मुस्ताङको मुक्तिनाथ बजारमा एउटा पुरानो ढुंगामाटोको भवन देखिन्छ। काठका झ्याल, अगाडि र पछाडि माटोको छानोमाथि बरण्डा। समयले गाढा बनाएको काठको रङ।
भवनको प्रवेशद्वारमै लेखिएको छ, होटल बब मार्ले।
भित्र पस्नेबित्तिकै हिमाली तीर्थस्थलको अनुभूतिभन्दा पहिले जमैकाको रेगे संस्कृतिले स्वागत गर्छ। भित्ताभरि विश्वप्रसिद्ध गायक बब मार्लेका तस्बिर।
काठका टेबलमा पोतिएका रातो, पहेँलो र हरियो रङ। छेउमै रहेको 'रेगे फ्रिडम क्याफे' मा मधुरो आवाजमा बजिरहेको रेगे संगीत।
समुद्री सतहबाट झन्डै ३,८०० मिटर उचाइमा रहेको मुक्तिनाथ र क्यारिबियन टापू जमैकाबीच कुनै प्रत्यक्ष सम्बन्ध छैन। तर यही हिमाली बस्तीमा केही मानिसहरू विश्वस्त छन् कि एक समय बब मार्ले यहाँ आएका थिए।
'यहाँ बब मार्ले आएका थिए,' होटलका सञ्चालक ५० वर्षीय कर्मछिरिङ गुरूङ भन्छन्।
उनले बब मार्लेलाई देखेका छैनन्। उनले सुनाएको कथा उनका बुबा रिन्चेन छिरिङ गुरूङबाट आएको हो, जसले दशकौंअघि मुक्तिनाथमा यात्रुहरूलाई आफ्नै घरमा बास दिएर होटल व्यवसाय थालेका थिए।
त्यति बेला मुक्तिनाथ पुग्ने बाटो अहिले जस्तो थिएन। सडक थिएन। मनाङबाट थोराङ–ला पास गरेर झर्ने विदेशी पदयात्री र तीर्थयात्रीहरूका लागि गुरूङ परिवारको घर नै होटल थियो। एउटा कोठामा कहिलेकाहीँ १० जनासम्म सुत्थे।


'त्यति बेला को कहाँबाट आयो, को कस्तो मान्छे थियो भन्ने हिसाब राख्ने चलनै थिएन,' कर्मछिरिङ भन्छन्, 'बुबाले पछि क्यासेटमा बफेलो सोल्जर गीत सुन्नुभयो। अनि उहाँले भन्नुभयो, यो गीत गाउने मान्छे त यहाँ आएर गीत गाएको थियो।'
उनकी ७० वर्षीया आमा पेम्पा गुरूङलाई पनि त्यस्तै सम्झना छ। कपाल पालेर जटा जस्तो बनाएका विदेशी युवक मुक्तिनाथको यही होटलमा बसेर बफेलो सोल्जर गीत गाएका उनको स्मृति छ।
'पछि क्यासेट सुन्दा त्यही स्वर जस्तो लाग्यो,' उनी भन्छिन्, 'त्यसपछि हामीले त्यो मान्छे बब मार्ले रहेछ भन्ने विश्वास गर्यौं।'
त्यो विश्वास पुष्टि गर्ने कुनै दस्तावेज छैन। बब मार्लेका जीवनीकारहरूले उनलाई भारतसम्म पुगेको उल्लेख गरेका छन्, तर नेपाल आएको प्रमाणित अभिलेख भेटिँदैन। त्यसैले मुक्तिनाथको यो कथा इतिहासभन्दा बढी स्थानीयको विश्वासको कथा हो।
मुक्तिनाथको सबभन्दा पुरानो होटलको नाम नै यही विश्वासले बब मार्ले राखिएको थियो। त्यसपछि भित्रका भित्ताहरूमा बब मार्लेका फोटाहरू राखिए। क्याफे जन्मियो। र, हिमालयको काखमा एउटा सानो जमैका बन्यो।
त्यसअघि होटलको नाम नै राखिएको थिएन।
होटल आफै पनि एउटा जीवित संग्रहालय जस्तो छ। करिब ३५ वर्ष पुरानो संरचनामा ढुंगा, माटो र काठ अत्यधिक प्रयोग गरिएको छ। बाहिरबाट हेर्दा मुस्ताङको परम्परागत वास्तुकलाको नमूना देखिन्छ। भित्र सिमेन्टको उपस्थिति छैन।
होटलको पछाडि रहेको पुरानो घरको छानो अझै माटोले छाइएको छ। त्यही छानोमा राखिएका टेबल–कुर्सीमा बसेर पर्यटकहरू बिहानको पहिलो कफी पिउँछन्। पूर्वबाट घाम उदाउँदा नीलगिरि हिमाल सुनौलो हुँदै जान्छ। केही बेरपछि रेगे फ्रिडम क्याफेबाट कफी आइपुग्छ।


कर्मछिरिङका लागि होटल केवल व्यवसाय होइन, यो मुक्तिनाथको हराउँदै गएको पहिचान जोगाउने प्रयास पनि हो।
'अरूले पुराना घर भत्काएर आरसिसी (पक्की) बनाए,' उनी भन्छन्, 'हामीले पुरानो घर पनि जोगायौं। विदेशीहरू यस्ता घर देखेर खुसी हुन्छन्।'
मुक्तिनाथ बिस्तारै हिमाली बस्तीभन्दा कंक्रिटको बजार बनेकोमा कर्मछिरिङलाई चिन्ता छ। पक्की भवनहरूले स्थानीय परम्परागत वास्तुकला हराउँदै गएको छ। सडक विस्तारले पुरानो पदमार्ग मेटिसकेको छ।
'सहरमा बन्ने घरहरू पहाडमा पनि बन्न थाले,' उनी भन्छन्, 'केही दशकपछि यस्ता पुराना घर हेर्न पनि मानिसहरू टाढाबाट आउनेछन्।'
हरेक वर्ष फेब्रुअरी ६ गते बब मार्लेको जन्मदिन आउँछ। होटलमा एउटा सानो उत्सव हुन्छ। त्यो समय अफ सिजन भएकाले पर्यटकको भीड हुँदैन। होटल परिवारले पाहुनासँग मिलेर बब मार्लेको जन्मदिन मनाउँछन्।
'बब मार्ले मन नपर्ने मान्छे संसारमा भेट्न गाह्रो छ,' उनी भन्छन्, 'उहाँ यहाँ आउनुभएको थियो कि थिएन भन्ने प्रमाणित गर्न सक्दैनौं, तर हामीलाई विश्वास छ।'
बब मार्ले मुक्तिनाथ आएका थिए भन्ने विश्वास कर्मछिरिङको परिवारका लागि इतिहासभन्दा बलियो छ।
