अमेरिकामा हवाई उडान अवरुद्ध भएको समस्या लगातार तेस्रो दिन पनि दोहोरिएको छ।
स्थानीय मितिअनुसार आइतबार मात्रै २ हजार ३०० भन्दा बढी उडान रद्द भए भने करिब ७ हजार ७०० उडान ढिला भए।
यसरी लगातार तेस्रो दिन १० हजार बढी उडान प्रभावित भएको हवाई उडानसम्बन्धी तथ्यांक राख्ने वेबसाइट फ्लाइटअवेयरले जनाएको छ।
शुक्रबार अमेरिकी हवाई यातायात प्रणालीमा समस्या आएपछि संघीय उड्डयन प्रशासन (एफएए) ले देशभरका विमानस्थलबाट उडान रोक्न निर्देशन दिएको थियो।
त्यस दिन करिब पाँच घन्टासम्म अधिकांश विमान उड्न पाएनन्।
सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकामा हवाई उडान रोकिएको यो सबैभन्दा लामो घटना थियो।
समस्या आइतबारसम्म पनि समाधान नभएपछि विमान कम्पनीहरूले उडान तालिका मिलाउन संघर्ष गरिरहेका छन्।
शनिबार मात्रै ६ हजार ४०० भन्दा बढी उडान रद्द भएका थिए भने ८ हजारभन्दा बढी ढिला भएका थिए।
एउटा राउटरको समस्याले देशभर असर
समस्या हवाई यातायात नियन्त्रणका लागि प्रयोग हुने सञ्चार उपकरणमा आएको गडबडीबाट सुरु भएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
अमेरिकाका यातायातमन्त्री सन डफीका अनुसार अर्कान्सासको एल डोराडोस्थित एफएए कार्यालयमा एउटा राउटर फेरेपछि टेक्सासको अमारिलोमा रहेको अर्को राउटरमा समस्या देखिएको थियो।
त्यसले देशभरका अन्य हवाई यातायात नियन्त्रण केन्द्रमा एकैपटक अत्यधिक तथ्यांक पठाउन थाल्यो। यसबाट सञ्चार प्रणालीमा चाप पर्यो र विमानको आवागमन व्यवस्थापन प्रभावित भयो।
राउटर भनेको विभिन्न कम्प्युटर र सञ्चार प्रणालीबीच सूचना आदानप्रदान गराउने उपकरण हो। विमानस्थल, राडार र हवाई यातायात नियन्त्रण केन्द्रबीच सूचना प्रवाह गर्न पनि यस्ता उपकरण प्रयोग हुन्छन्।
एफएएले समस्या उत्पन्न गराउने राउटरहरूको काम बन्द गरेको छ। त्यस्तै प्रकृतिका अन्य करिब ६० वटा राउटर पनि निष्क्रिय पारिएको छ।
तर उपकरण फेर्ने काम हजारौँपटक गर्दा समस्या नआएको अवस्थामा यसपटक किन गडबडी भयो भन्ने कारण अझै पत्ता लागेको छैन।
यातायातमन्त्री डफीले साइबर आक्रमण वा कसैले नियतवश प्रणाली बिगारेको प्रमाण नभेटिएको बताएका छन्। राउटर जडान गर्ने कर्मचारी अमेरिकी सेनाका पूर्वसैनिक रहेको र उनले तोडफोड गरेको आशंका नरहेको पनि उनले बताए।
‘तर वास्तविक कारण के हो भन्ने हामीलाई अझै थाहा छैन,’ उनले भने।
अनुसन्धानसँग परिचित दुई व्यक्तिका अनुसार राउटर जडान गर्ने काममा कुनै समस्या देखिएको थिएन। एफएएका कर्मचारीको निगरानीमा काम सम्पन्न भएको थियो। तर जडानको काम पूरा भएर सेवा पुनः एफएएको जिम्मामा आएपछि मात्रै समस्या सुरु भएको थियो।
पुरानो प्रविधि र कर्मचारी अभाव
यो घटनाले अमेरिकाको हवाई यातायात नियन्त्रण प्रणालीमा रहेको पुरानो प्रविधिको समस्या फेरि उजागर गरेको छ।
यातायातमन्त्री डफीका अनुसार समस्यामा परेका राउटर सन् २००१ मा खरिद गरिएका थिए। ती उपकरण सन् २००६ मै पुराना भइसकेका थिए।
अमेरिकाको हवाई यातायात प्रणालीमा उपकरण र सञ्चार प्रविधि पुरानो हुनुका साथै हजारौँ हवाई ट्राफिक नियन्त्रकको अभाव पनि छ। यसअघि पनि पुराना उपकरण र सञ्चार प्रणालीमा समस्या आउँदा उडान प्रभावित हुँदै आएका थिए।
डफीले हवाई यातायात नियन्त्रण प्रणाली स्तरोन्नतिका लागि ५० अर्ब डलर आवश्यक रहेको बताएका छन्। यसअघि उनले ३० अर्ब डलर मागेका थिए। गत वर्ष अमेरिकी संसद्ले यसका लागि १२ अर्ब ५० करोड डलर विनियोजन गरेको थियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आइतबार पहिलोपटक यस घटनाबारे सार्वजनिक टिप्पणी गर्दै थप बजेट दिन संसद्लाई आग्रह गरेका छन्।
‘हामीले काम सुरु गरिसकेका छौँ, तर यो काम टुक्राटुक्रामा होइन, एकैपटक पूरा गर्नुपर्छ। संसद्ले बजेट स्वीकृत गर्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
तर विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरूले भने यसअघि विनियोजन भएको बजेटमध्ये करिब ११ अर्ब डलर अझै खर्च हुन बाँकी रहेको भन्दै थप रकम माग्नुको औचित्यबारे प्रश्न गरेका छन्।
डफीले भने अघिल्लो बजेट निश्चित कामका लागि मात्रै छुट्याइएको र हवाई क्षेत्र व्यवस्थापन गर्ने नयाँ सफ्टवेयरका लागि रकम नपुगेको बताएका छन्।