नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ— नेपाल ओइरिने भारतीय पर्यटकको संख्या खासगरी अगस्ट २६ (भदौ १०) को भोटेकोशी–त्रिशूली कहर र त्यसपछिका बाढीपहिरोका खबरबीच स्वात्तै घट्न थालेको छ।
बोर्डका अनुसार गएको सेप्टेम्बरमा अमेरिका, युरोप र अन्यत्रबाट नेपाल आउने पर्यटकको संख्या सन्तोषजनक रहे पनि खुला सीमा रहेको भारतबाट मुस्किलले २३ हजार भारतीय पर्यटक नेपाल आएका थिए।
भारतीय पर्यटकको हकमा त्यो संख्या वर्षकै सबैभन्दा कम हो। त्यसको अर्थ त्रिशूली कहरपछि नेपाल तीर्थयात्रा र पर्यटनका लागि सुरक्षित छ भन्ने सन्देश अझै भारतीय बजारमा पुग्न सकेको छैन।
आकस्मिक बाढीको कहर र त्रास सकिएपछि नेपालका हिमाल र पहाड मात्र होइन, यहाँका गाउँसहर र यत्रतत्र छरिएका मन्दिर तथा धामहरू सुरक्षित छन् भन्ने सन्देश अझै भारतमा पुग्न सकेको छैन।
त्यसको ठीक विपरीत घुमफिर, पर्यटन, अध्ययन वा रोजगारीका लागि भारत र अन्य देश जाने नेपालीहरूको भिडलाई हालैको विपदले पनि छेकेको देखिँदैन। त्यो हेर्न त्रिभुवन विमानस्थल गए पुग्छ। वा, पश्चिमदेखि दक्षिण र पूर्वका कुनै नेपाल–भारत सीमा नाका हेरे पुग्छ।
दसैं–तिहारको छुट्टीको सदुपयोग
कैंची धाम यात्रामा जाने अधिकांश नेपाली पर्यटकले नजिकै रहेको नैनीताल क्षेत्र घुम्न छुटाउँदैनन्। तस्बिर: सुरेन्द्र फुयाल
दसैंलगत्तै महाकाली सीमा पार गरेर भारतको उत्तराखण्डस्थित नैनीताल र नजिकैको प्रसिद्ध कैंची धामको यात्राका क्रममा हामीले त्यस्तै दृश्य देख्यौं।
कञ्चनपुरको गड्डाचौकी नाकामा एकातिर रोजगारीका लागि नेपाल–भारत आउजाउ गर्ने नेपालीका समूह थिए भने अर्कोतिर दसैं मानेर घुमफिर वा दर्शनका लागि महाकालीपारिको उत्तराखण्डका विभिन्न धाम जाने नेपाली तीर्थयात्रीका जत्था।
'देवभूमि' उपमा दिइएको उत्तराखण्ड आफैमा पनि धेरै भारतीय हिन्दु पर्यटकको पहिलो रोजाइ हो। हरिद्वार र ऋषिकेशदेखि गंगोत्री एवम् चारधाम रहेका उत्तराखण्डमा सन् २०२५ मा ६ करोड ३० लाख आन्तरिक र बाह्य पर्यटक भित्रिएका थिए। त्यो आफैमा नयाँ कीर्तिमान बन्यो।
हालै प्रदर्शित भारतीय चलचित्र 'हनुमान अंश' को प्रभाव हुन सक्छ— महाकाली पार गरिरहेका धेरै नेपालीको रोजाइ चाहिँ पश्चिमी सीमाबाट १७० किलोमिटर उत्तरपश्चिम पहाडमा रहेको कैंची धाम आश्रम थियो।
धेरै भारतीय हिन्दुले हनुमानको अवतार ठान्ने गरेका भारतीय सन्त नीम करोली बाबा (सन् २०००–१९७३) ले त्यो आश्रम सन् १९६४ मा बनाएको बताइन्छ।
नैनीताल–अल्मोडा राजमार्गनजिकै कोसी नाम गरेको खोलाको किनारमा हिन्दीमा 'कैंची' भनिने घुमाउरा घुम्तीबीच रहेकाले त्यसलाई कैंची धाम भनिएको रहेछ।
