पोखराको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा आँखा खुल्दा मनोज कुमारले केही क्षण आफू कहाँ छु भन्ने नै बुझ्न सकेनन्।
उनले अस्पतालको छत देखे। वरिपरि अपरिचित उपकरणहरू थिए। अक्सिजन मास्क लगाएर उनी अस्पतालको बेडमा पल्टिरहेका थिए।
त्यसपछि बिस्तारै अनुहारहरू चिनिन थाले। श्रीमती थिइन्। छोरी थिइन्। साथीहरू र उनीहरूका परिवार थिए। कोही रातभर निदाएका थिएनन्। कसैको आँखा रसाएको थियो। सबै जना उनको होस पर्खिरहेका रहेछन्।
उनी आफै भने मुक्तिनाथ जाने बाटोमै हराएको समय जोड्ने प्रयास गरिरहेका थिए।
'म त बेहोस भएछु,' उनले सम्झिए, '१५ घण्टापछि मात्र होसमा आएँ। मेरो परिवार र साथीहरू सबै धेरै परेशान भएका रहेछन्।'
केही दिनअघि मात्रै उनी मुक्तिनाथ पुगेर फर्किएका थिए।
नेपाल र भारतको सीमावर्ती सहर सुनौली बस्ने मनोज कुमार जेठको गर्मीले हैरान थिए। तापक्रम ४० डिग्री पुगेको थियो। दिउँसो सडकमा तातो हावा बहन्थ्यो। घरबाहिर निस्किन पनि कठिन हुन्थ्यो। केही दिन भए पनि चिसो हावा खान उनी पहाड जान चाहन्थे।
साथीहरूसँग सल्लाह भयो। परिवार लिएर पोखरा हुँदै मुक्तिनाथ जाने योजना बन्यो।
एक जना साथीले प्रस्ताव राखे, 'पहिला हामी मात्र जाऔं, त्यसपछि परिवार लिएर फेरि जाऔंला।'
योजना सबैलाई मनपर्यो।
मनोज कुमार
जेठको दोस्रो साता मनोज साथीहरूसँग पोखरा आए। पोखरा घुमे। त्यसपछि मुक्तिनाथ पुगे। १०८ धारामा स्नान गरे। चिसो कुण्डमा डुबुल्की मारे। मन्दिरको दर्शन गरे। अनि सकुशल सुनौली फर्किए।
पहिलो यात्राले उनलाई मुस्ताङसँग प्रेम बस्यो। मन शीतल भयो, अनि शान्त पनि।
'त्यहाँ पुगेपछि मलाई लाग्यो, म कुनै ग्रेट प्लेसमा आएको छु,' उनले भने, 'परिवारलाई पनि त्यही अनुभव गराउन चाहन्थेँ।'
पहिलो पटक मुस्ताङ गएको १० दिनमै पूर्वयोजना मुताविक दोस्रो यात्रा तय भयो। मनोज कुमारका लागि दोस्रो यात्रा पहिलोभन्दा बिल्कुल फरक बन्यो।
जेठ २६ गते १५ जनाको समूह सुनौलीबाट निस्कियो। पहिलो रात पोखरामा बित्यो। अर्को दिन उनीहरू मुस्ताङतर्फ लागे।
दानामा खाना खाएपछि गाडी कालीगण्डकीको किनारैकिनार अगाडि बढ्यो। नदीको मुहानतर्फ बढ्दै जाँदा चिसो हावाको वेग पनि बढ्दै थियो। उनीहरूले सुनौलीका तातो हावा बिर्सिए।
मुस्ताङको चिसो हावाले शरीर मात्र होइन, मन पनि शीतल बनायो। यात्रुहरू उत्साही थिए। परिवार रमाइरहेका थिए।
उचाइ बढ्दै जाँदा मनोजको शरीरले पनि प्रतिक्रिया जनाउन थाल्यो। सुरूमा उनको टाउको दुख्यो। सास फेर्न पनि गाह्रो हुँदै गयो। गाडी जति माथि उक्लिन्थ्यो, उनको बेचैनी त्यति बढ्थ्यो।
लेते पुग्दा अवस्था गम्भीर भइसकेको थियो। स्वास्थ्य चौकीमा जाँच गर्दा शरीरमा अक्सिजनको मात्रा एकाएक घटेको देखियो। केहीबेरमै उनी बेहोस भए।
दस दिनअघि सकुशल मुक्तिनाथ पुगेर फर्किएका मनोज दोस्रो पटक जोमसोम पनि पुग्न सकेनन्।


लेतेबाट उनलाई अक्सिजनसहित एम्बुलेन्समा राखेर बेनी पठाइयो। बेनी अस्पतालले थप उपचार सम्भव नभएको भन्दै पोखरा रिफर गर्यो।
