शुक्रबार अमेरिकाका विमानस्थलहरूमा यात्रुहरूको भीड थियो।
कोही आफ्नो गन्तव्यतर्फ उड्न विमान कुरिरहेका थिए, कोही उडानको समय पर्खिरहेका थिए।
तर एकाएक हवाई उडानहरू प्रभावित हुन थाले।
विमानस्थलका सूचना पाटीमा उडान ढिलाइ र रद्द भएका खबर थपिँदै गए। यात्रुहरू अन्योलमा परे।
कतिपयले विमानस्थलमै रात बिताउनुपर्ने अवस्था आयो।
कारण थियो– अमेरिकी हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्या।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकामा एकै दिन करिब ४ हजार ७ सय उडान रद्द भएका हुन्।
त्यस्तै १० हजारभन्दा बढी उडान ढिला भए। यसले हजारौं यात्रु आफ्नो गन्तव्यमा पुग्न पाएनन्।
समस्या यतिसम्म गम्भीर बन्यो कि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले देशभरका विमानस्थलबाट हुने उडान नै रोक्नुपर्यो।
सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि अमेरिकामा देशव्यापी रूपमा सबै उडान रोकिएको यो दोस्रो घटना हो।
अमेरिकी यातायातमन्त्री सिन डफीका अनुसार शुक्रबार दिउँसो ३ बजेर ३६ मिनेटमा हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा समस्या देखिएको थियो।
रडार र सञ्चार प्रणाली अस्थिर भएपछि उडान रोक्ने निर्णय गरिएको थियो।
समस्या के थियो?
डफीका अनुसार हवाई ट्राफिक नियन्त्रण प्रणालीमा सूचना प्रवाह गर्ने स्विच र राउटरमा अत्यधिक भार परेको थियो।
त्यसले आवश्यक सूचना असंगत रूपमा प्रवाह हुन थालेपछि उडान सञ्चालन जोखिमपूर्ण बनेको थियो।
तीन स्रोतलाई उद्धृत गर्दै सार्वजनिक भएको विवरणअनुसार समस्या रक्षा तथा प्रविधि कम्पनी एलथ्रीह्यारिसले सञ्चालन गर्दै आएको दूरसञ्चार सञ्जालसँग पनि जोडिएको थियो।
उक्त सञ्जालले हवाई ट्राफिक नियन्त्रणका लागि आवश्यक रेडियो फ्रिक्वेन्सी व्यवस्थापन गर्छ।
यद्यपि, अमेरिकी अधिकारीहरूले यसलाई साइबर आक्रमणको परिणाम मानेका छैनन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प र होमल्यान्ड सेक्युरिटीमन्त्री मार्कवेन मुलिनले अहिलेसम्म साइबर आक्रमण भएको कुनै प्रमाण नभेटिएको बताएका छन्।
कृत्रिम बुद्धिमत्तामा आधारित अनियन्त्रित प्रणालीका कारण पनि समस्या नआएको उनीहरूको भनाइ छ।
चार घण्टाभन्दा बढी समयपछि शुक्रबार राति ८ बजेर १५ मिनेटमा अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आयो।
तर उडान सेवा तत्काल सामान्य अवस्थामा फर्किएन। यातायातमन्त्री डफीले सबै उडान नियमित हुन केही दिन लाग्न सक्ने बताएका छन्।
उडान रद्द हुँदा यात्रुहरूले भोगेको सास्तीका केही दृश्य विमानस्थलमा देखिए।
पेन्सिल्भेनियाका ५० वर्षीय एडवर्ड कार्ग्बो न्युजर्सीको नेवार्कबाट इथियोपियन एयरलाइन्सको विमान चढेर टोगोको लोमे जाने तयारीमा थिए।
उनको उडान शुक्रबार राति ९ बजेका लागि तय थियो। तर उडान रद्द भएपछि उनी विमानस्थलमै रात बिताउन बाध्य भए। उनको नयाँ उडान शनिबार बिहान ६ बजेका लागि तय भएको थियो।
‘म आज राति यहीँ बिताउनुपर्ने भयो। म अलपत्र परेको छु,’ उनले भने।
त्यस्तै, अवकाशप्राप्त शिक्षिका क्याथी आइजर्मन-बोरमको यात्रा पनि सहज भएन। मौसम खराबीका कारण बिहीबार उनको उडान रद्द भएको थियो।
शुक्रबार देशव्यापी उडान अवरोधका कारण दोस्रो पटक उडान रद्द भयो। होटल खोज्नसमेत समस्या भएपछि उनले गाडी भाडामा लिएर फ्लोरिडास्थित आफ्नो घर फोर्ट मायर्स फर्कने निर्णय गरिन्। त्यहाँ पुग्न उनलाई सडकमार्गबाट करिब २० घण्टा लाग्ने थियो।
‘हामीले अब गाडी चलाएरै जाने निर्णय गर्यौं,’ उनले भनिन्।
यस घटनाले अमेरिकी हवाई सेवा प्रणालीको अर्को कमजोरी पनि उजागर गरेको भनेर रोयटर्सले लेखेको छ।
पुरानो प्रविधि, सञ्चार प्रणालीमा बारम्बार देखिने समस्या र आवश्यक संख्यामा हवाई ट्राफिक नियन्त्रक नहुँदा प्रणालीमाथि दबाब बढ्दै गएको छ।
अमेरिकामा हजारौं हवाई ट्राफिक नियन्त्रकको अभाव रहेको बताइएको छ।
यही कारण यातायातमन्त्री डफीले हवाई ट्राफिक नियन्त्रण प्रणालीको व्यापक स्तरोन्नति गर्नुपर्ने बताएका छन्।
त्यसका लागि उनले ५० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन्।
यसअघि ह्वाइट हाउस र यातायात मन्त्रालयले संसद्सँग ३० अर्ब १० करोड डलर माग गरेका थिए।
अमेरिकामा यसअघि सन् २०२३ जनवरीमा पनि प्राविधिक समस्याका कारण एफएएले घरेलु उडान करिब ९० मिनेट रोकेको थियो। तर यसपटकको अवरोध त्यसको तुलनामा निकै ठूलो देखिएको छ।
शुक्रबारको समस्या समाधान भएर उडान पुनः सुरु भए पनि त्यसको असर शनिबारसम्म देखिएको थियो।
फ्लाइटराडार२४ का अनुसार शनिबारका लागि समेत करिब ७ सय उडान रद्द भइसकेका थिए। अमेरिकी विमान कम्पनीहरूको सेयर मूल्यसमेत घटेको थियो। अमेरिकन, युनाइटेड र डेल्टा एयरलाइन्सको सेयर १ देखि २ प्रतिशतसम्म घट्दा जेटब्लुको करिब ३ प्रतिशतले गिरावट आएको थियो।
हवाई क्षेत्र खुलिसकेको थियो, तर हजारौं यात्रुको यात्रा अझै सहज भएको थिएन। विमानस्थलमा रोकिएका यात्रुका लागि आकाश खुले पनि गन्तव्यसम्म पुग्ने बाटो भने तत्काल खुलेको थिएन।