झन्डै नगरकोटको डाँडा बराबरको उचाइ (१,९०० मिटर) मा रहेको नैनीतालको तामझाम हेरेर २४ किलोमिटर उत्तरपूर्वको शान्त खोँचमा रहेको कैंची धाम पुग्दा त्यहाँको भूगोलले काठमाडौंकै ओशो तपोवनको केही झल्को दियो।
तर कोसी खोलाको किनारमा रहेको आश्रम र सँगै रहेका मन्दिर निकै सरल देखिए।
बिहानै आश्रम दर्शन गर्न जानेको भिडमा सुदूरपश्चिमदेखि काठमाडौं र चितवनका नेपाली पनि भेटिए। केही साताअघिसम्म नेपालमा समेत चलिरहेको चर्चित भारतीय चलचित्र 'हनुमान अंश' मैले हेरेको थिइनँ। न त मलाई नीम करोली बाबाको जीवन र उपदेशबारे नै कुनै ज्ञान थियो।
सन् १९७३ मा समाधिस्थ हुनुअघिसम्म नीम करोली बाबा कैंची धामको यही शान्त आश्रममा न्यानो कम्बल ओढेर बसिरहेका वा ढल्किरहेका भेटिन्थे रे। उनको करूणाभावयुक्त हेराइ र मुस्कानबाटै उनका भक्तहरूलाई सुखानुभूति र शान्ति मिल्थ्यो रे।
आश्रमको भवनको पिँढीमा तिनै बाबाको तस्बिर झुन्ड्याइएको थियो। मुनितिर उनी बस्ने खटिया र आसन थिए।
हनुमान मन्दिरअगाडि बनाइएको बाबाको आश्रम दर्शन गरेपछि प्रायः समाचारका हेडलाइन र छोटकरी पढ्न अभ्यस्त मलाई उनको जीवन र दर्शनबारे अध्ययन गर्न घचघच्यायो।
अनि थाहा भयो, 'हनुमान अंश' चलचित्र बन्नुभन्दा धेरैअघि नै नीम करोली बाबा र उनले समय बिताएको कैंची धामले विश्वको ध्यान तानिसकेको रहेछ।
हार्वर्डका प्रोफेसरदेखि स्टिभ जब्ससम्म…
त्यो धाममा विश्वप्रसिद्ध अमेरिकी कम्प्युटर तथा आइफोन निर्माता कम्पनी एप्पलका संस्थापक स्टिभ जब्स, फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गदेखि अभिनेत्री जुलिया रोबर्ट्स, गुगलका सहसंस्थापक ल्यारी पेज, अभिनेत्री अनुष्का शर्मा तथा क्रिकेटर विराट कोहली लगायत कैयौं चर्चित व्यक्ति आइसकेका रहेछन्।
त्यो धाम आएर उनीहरूले सादा जीवन व्यतीत गर्न, सबैलाई करूणा तथा दयाभाव देखाउन र ईश्वरप्रति आस्था राख्ने प्रेरणा लिइसकेका रहेछन्।
मिडियम अनलाइनमा प्रकाशित एक लेख अनुसार स्टिभ जब्स हार्वर्ड विश्वविद्यालयका मनोविज्ञान विषयका प्रोफेसर रिचर्ड अल्पर्टको सन् १९७१ मा प्रकाशित पुस्तक 'बि हियर नाउ' पढेपछि यहाँ आएका रहेछन्।
नीम करोली बाबाको आध्यात्मिक ज्ञानबाट अत्यन्त प्रभावित भएपछि प्रोफेसर अल्पर्टले आफ्नो नाम र भेष नै बदलेर उनैका शिष्य राम दास बनेका थिए। उनको पुस्तकले मानसिक सजगता (माइन्डफुलनेस) का साथै पूर्वीय दर्शनले जोड दिने आध्यात्मिक जागृतिमा जोड दिन्छ। त्यसले वर्तमानलाई सर्वोपरि मान्दै वर्तमानमा बाँच्न प्रेरणा दिन्छ।
प्रोफेसर अल्पर्ट आखिर किन राम दास बने त?
