परदेशी म
म आफ्नो भविष्य बनाउन विदेश छिरेँ
अथवा आफ्नो परिवार हेर्न विदेश छिरेँ
म अन्योलमा छु।
यो दलदलमा आएपछि लाग्दैछ कि
आफ्ना सपनाहरू मरिराछ
ऋणको बोझले शरीर गलिराछ
असफलताको त्रासले ज्यान छटपटिराछ।
तर पनि हिम्मत हारेको छैन
आशा छ प्रगति गर्नेछु
पूरा गर्नेछु हरेक सपना
बाले देखेको,
आमाले सँगालेको
र म स्वयंले देखेको।
बा भन्छन्, 'छोरा, नआत्तिनु, गरिन्छ।'
तर कसरी देखूँ
ती चाउरी पर्न लागेका हातले गरेको परिश्रम!
आमा भन्छिन्, 'उमेर गएको छैन छोरा, गर्छस्।'
हो आमा, गर्छु भन्ने साहस बटुल्दै छु।
बिरानो संसार छ आमा,
म आफैलाई बुझ्दै छु
स्वार्थी मानिसहरू बिच
आफ्नो अस्तित्व पहिल्याउँदै छु।
थाकेको शरीर लिई
मध्यरातमा कोठामा पुगेर
गाँस हाल्ने प्रयास गर्दैछु।
याद आउँछ आमा—
म कामबाट फर्किँदा
खाना तताएर ल्याइदिएको
गल लाग्दा पानी
लिन दौडिएको
यहाँ त आमा
गल लागे पनि
आफैँ दौडन्छु
कति रात त आमा
खाना बिना नै निदाउँछु
आशा छ यो संघर्षले
एक दिन मूर्त रूप लिनेछ
यो परदेशी छोराको धेरै धेरै माया!