दसैं नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्वमध्ये एक भएको सुनेकी थिइन्। पोखरामा उनले पहिलो पटक यो पर्वलाई नजिकबाट अनुभव गर्ने अवसर पाइन्।
नेपाली ज्येष्ठ नागरिकको हातबाट विदेशी पर्यटकलाई दसैंको टीका र जमरा लगाउने कार्यक्रमले उनलाई नेपाली संस्कृतिको अर्को पक्षसँग परिचित गरायो।
'अस्ट्रेलियामा मैले धेरै नेपालीसँग काम गरेँ। दसैंको बारेमा सुनेकी थिएँ,' इथाले भनिन्, 'आज आफैले अनुभव गर्न पाएँ। यो पर्व निकै सुन्दर रहेछ। सबै जना एकजुट भएर पर्व मनाएको देख्न पाउनु निकै राम्रो लाग्यो।'
पोखराको बाराहीघाट मैदानमा आयोजित 'दसैं पर्यटन तथा सांस्कृतिक महोत्सव' मा सहभागी हुँदा उनी पर्यटकका रूपमा मात्र उपस्थित थिइनन्। नेपालीहरूको महत्त्वपूर्ण सांस्कृतिक पर्वको एउटा हिस्सा बनेकी थिइन्।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटकलाई टीका र जमरा लगाइदिँदा सहभागीहरू उत्साहित देखिन्थे।
'तपाईंहरूको सुन्दर संस्कृति देख्न पाउनु र त्यसको एउटा हिस्सा बन्न पाउनु हाम्रो लागि निकै भाग्यको कुरा हो,' इथाले भनिन्।


उनको नेपाल यात्राको सुरूआती कल्पनामा पहाड, पदमार्ग, हिमाल र साहसिक यात्रा थिए। तीन सातापछि त्यसमा नेपालीहरूको व्यवहार, आतिथ्य र चाडपर्वको अनुभव पनि थपिएको थियो।
'यहाँका मानिसहरू निकै आत्मीय रहेछन्,' उनले भनिन्, 'मैले भेटेका हरेक नेपाली निकै राम्रा मानिस हुनुहुन्छ।'
इथाका लागि प्राकृतिक दृश्यसँगै मानिसहरूसँगको भावनात्मक सम्बन्ध पनि यात्राको महत्त्वपूर्ण हिस्सा बनेको थियो। होटल, रेस्टुरेन्ट र पदयात्राका बाटाहरूले उनलाई नेपाल चिनाए भने नेपाली साथीहरूले यो देशसँगको उनको सम्बन्धलाई थप व्यक्तिगत बनाइदिए।
दसैंमा नेपालीहरूसँगै पर्व मनाउन पाउनु उनको यात्राको त्यस्तै सम्झनायोग्य क्षण बन्यो।
पोखरामा विदेशी पर्यटकलाई दसैंको अनुभव गराउने कार्यक्रम महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आयोजना गरेको हो। आयोजकले नेपाली मौलिक चाडपर्वलाई पर्यटनसँग जोडेर पर्यटकलाई प्राकृतिक सौन्दर्यभन्दा परको अनुभव दिने लक्ष्य राखेका छन्।
मेयर आचार्यले नेपालको सांस्कृतिक विविधता पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधार हुन सक्ने बताए।
'पोखरामा ७६ वटै जिल्लाका बासिन्दा बस्नुहुन्छ। ६२ भाषाभाषी बस्नुहुन्छ,' आचार्यले भने, 'बहुभाषिक र बहुसांस्कृतिक देश नेपालमा संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिन्छ। हिमाल, ताल र पहाड मात्र होइन, हामीसँग अथाह संस्कृति पनि छन्, जुन पर्यटकका लागि नयाँ अनुभव र आकर्षण हुन सक्छन्।'
उनले पर्यटन क्षेत्रका महिला व्यवसायीले विदेशी पर्यटकसँग दसैंको अनुभव साट्ने कार्यक्रम आयोजना गर्नु सराहनीय भएको बताए। यस्तो कार्यक्रमलाई एक पटकको उत्सवमा सीमित नराखी निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
'अब पोखरा महानगरको क्यालेन्डरमा दसैंको कोजाग्रत पूर्णिमाका दिन पर्यटकसँग टीका लगाउने कार्यक्रम राख्नुपर्छ,' आचार्यले भने।