मनोजलाई लिएर एम्बुलेन्स पोखरातर्फ दौडिरहँदा उनका परिवार र साथीहरूको गाडी पनि एम्बुलेन्सलाई पछ्याइरहेको थियो।
'लेतेबाट बेनी रिफर गरियो,' उनले भने, 'बेनीले पनि सम्भव भएन भनेपछि पोखरा पठायो।'
पोखराको मणिपाल शिक्षण अस्पतालमा उनले ५ दिन बिताउनुपर्यो। तीन दिन त उनी आइसियूमा बसे। मुस्ताङको यात्रामा निस्किएका उनी होस खुल्दा अस्पतालको बेडमा थिए।
मनोजको कथा उच्च हिमाली तथा पहाडी भेगमा जाने धेरै पर्यटकका लागि साझा बनेको छ। मुक्तिनाथ जाने बाटोमा हरेक वर्ष सयौं पर्यटक उचाइका कारण बिरामी पर्छन्। कतिपय बाटोबाटै फर्किन्छन्। कतिपय अस्पताल पुग्छन्। कोही भने घर फर्किन पाउँदैनन्।
जेठ २८ गते भारतको कानपुरबाट मुक्तिनाथ दर्शनका लागि आएका ७० वर्षीय जयकृष्ण गुप्ता मार्फा पुगेपछि श्वासप्रश्वासको समस्याले थलिए। एम्बुलेन्समा राखेर जिल्ला अस्पताल जोमसोम पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।
मुस्ताङ प्रहरीको तथ्यांकले हिमाली पर्यटनको अर्को पाटो देखाउँछ।
पछिल्ला पाँच वर्षमा मात्रै हाई–अल्टिच्युडसँग सम्बन्धित समस्याका कारण मुस्ताङमा ५९ जना पर्यटकको मृत्यु भएको छ। आर्थिक वर्ष २०७८/७९ मा ६ जनाको मृत्यु भएको थियो। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मात्र १४ जनाले ज्यान गुमाइसकेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मुस्ताङमा २ लाख २१ हजार ६७१ पर्यटक पुगेका छन्। तीमध्ये १ लाख ९३ हजार ८९४ जना सार्क राष्ट्रका नागरिक हुन्, जसमा ९७ प्रतिशत भारतीय रहेको एक्याप मुस्ताङका प्रमुख राजेश गुप्ताले बताए।
जेठ २६ गते मात्रै एकै दिन ३ हजार ८८० भारतीय पर्यटक मुस्ताङ प्रवेश गरेका थिए, जुन अहिलेसम्मकै उच्च संख्या हो।
मुस्ताङ पुग्ने पर्यटकको संख्या र मृत्युदर तीव्र गतिमा बढिरहे पनि मुक्तिनाथ पुग्ने मुख्य मार्गमा अझै पनि हाई–अल्टिच्युड उपचारका लागि विशेष स्वास्थ्य केन्द्र छैन।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व डिन डा. डेभिड श्रेष्ठका अनुसार अधिकांश पर्यटकले उचाइसँग सम्बन्धित जोखिमबारे पर्याप्त जानकारी नलिई यात्रा गरिरहेका छन्।

'उच्च हिमाली क्षेत्रमा यात्रा गर्नुअघि स्वास्थ्य जाँच गर्नुपर्छ,' उनले भने, 'एकै पटक धेरै माथि उक्लिने, पर्याप्त पानी नपिउने, धूमपान र मद्यपान गर्ने जस्ता कारणले जोखिम बढाउँछ।'
उनका अनुसार धेरै मृत्यु रोक्न सकिने प्रकृतिका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय सरकारसँग मिलेर मुक्तिनाथ, मनाङ र सिकलेसमा हाई–अल्टिच्युड उपचार केन्द्र स्थापना गर्ने योजना बनाएको थियो। तर बजेट अभावका कारण योजना कार्यान्वयन हुन सकेन।
'निर्णय भएको थियो, बजेट जुट्न नसक्दा कार्यान्वयन हुन सकेन,' उनले भने, 'सरकारले पर्यटकको चाप हुने मनाङ र मुस्ताङमा यो समस्या समाधान गर्न हाई–अल्टिच्युड ट्रिटमेन्ट सेन्टर खोल्नुपर्छ।'
पर्यटन व्यवसायीहरू पनि सरकारले पर्यटक ल्याउने अभियानमा जोड दिए पनि उनीहरूको स्वास्थ्य सुरक्षालाई बेवास्ता गरेको बताउँछन्।