भएछ यस्तो— सन् १९६७ मा उनले नीम करोली बाबालाई भेटेर एक लागुपदार्थ खुवाई एक वैज्ञानिक परीक्षण गर्न चाहेछन्। त्यो सेवनपछि मानव मस्तिष्कको सजगताको दायरा निकै फराकिलो हुन्छ र इन्द्रीयहरूले कल्पनाभन्दा बाहिरका अनुभव बटुल्न थाल्छन्।
अल्पर्टले लागुपदार्थको सानो मात्रा दिएका थिए, तर बाबाले अलि धेरै नै खाइदिएछन्।
त्यस्तो लागुपदार्थ खाएर पनि बाबाको शरीर, स्वभाव र सजगतामा कुनै फेरबदल नआएको पाएपछि अल्पर्ट आश्चर्यचकित भएछन्। कारण सोध्दा बाबाले मुस्कुराउँदै आफूभित्र करूणा तथा दृढ भक्तिभाव भएकाले लागुपदार्थको केही असर नभएको बताएछन्।
नीम करोली बाबालाई लागुपदार्थले नछोएको त्यो घटनाले अल्पर्टको जीवन नै बदलिदिएछ। त्यसपछि उनी बाबाका भक्त मात्र बनेनन्, राम दास बनेर ध्यानको नयाँ यात्रा थालेछन्।
अल्पर्टले बाबासँगको सत्संगपछि लेखेको पुस्तक 'बि हियर नाउ' ले नीम करोली महाराज र पूर्वीय दर्शनका विशेषतालाई पूरै भारतसँगै विश्वभर चिनाउन सहयोग गरेको विश्वास गरिन्छ।
नीम करोली बाबाका चमत्कार!
सन् १९०० मा उत्तर प्रदेशको ब्राह्मण परिवारमा जन्मिएका लक्ष्मण नारायण शर्माले सन् १९७३ मा समाधि लिएका थिए। साधारण सन्तको जीवन व्यतीत गरे पनि उनी हनुमानको अवतार रहेको उनका भक्तहरूको विश्वास छ। तस्बिर: सुरेन्द्र फुयाल
उत्तर प्रदेशको फिरोजाबाद जिल्लाको अकबरपुरमा सन् १९०० तिर जन्मिएका बाबाको नाम लक्ष्मण नारायण शर्मा राखिएको थियो। तर सानैमा आमाको देहावसानपछि घर छोडी सत्य र ईश्वरको खोजीमा संन्यासी जीवन बिताउन हिँडेपछि उनलाई पछि भक्तहरूले महाराजजी भन्न थालेछन्।
१७ वर्षको उमेरमा उनले धेरै ज्ञान प्राप्त गरिसकेको र कतिपय भक्तले उनलाई हनुमानको अवतार मान्न थालेको बताइन्छ।
उनको उपस्थितिपछि 'चमत्कार' हुने भन्दै मानिसहरूले उनलाई विभिन्न उपमा दिन थाले।
सबैभन्दा चाखलाग्दो घटना फारूखाबादनजिकै पर्ने नीब करोरी भन्ने स्थानसँग जोडिएको छ। घटना ठ्याक्कै कहिलेको हो, स्पष्ट छैन। स्वतन्त्र रूपमा पुष्टि नभएको त्यो विवरण अनुसार उनी उत्तर भारतमा टिकटबिना रेल यात्रा गर्दै थिए। तर टिकट कलेक्टरले उनलाई नीब करोरी भन्ने स्थानमा उतारिदिएछन्।
त्यसपछि जति इन्जिन चलाए पनि त्यो रेलगाडी डेग चलेन। त्यो क्रम निकै बेर चल्यो। एक यात्रुले रेलबाट निकालिएका सन्तलाई रेलमा ल्याउने सुझाव कर्मचारीलाई दिएपछि तिनले त्यसै गरेछन्। त्यसपछि अचानक कुनै चमत्कार भएझैं रेलको इन्जिन चल्यो रे!
