वैशाख महिना थियो, वसन्त ऋतुको आगमनसँगै गाउँघर हरियाली थियो। नयाँ वर्ष नयाँ उमंगले गाउँघरमा रमाइलो छाएको थियो। गाउँभन्दा अलि पर देवीथानमा मेला लागेको थियो। गाउँघरका ठिटा-ठिटीहरु हाँसखेल गर्दै रमाउँदै मेलामा जाने आउने गरीरहेका थिए।
सानीलाई भने भित्रभित्रै अमिलो, नमिठो लागे जस्तो कता-कता नरमाइलो लागि रहेको थियो। उसले सोच्दै थिइ, बुबा माझाघरे काजीकोमा जानु भएको थियो। काजीको धेरै वर्षदेखिको, हजुरबुबाको पालादेखिको ऋण थियो। पुरानो घरखेत पनि मझाघरे काजीले नै लिएका थिए। त्यतिले नपुगेर हामी घरका बुबा, भाइ बिदुर र म काजीकै घरमा काम गर्दैछौँ।
कति काम गर्दा पनि काजीको ऋणबाट बुबा मुक्त नभएको देखेर परिवारमा आमा लगायत हामी सबै धेरै चिन्तित छौँ। आज बुबालाई काजीले बोलाएका छन्। किन बोलाएका हुन् भनी आश्चर्य लागि रहेको छ! काजीले कहिले काहीँ 'तेरी छोरी सानीलाई अब तेरो घरबाट काम गर्न आउँदा टाढा हुन्छ, मेरै घरमा बसेर काम गर्छे' भनिरहन्थे।
त्यो सुनेर मलाई कता कता डर लागि रहन्थ्यो। आज पनि बुबालाई काजीले फकाउने त होइनन्? मलाई अब काजीको घरमा नगइ विद्यालयमा गएर पढ्न मन लागेको छ। मेरी साथी चम्पालाई भने जेठा बाले सहरमा लगेर पढाईरहेका छन्। मलाई पनि पढौँ र केही गरौँ भन्ने ठूलो इच्छा छ।
तर के गर्नु! गरिबको घरमा जन्मेर ठूलो सपना देख्न कहाँ पाइन्छ र? यसरी सानीले सोचिरहेको बेला उसको भाइ बिदुरले 'दिदी आज हामी पनि देवीथानको मेला हेर्न जानु पर्छ' भन्दै नजिकै आयो। सानीले पर्ख बुबा आएपछि सोधेर जानु पर्छ भनी। त्यसै बखत उनीहरूकी आमा गोमाले भित्र आओ भनी बोलाइन् र भनिन्,
'हेर सानी, तिमी पनि अब ठूली भयौ। भाइ सानै छ। अहिले तिमीहरुले बुबालाई काजीको घरमा गै काम सघाएका छौ। तर काजीले हामीलाई यतिका वर्ष बितीसक्दा पनि कहिलै ऋणबाट मुक्ति दिएन। पापी रहेछ। तिमीहरुको हजुरबुबाले जोडेको घरखेत पनि लग्यो। हामीले उसको घरमा काम गरेको पनि निकै वर्ष भैसक्यो।
तिमीहरुका बुबापनि सानैदेखि अहिलेसम्म उसकै घरमा काम गर्दै आएका छन्। मैले भने तिमीहरुले काम सघाएपछि छुट्कारा पाएँ। आज बुबालाई अचानक काजीले बोलाएका छन्, किन हो कुन्नि? कता कता डर लागि रहेको छ। कतै यो सानो घर र पाखोबारी पनि काजीले लाने त होइनन्? उसै त हामी दलित! सानो जात! गाउँघरमा पनि दबिएर बस्नु पर्ने! हामीले यो काजीबाट यो जन्ममा त छुट्कारा पाउँदैनौ होला।'
यस्ता कुरा उनीहरूकी आमाले गरिन्। त्यतिबेरै उनीहरुका बुबा धनबहादुर पनि टुप्लुक्क आइपुगे। उनको अनुहार निन्याउरो थियो, चिटचिट पसिना पुस्दै शिरको टोपी भुइमा राख्छन्। 'गोमा अलिकति पानी खाउँ' भन्दै खुइ...या गर्छन्।
बुबाले अलिकति पानी पिउछन् र छोरीको हात समाउदै भन्छन् 'नानी हामी जातमा पनि सानो जात, छाइछुइ गर्नु हुन्न, मन्दिर भित्र पस्न र ठूला जातका घरका दलिनमा जाँदा समेत होस पुर्याउनु पर्छ। सबैले हेला गर्छन्, भाग्यले हामीलाई ठगेर दलित बनायो। जिम्वाल बाले चौतारामा गाउँका सबैलाई भेला गर्दा चुनावमा मैले जिते भने जातपात छुवाछुतको अन्त गर्छु भन्थे। आज उनी सहरमा ठूला मान्छे भएका छन्, तर हाम्रो कुरा कसले सुन्ने? आज माझाघरे काजीले बोलाएका थिए, म धेरै डराएको थिएँ तर उनी खुसी देखिन्थे।
मलाई देख्ने बित्तिकै 'धने! म आज तँदेखि धेरै खुसी छु। नयाँ वर्ष पनि लागेको छ, देवीथानमा ठूलो मेला छ। अलिकति खर्चबर्च पनि दिन्छु तर एउटा सर्त मान्नु पर्छ' भन्दै वाचा बन्धन बाँधे। उता मनमा डर बोकेर के गर्न आँटे काजीले भनी म डराईरहेको थिएँ। डराउँदै मर्जी होस् हजुर भनेँ।
उता काजीले हँसिलो अनुहार पार्दै 'तेरी छोरी साह्रै राम्री छ, मै राम्रो केटो खोजी बिहे गरीदिँउला। कजिनीलाई पनि दमको रोगले च्यापेको छ, तलाई थाहा छदैं छ नि। मेरा छोराछोरी सबै सहरमा छन्, सानी भोलिदेखि नै मेरै घरमा बसेर काम गर्छे, भकारो सोहोर्छे, भैँसी बाख्रा चराउछे। बिदुरे पनि अब आउनु पर्दैन भैगो, तेरो ऋण सबै मिनाहा भयो' भने। धेरै बिन्तिभाउ गर्दा पनि पापी काजी मानेनन्। काजीको नियत राम्रो छैन, मेरो मन अमिलो भयो' भन्दै आँखाभरि आँसु झार्दै छोरीलाई सुम्सुम्याए।
गोमा, सानी, बिदुर धेरैबेर रोए। सानी बुझ्झकी थिइ। सानैदेखि घरको पिर मार्का बुझेकी थिइ। उसका बुबाको कुरा सुनेर ऊ जान तयार भइ। उसले भनी 'बुबा, म जाँदा काजीले सबै ऋण मिनाहा गरीदिन्छन् भने भैगो जान्छु र सकेको काम पनि गर्छु।'
'गोमा, यति राम्री छोरीलाई अर्काको घरमा बेचेर पो आएँ' भन्दै धनबहादुरले आँसु पुस्छन्।
'तपाईले अलिक बिन्ती बिसाउनु पर्थ्यो नि त, कसरी ठूली भएकी छोरीलाई सधैँको लागि पठाउनु? हाम्रो घरको पिरमार्का बुझेकी भएकाले सानीले जान्छु भनेकी हो,' गोमाले भनिन्।
धनबहादुरले भने 'मैले काजीलाई धेरै गुहार गरेँ तर काजीको अगाडि मेरो केही सीप चलेन, आखिरमा काजीको जित र मेरो हार भयो, म परिबन्धमा परेँ।