होटल संघ पोखराका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल 'रमेश' का अनुसार मुक्तिनाथमा हाई अल्टिच्युड उपचार केन्द्र स्थापना गर्नुपर्ने माग व्यवसायीहरूले वर्षौंदेखि उठाउँदै आएका छन्।
'लाखौं पर्यटक पुग्ने ठाउँमा आधारभूत उपचार केन्द्र नहुनु गम्भीर विषय हो,' उनले भने, 'पर्यटकको जीवन रक्षा गर्न सरकारले संवेदनशील हुनुपर्छ।'
अहिले मुस्ताङ र पोखरामा भारतीय पर्यटकको चाप उल्लेखनीय बढेको छ।
वर्षौंअघि होटल संघ पोखराले भारतका विभिन्न सहरमा 'गर्मी से बेहाल, चलो नेपाल' अभियान सञ्चालन गरेको थियो। जसले पोखरा र मुक्तिनाथ मात्र होइन, पदमार्गहरूमा पनि भारतीय पर्यटकको चाप बढेको छ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले पनि भारतीय सहरहरूमा नियमित रूपमा पोखरा र गण्डकी प्रदेशको प्रवर्द्धन गर्दै आएको छ। भारतीय टुर अपरेटरहरूले पोखरा, मुक्तिनाथ र अन्नपूर्ण क्षेत्रलाई प्रमुख गन्तव्यका रूपमा बेचिरहेका छन्।
जेठ अन्तिम साता कलकत्तामा आयोजित 'पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६' मा सहभागी भारतीय पर्यटन व्यवसायीहरूले पोखरालाई दक्षिण एसियाको आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए। पछिल्ला वर्षहरूमा भारतीय पर्यटकको प्रमुख रोजाइ पोखरा, मुक्तिनाथ र अन्नपूर्ण क्षेत्र बन्दै गएको नाट्टा गण्डकीकी वरिष्ठ उपाध्यक्ष संगीता पौडेल बताउँछिन्।

पर्यटन व्यवसायीहरूको प्रवर्द्धन अभियानले पर्यटकको संख्या बढिरहेको छ।
जेठपछि 'अफ सिजन' लागेर सुनसान हुने पर्यटन क्षेत्र र पदमार्गहरूमा यतिबेला भारतीय पर्यटकको लहर चलेको छ। तर उनीहरूको स्वास्थ्य सुरक्षाको पूर्वाधार भने त्यही अनुपातमा बढेको छैन।
मनोज कुमारलाई अहिले पनि मुक्तिनाथ नपुगेको पीडा छ। उनीहरूको योजना केवल मुक्तिनाथ दर्शनमा सीमित थिएन। त्यहाँबाट फर्किएर घान्द्रुक जाने, गुरुङ संस्कृति हेर्ने, पोखरामा केही दिन बिताउने र पाल्पाको तानसेन हुँदै सुनौली फर्किने योजना थियो।
तर त्यो यात्रा लेतेमै रोकियो।
'यस्तो ठाउँमा बच्चाहरूलाई पनि लिएर जाऔं, धर्म पनि हुन्छ, घुम्न पनि पाइन्छ भनेर गएका थियौं,' उनले भने, 'तर मुक्तिनाथ पुग्नै सकिएन।'
उनको गुनासो केवल आफ्नै अनुभवबारे होइन। उच्च हिमाली क्षेत्रमा एक दिनमा कति उचाइसम्म जान मिल्छ, कहाँ रोकिनुपर्छ, कसरी शरीरलाई अभ्यस्त गराउनुपर्छ भन्ने स्पष्ट प्रोटोकल सरकारले बनाउनुपर्ने उनको भनाइ छ।
मुक्तिनाथ जस्तो गन्तव्यमा अक्सिजन र औषधिसहितको स्वास्थ्य उपचार केन्द्र हुनुपर्ने उनी बताउँछन्।
'म बाँचेर फर्किएँ,' उनी भन्छन्, 'तर सबैको भाग्य मेरो जस्तो नहुन सक्छ।'
मनोजकुमार मुस्ताङमा बेहोस भएर फर्किँदा पनि सुनौलीको गर्मी घटेको छैन। मुस्ताङको चिसो हावाको झोँका सम्झिँदा अहिले पनि उनी आनन्दित हुन्छन्।
उनी फेरि मुक्तिनाथ घुम्न चाहन्छन्। परिवारलाई मुस्ताङ देखाउन चाहन्छन्।
अर्को पटक हिमालतर्फ लाग्दा मनोज पहाडका दृश्य र चिसो हावा महसुस गर्न मात्र होइन, सरकारले पर्यटक स्वास्थ्य सुरक्षा गरेको पनि देख्न चाहन्छन्।
