तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ।
चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आगमन बढेको हो। पर्यटकको चाप बढेपछि यहाँका होटल तथा घरबास भरिभराउ भएका छन्।
पर्यटकको आगमन बढेसँगै बन्दीपुर बजारमा चहलपहल पनि बढेको छ।
होटलमा कोठा पाउन मुस्किल हुन थालेको छ भने बास नपाएर केही पर्यटक फर्किनुपर्ने अवस्था आएको छ।
बन्दीपुरमा कोठा नपाएपछि कतिपय पर्यटक नजिकैको डुम्रे बजारसम्म पुग्नुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन्।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष राजु बानियाँका अनुसार अहिले बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु छ। होटल तथा घरबास भरिभराउ हुँदा पर्यटक व्यवस्थापन गर्न पनि कठिन भएको उनले बताए।
उनका अनुसार चाडपर्वका कारण लामो बिदा हुनु र पर्यटकीय याम सुरु हुनुले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको हो। बन्दीपुरमा बास बस्न चाहने सबै पर्यटकलाई कोठा उपलब्ध गराउन नसकिएको उनले बताए।
बन्दीपुरका होटल तथा होमस्टेमा गरी करिब एक हजार ४०० जनालाई बास बसाउने क्षमता छ। यहाँ करिब ८० वटा होटल र चारवटा होमस्टे सञ्चालनमा छन्।
तर, पानीको समस्याका कारण होटलले आफ्नो पूर्ण क्षमताअनुसार पर्यटक राख्न नसकेको अध्यक्ष बानियाँले बताए। पानीको अभावले होटल सञ्चालन र पर्यटक व्यवस्थापनमा असर पारेको उनको भनाइ छ।
पर्यटकको चाप बढे पनि बासको व्यवस्था गर्न नसक्दा केही पर्यटक बन्दीपुरमै बस्न नपाई फर्किनुपर्ने अवस्था पर्यटन व्यवसायका लागि चुनौती बनेको उनले बताए। होटल तथा होमस्टेको क्षमता र पूर्वाधार थप व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
होटल व्यवसायी वैशबहादुर गुरुङले चाडपर्वको बिदाका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको बताए। बिदाको समय घुमफिरका लागि उपयुक्त हुने भएकाले परिवार र साथीभाइसँग आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ।
पर्यटकको चापले होटल व्यवसायमा उत्साह थपे पनि सबैलाई कोठा उपलब्ध गराउन कठिन भएको उनले बताए।
बन्दीपुर प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक बजार र हिमशृङ्खलाको दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै आएको छ।
विशेषगरी बिदाका बेला परिवारसहित घुम्न आउने आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ। विदेशी पर्यटक पनि यहाँको पुरानो बजार, स्थानीय जीवनशैली र प्राकृतिक वातावरणको अनुभव लिन पुग्ने गरेका छन्। पर्यटकको आगमनले होटल, रेस्टुरेन्ट, होमस्टे तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाएको छ।
खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणि मुकुन्दसेन पैदलमार्ग (मिनी ग्रेटवाल), तीनधारा, झरना, पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार र पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ।
भक्तपुरे शैलीमा बनेका घर, टुँडिखेल, थानीमाई मन्दिर, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी र विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर तथा सूचना केन्द्र पनि पर्यटकका आकर्षण हुन्।