कविता
दुरान पछि पहिलो पटक
नयाँ घर फर्कंदै गर्दा
बाटोमै अधबैंसे रात पर्न सक्छ,
त्यो अँध्यारो रातमा
कुनै गौंडानिर
राँको बाल्दै गरेको मान्छे देख्दा नतर्सिनू ,
उनी आफ्नै मित-मामा सरहका सारू दाइ हुन सक्छन् !
!!!
दुर्गमको जागिर भेट्न
पहिलोपटक लेक चढ्दैगर्दा ,
आफ्नै श्वास पनि गह्रुँगो भएको बखत ,
पाइला सुस्ताएर कुनै बुट्यानको आड लिँदा
`त्यो फूलको छेउमा नबस केटा` भन्ने
रूखो बोली सुन्यौ भने
गाली नसम्झनू !
विषालु बोटको छायाबाट तिमीलाई जोगाउने
ती त दयालु भोटे दाइ हुन सक्छन् !!
टहलिँदै एक सूरले,मधेसको मझेरीमा
खेतका आली नाप्दैगर्दा
कतै तिमीले सर्प कुच्दा
र
सर्पले तिमीलाई ठुङ्दा,
त्यो तिम्रो चित्कार सुनेर
कुनै कल्छौंदो मान्छे
तिमी भन्दा दोब्बर आत्तिँदै
तिम्रै गोडा अठ्याउन आएछन् भने,
न-आत्तिनू,
आफ्नो दु:खको घाउ भन्दा
तिम्रो आलो घाउ ठूलो ठान्ने जुठे थारू हुन सक्छन्!
तिम्रो पैतालाले सबै माटो टेक्न नभ्याउला,
तिम्रो आँखाले सबै क्षितिज देख्न नभ्याउला,
त्यसैले, मेरो देशको मझेरी देखि
मेरो देशको सगरमाथा सम्म
फैलिएका छन् सयौं थरी फूलहरू !
ती फूल मध्य:
शान्त ´गुलमोहर`हुन जुठे थारू,
सालिन ´सयपत्री` हुन सारू दाइ,
अनि
अप्ठ्यारोमा हाँस्न सक्ने ´गुराँस` हुन भोटे दाइ!
अचेल...
मेरो देशको बगैंचामा फूलेका
यी प्रत्येक फूलको सुगन्ध
ओहर-दोहर गराउने मालचरी
एक्लाएक्लै उड्न थालेका छन् !
हुनत यो सुन्दर फूलबारीको लालपुर्जा
सारू दाइ,
जुठे थारू,
सेती तामाङ,
भोटे दाइ र अरू अनेक अनेक
नाम-थर भएका कोटी-कोटी ´फूल`हरूको नाममा छ!
तर के गर्नू ?
राजनीतिक´मोही-तल्सिन`को च्याखे दाउमा
असली मालिक ठग्न पल्केका
फटाह ´माली`हरूले
´फूलबारी` कब्जा गर्ने
होडबाजी गर्दैछन्!
र
विदेशी कम्पनीको अत्तर व्यापारमा
साझेदार बन्दैछन्!
मेरै देशको फूल चोरेर
आफ्नो ´अत्तर` व्यापारको सपना देख्नेहरू,
ख्याल राख्नू ,
अब प्रत्येक फूलको माली
आफू स्वयं हुने छौं!