त्यसपछि बाबाको इच्छाबारे कर्मचारीले सोध्दा उनले त्यस स्थानमा स्टेसन बनाउने र साधुसन्तलाई रेलमा सम्मान गर्नुपर्ने सुझाव दिएको बताइन्छ।
बाबाका धेरै चमत्कारका कथामध्ये अर्कोले यसो भन्छ— एक पटक इलाहाबादमा गंगा नदीमा ठूलो बाढी आएर धनजनको क्षति हुने जोखिम बढेपछि बाबाले एक अञ्जुली पानी पिएर प्रार्थना गरेछन्। त्यसपछि बाढीको पानी घट्न सुरू गरेछ।
नीम करोली बाबाले छोएरै गम्भीर बिरामी निको पारेका तथा एकै समयमा दुई स्थानमा देखा पर्ने गरेका कथा विवरण पनि त्यत्तिकै रोचक छन्। त्यत्तिकै चाखलाग्दा छन्, बाबाले भण्डारा भोज आयोजना गर्दा खानेकुरा र प्रसादका भण्डार कहिल्यै नरित्तिएका विवरण।
संयोग नै हुनुपर्छ, तिनै बाबाको जीवनमा आधारित भनेर हालै निर्माण गरिएको भारतीय चलचित्र 'हनुमान अंश' ले आफ्नो लगानीभन्दा कैयौं गुणा बढी आम्दानी गरी ठूलो सफलता हासिल गरेको छ।
उत्तर प्रदेशका मुस्लिम लगायत सबै धर्मका मानिससँग सद्व्यवहार गर्ने बाबाले सबै धर्म एकै भएको भन्दै सबैको मन जित्ने गरेका कथाहरू धेरै रहेछन्। उनले भारत भ्रमण गरेका सबै स्थानमा उनको प्रत्यक्ष वा परोक्ष सहभागितामा कैंची धामको हनुमान मन्दिरसहित १०८ वटा हनुमान मन्दिर बनेको विश्वास छ।
उत्तराखण्डको कुमाउँ क्षेत्रमा रहेको कैंची धाम आश्रममा बाह्रै महिना भारतीय र अन्य देशका तीर्थयात्री तथा पर्यटकहरूको घुइँचो लाग्छ। तस्बिर: सुरेन्द्र फुयाल
उनले सन् १९७३ सेप्टेम्बर ११ मा वृन्दावनमा देहत्याग गरेर समाधि लिएका थिए। तथापि कैयौं भक्तहरू उनको स्वरूप विभिन्न स्थानमा बेलाबखत प्रकट भएर संकटमा परेका मानिसलाई बचाउन सहयोग गरेको विश्वास गर्छन्।
यसरी लाखौं मानिसलाई प्रभावित तुल्याउने नीम करोली बाबाको आध्यात्मिक ज्ञान के थियो त?
त्यो निकै सरल थियो। उनको सन्देश यी शब्दमा समेटिएका छन्— सबैलाई प्रेम गर, सबैको सेवा गर, सबैलाई खुवाऊ र ईश्वरलाई सम्झिराख।
संयोग नै मान्नुपर्छ, महाकाली नदीपूर्वको नेपाली भूभाग तिनै बाबाले स्थापना गरेको कैंची धामदेखि २०० किलोमिटरभन्दा कम दूरीबाट सुरू हुन थाल्छ। जहाँको सुदूरपश्चिम प्रदेश पौराणिक मानस क्षेत्रअन्तर्गत पर्छ, जुन उत्तराखण्डसम्म फैलिएको बताइन्छ।
महाकाली र सेती नदीको सेरोफेरो, परशुराम धामदेखि खप्तड क्षेत्र अनि बडिमालिकादेखि रामारोशन लगायत प्रशस्तै सनातनी धाम तथा कुण्डहरू अझै पनि धार्मिक पर्यटक तथा तीर्थयात्रीका साथै सौन्दर्य तथा प्रकृतिप्रेमीको प्रतीक्षामा रहेका देखिन्छन्।
विज्ञहरू भन्छन्— पर्याप्त प्रचारप्रसार तथा यात्रा बन्दोबस्त हुन सके उत्तराखण्ड आउने पर्यटकको भिड सहजै नेपाल भित्रिएर यहाँका शान्त पहाड तथा उपत्यकामा रमाउन सक्छन्।
यो पनि पढ्नुहोस्: खप्तडलाई माया गर्नेहरूको कथा