कविता
विकासले विनाश रोज्यौं, प्रकृतिलाई मासी
विकासको दु-स्वप्नमा, बाँच्ने रहर साँची !
विज्ञानको पौरख ठानी, अज्ञानता छर्दै
चन्द्रमामा कित्ता काट्यौं, आकाशमा उड्दै!
अबोध जंगल दोहन गर्दै, ठानी बलवान
आफैंलाई बन्धक बनाइ, गिराइ आफ्नो सान!
लुट्न सम्म लुट्यो मलाई, प्यास कहिले मेटाएनौं
लुच्छसम्म लुच्छौ मलाई, समृद्धि कहिले भेटाएनौं!
सन्ततिको भविष्यमा, ठूलो खेलबाड गर्यो
स्वाधिनताको घेरा तोडी, मानवतालाई मार्यौ
अझ पनि कति लुट्छौ, दुस्कर्मको मजा
ज्ञानभित्रको अहंकारले, कहिले पाउने सजा
विज्ञानको ज्ञानलाई, अज्ञानमा झार्यो
मानवको चेतनालाई, अस्त व्यस्त पार्यो
त्याग अब घमण्ड हो, खुलाई चेतको दृष्टि
तोड अब अहंकार, जगाऊ मनको सृष्टि !
आफ्नो चिहान आफैं खन्यो, विकासको होडमा
सन्ततिलाई बिर्सी गयौ, समृद्धिको दौडमा!
प्रकृति हुँ जगतको, सृष्टिको हुँ, उपहार
सहअस्तित्वको सामिप्यता, जीवनको सार
सहनशील धरती हुँ म, अन्नपातको भण्डार
रूख वृक्ष प्राणीजनको, जीवनको आधार!
पदार्थ र जीवआत्माको, सम-योग हो प्रकृति
सन्तुलनको दृष्टि राखी, सजाऊँ न आकृति !
अमुक छ सेवा मेरो, शान्त निर्भिक स्वभाव
गरिब धनि बराबर, छैन ममा भेदभाव !
प्रकृति हुँ जगतको, सृष्टिको हुँ, उपहार...
संस्कृति हुँ म तिम्रो, जीवन-जगतको रंग
रिति रिवाज हुँ म तिम्रो, मधुर जीवनको अंग!
नीलो आकाश स्वच्छ धरती, इन्द्रेणीको रंग
वारि जंगल पारि हिमाल, क्षितिज सबै दंग!
प्रकृति हुँ जगतको, सृष्टिको हुँ, उपहार...
अति मधुर हुन्थ्यो होला, त्यही अतितमा जान पाए
प्रकृतिको स्वच्छ काखमा, प्रकृति झैं झुल्न पाए!
जीवन धन्य हुने थियो, स्वच्छ स्वास फेर्न पाए
हरियो वन शितल मन, सन्ततिले रम्न पाए !
स्वच्छ आकाश ! स्वच्छ धरती !! जय प्रकृति !!!