नेपालको पर्यटन लामो समयदेखि हिमाल, ताल, पदयात्रा र प्राकृतिक सौन्दर्यमा केन्द्रित छ। पर्यटकलाई स्थानीय समुदायको जीवनशैली, चाडपर्व र परम्परासँग जोड्ने कार्यक्रमले पर्यटनको अनुभव थप फराकिलो बनाउन सक्ने व्यवसायीहरूको अपेक्षा छ।
पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले अहिले पोखरामा विदेशी पर्यटक आइरहेको अवस्थामा उनीहरूलाई नेपाली पर्वको प्रत्यक्ष अनुभव गराउनु महत्त्वपूर्ण हुने बताए।
'उहाँहरू पनि नेपालीहरूले झैं दसैंको टीका लगाउन चाहनुहुन्छ,' भुजेलले भने, 'दसैंलाई विश्वमाझ पुर्याउन यस कार्यक्रमले सहयोग गर्छ। यो पोखराको पर्यटनका लागि नयाँ आयाम हुनेछ।'
उनका अनुसार नेपाली चाडपर्वलाई पर्यटकमाझ चिनाउन सके नेपालको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न र पर्यटक आकर्षित गर्न मद्दत पुग्न सक्छ।
विदेशी पर्यटकलाई लक्षित गरेर नेपालमै पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको उनको दाबी छ।
महोत्सवकी कार्यक्रम संयोजक उमा रेग्मी भण्डारीले नेपाली मौलिक चाडपर्वलाई पर्यटनसँग जोड्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्।
'विदेशी पर्यटकलाई रोक्ने उद्देश्य राखेका छौ|। हाम्रो मौलिक सांस्कृतिक चाडपर्वलाई पर्यटनसँग जोड्न कार्यक्रम आयोजना गरेका हौं,' उनले भनिन्, 'यो सम्पूर्ण पोखराबासीको महोत्सव हो।'
महोत्सवमा सांस्कृतिक झाँकी, मालश्री धुन, राष्ट्रिय कलाकारका प्रस्तुति, चंगा चेट प्रतियोगिता, परम्परागत पिङ तथा नेपाली खानाका परिकार लगायत कार्यक्रम राखिएका थिए।
महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष ममता न्यौपानेले छोटो समयको तयारीमा महोत्सव आयोजना गरिए पनि विभिन्न संघसंस्था, उद्योगी, व्यवसायी र सरकारी निकायबाट सहयोग प्राप्त भएको बताइन्।
आयोजकले महोत्सवमा स्वदेशी तथा विदेशी गरी करिब १० हजार पर्यटक सहभागी हुने अपेक्षा गरेका थिए। पोखरा आएका पर्यटकलाई निमन्त्रणा पठाइएको र कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने योजना रहेको न्यौपानेले बताइन्।


मञ्चकी संस्थापक अध्यक्ष उमा रेग्मी भण्डारीका अनुसार पर्यटकलाई नेपाली संस्कृति र परम्परासँग जोड्ने यस्ता गतिविधिले पोखराको पर्यटनमा नयाँ अनुभव थप्न सक्छन्।
नेपालमा विदेशी पर्यटकका लागि हिमाल लामो समयदेखि ठूलो आकर्षण रहँदै आएको छ।
अस्ट्रेलियाकी इथाका लागि पनि हिमाली दृश्यहरू यात्राका महत्त्वपूर्ण हिस्सा थिए।
पोखरामा दसैं मनाउँदा उनले नेपालको अर्को पक्ष अनुभव गरिन्—अपरिचित मानिसहरूबीच आत्मीयता गाँस्ने र आफ्नो संस्कृतिमा अरूलाई सहभागी गराउने परम्परा।
पर्यटकका रूपमा नेपाल हेर्न आएकी इथाले यहाँको प्रकृतिसँगै मानिस र संस्कृतिलाई पनि आफ्नो यात्राको सम्झनामा समेटिन्।
'हामी तपाईंहरूसँगै यो पर्व मनाउन पाउँदा निकै खुसी छौं,' उनले भनिन्, 'सबैलाई दसैंको शुभकामना। तपाईंहरूको वर्ष सुन्दर रहोस्।'