कविता
छाम्दा दुख्दैन मुटु तर भित्र चस्किन्छ सधैं
देश, देश, देश भन्दै यो मन झस्किन्छ सधैं
ननिको बढ्दै जाँदा म टोलाउन थालें
नचिने पनि देखेजतिलाई बोलाउन थालें
कोही हेर्छन् मात्र,कोही नाडी र निधार छुन्छन्
वैद्य र डाक्टर देखाउनु भन्दै कोही बिदा हुन्छन्
सन्ताप बिसाउन हिँडें म वैद्य र डाक्टर खोजी
उनीहरू झट्टै भन्छन् यो रोग नभएर चिन्ता पो हो कि?
खै! म मुन्टो हल्लाउँछु,सोध्छन् कतिखेर चस्कन्छ
दिनमा त टोलाउँछु मात्र रातमा त मननै झस्कन्छ
आला थिचेर छातीमा,सोध्छन् दुख्छ स्वास फेर्दा?
स्वास फेर्दा होइन, दुख्छ छिमेकीले कर्के हेर्दा
अझ बढी दुख्छ देश चलाउनेले कुरा छिन्-छिनमा फेर्दा
झनै सिकिस्त बनाउछ इतिहास लेख्नेले जानी-नजानी केर्दा
डाक्टरले दोहोराएर सोध्छन्, अरू के-के हुँदा दुख्छ ?
म भन्छु छिमेकले रातारात सीमास्तम्भ सार्दा दुख्छ
सहयोगको नाममा सेतो लाई कालो पार्दा दुख्छ
हिराको मोलमा कमसल सिसा दिएर टार्दा दुख्छ
यी सबै भन्दा त निजी स्वार्थमा नेताहरू हार्दा दुख्छ
वैद्य र डाक्टरले सामूहिक सल्लाह गरेछन्
मेरो बिमार ओखती खानुपर्ने खालको हैन रे
म त ठीकै छु,मेरो देश पो ठीक ठाँउमा छैन रे !!