कथा रोचक हुन्छन्। प्रेमकथा झनै रोचक। फिल्ममा देखाइने प्रेमकथा झन् मनमै गढ्ने। दुई प्रेमी, परिवारको बाधा! सुँक्क नगर्ने कमै हुन्छन्।
मेरो पनि एउटा कथा छ।
उबेलाको कुरा, ममा भर्खर जवानीका लालिमा भरिएका थिए। हावाको सुस्त स्पर्शले पनि काउकुति लाग्ने चञ्चल मन। चरीका चिरबिरसँग नाचूँ-गाऊँ लाग्ने। खोलाको बेगसँगै कहाँकहाँ जान मनलाग्ने। बादल भई नौडाँडा काट्न मनलाग्ने।
गाउँकी जमिनदारकी छोरी म। बुबाको हैकम एकदम चल्ने। स्कुलमा साथीहरू माझ त के गुरुहरू माझ पनि मप्रति डर भइरहन्थ्यो। पढाइ नराम्रो भयो भनेर हप्किदप्की गर्दा जमिनदार बुबालाई पोल लगाइदेली र रोजीरोटीमै आँच आउला भनेर डराउँथे।
मेराअघि कोही केटा ठाडो नजरले हेर्थेनन्। एकबाहेक, 'प्रेम'। ऊ मेरो मिल्ने साथी थियो, सानैदेखि। मैले जे भने पनि मान्ने, मेरा हरेक गल्ती सच्याइदिने।
म उसलाई एकदम सताउँथे। पढ्न आलु नै थिएँ, ऊ मिहिनेति थियो। उसको जीवनमा अभावैअभाव थियो। पढेर अघि बढ्छु भन्थ्यो।
मलाई अभाव थिएन, 'पढिलेखी के काम, हल्लियो, हिँड्यो, खायो माम'।
हुर्किँदो उमेरसँगै ममा प्रेमका वासना मगमगाउन थालेका थिए। कसैसँग पहिलो प्रेम भयो, जसको आर्थिक अवस्था मेरोभन्दा धेरै कम थियो।
फिल्ममा झैं हैसियत नमिल्ने केटोसँग गरिएको प्रेम स्वीकार गरिएन। ऊ विरूद्ध मेरो परिवारले अनेक अस्त्र प्रयोग गरे। तर उसलाई मेरो साथ थियो। मेरो प्रेम र आशक्ति थियो। यति विघ्न, मेरो जिद्दीको अघि परिवारको केही चलेन।
मेरो र उसको बिहे पक्का भयो। मलाई लाग्थ्यो, संसारमा मलाई उसले जस्तो माया गर्ने, बुझ्ने, ख्याल गर्ने कोही छैन। सहरमा बसेको, सहरमै हुर्केको भए पनि गाउँलाई कति बुझेको मानिस! लाग्थ्यो ऊ जस्तो गुणले भरिएको संसारमै कोही छैन। साँच्चै उसको नाम जस्तै ऊ 'विशेष'लाग्थ्यो।
बिहेपछि म विशेषसँगै सहरतिर लागेँ। सहरको जीवनमा केही अभावमा थियो। उसको मेनपावरको जागिरले खुम्चिन थालेपछि मैले पनि सघाएँ। अलि सहज भयो। तर उसले अझै सहज खोज्यो, उसलाई धेरै पैसा चाहियो।
त्यसैले मलाई बारम्बार विदेश जाऊ भनेर कर गर्न थाल्यो। मलाई उसको साथ एकदम प्यारो थियो, म नकार्थेँ। तर मलाई सहमत गराउन अनेक तिकडम रच्यो उसले।
म लाचार भएर विदेश जान सहमत भएँ। मलाई पठाउन कागजात, भिसा सबै मिलाउने काम उसले आफैं गरेको थियो। दिल्ली हुँदै कुवेत जानपर्ने थियो। मेरो मनमा त्यसै डर पलाएको थियो।
कुवेत पुगेँ, मेरो डर सही थियो। मेरो जीवन नर्क भयो। थुप्रै दिदीबहिनी भेटिए, जो विशेषकै प्रेममा फसेर यहाँसम्म आएका रहेछन्।
मेरो विशेष, चेलिबेटी बेच्ने दलाल रहेछ।
मलाई मेरो पहिलो प्रेमले कहाँबाट कहाँ पुर्यायो। मायाको पट्टि बाँधेका आँखाले जीन्दगी सधैंलाई अन्धकार बनाइदियो।
बेचिएकी चेलीको कति खरिदकर्ताले उपयोग गरे होलान्!
बेहोसीपछि एकदिन आफूलाई अस्पतालको बिछ्यौनामा पाएँ। 'बाँच्दिन' भनेर गल्लीमा फालिएको रहेछ मलाई।
कोही असल मान्छेले मलाई अस्पतालसम्म पुर्याएछन्। केही निको भएपछि मलाई नेपाली दूतावास ल्याइयो र नेपाल फिर्ता पठाउने तयारी भयो।फिर्ता गराउनभन्दा पहिले हामीलाई हौसला बढाउन एउटा समूहले अभिमूखिकरण गर्ने रहेछ।
उक्त कार्यक्रममा मेरोसामु एक परिचित व्यक्ति देखेर मन खुसी भयो। सँगै पछुतो पनि। ऊ प्रेम थियो, मेरो मिहिनेति बालसखा।
ऊ र उसको समूहले विदेशमा बेचिएका चेलीहरूलाई नेपाल फिर्ता गर्ने र उनीहरूको पुनःस्थापना गर्ने काम गर्दोरहेछ।
अगाडि उभिएर प्रेमले मेरा हात समाउँदा म त्यसै बगिरहेकी थिएँ, आँखाका डिलबाट। आँशु पुछिदिँदै उसले दिएको हौसलाले यति साहस दियो, जीन्दगी अझै जिउने मन छ।
आज उसैको समूहको पुनःस्थापना केन्द्रमा छु। जे भए पनि म हार मान्दिनँ, नयाँ बाटोबाट जीवन सुरू गर्ने प्रयास गर्दैछु। र, मेरा जीवनका कथा कोरेर सुनाउँदैछु।