कविता
भ्रष्टाचारको नाइके र
भ्रष्टाचारको मतियार
समात्ने दौडमा जो थिएँ म!
भ्रष्ट अघि-अघि
म पछि-पछि,
म पछि-पछि
भ्रष्ट अघि-अघि
यस्तो दौड चलिरहयो,
भ्रष्ट अघि-अघि
म पछि-पछि,
म पछि-पछि
भ्रष्ट अघि-अघि!
मेरो अघि-अघि दौडिरहेको भ्रष्ट
ठूलो पर्खालले घेरिएको
सेतो बंगलामा फुत्त छिर्यो
रत्तिभर डर नमानि
म पनि छिरेँ बंगला भित्र।
चार कदमको दूरीमा भाग्दै गरेका हामी
(माफ गर्नुहोला हामी भनेछु! हामी होइन,
उ ´भ्रष्टाचारी` र म भ्रष्टाचार ´नियन्त्रक`)
अब आमने-सामने भयौँ
उ, बैठक कोठाको बेल्जियम कार्पेटमा,
म, उस्कै बैठकको लविमा,
उस्को साथमा भोटेकुकुर र
हातमा भोटेकुकुरको साँङ्लो,
मेरो साथमा अनुसन्धानका फाइल र
हातमा कालो र रातो रङ्गका कलम
उसँग प्रस्तावको थैलो थियो,
मसँग सम्झौताको झटारो थियो।
कुकुर छोडौँ?
या, ह्विस्की फोडौँ?
डर भन्ने चिज न उस्मा थियो,
न कुकुरमा!
डर त ममा पनि थिएन, तर
रहरहरू एकाएक हुर्किएर आए
अनि बारको एउटै टेबलमा बसेर
ह्विस्की फोड्यौँ,
दुश्मनीको रेखा तोड्यौँ
र
सहकार्यको नाता जोड्यौँ।
थप ´उत्साह र उर्जा` सहित
त्यो सेतो घरबाट निस्किएँ,
निलो मास्क लगाएँ,
र
सिधै मालपोत अड्डा पुगेँ,
अनि रङ्गेहात समाते रू पाँच सय
घुस लिएर पुरानो ढड्डा खोजिदिने खरदार!
भोलिपल्ट,
´भ्रष्ट खरदार` को कर्तुत सार्वजनिक
गर्न डाँकिएको पत्रकार सम्मेलनको
टेलिभिजन समाचार
सेतो घरको बैठकमा बसेर हामीले सँगै हेर्यौँ।