कविता
रस आउन्जेल चुस्यो
रामेश्वर राय यादवहरूका पसिनाको श्रम
र फालिदियो खोस्टा बनाएर
अस्ति लोकतन्त्र हुँदै
गणतान्त्रिक पेटीमा
सूर्य बहादुरहरूलाई भोकै मारेको राज्यले
अहिले किन शोक मनाउथ्यो र
नाथे! उखु किसानहरूको मृत्युको मूल्यहीन देहमा
ऊ(हरू) ले स्वार्थमा सडक तताउँदा
सुरक्षा दियो राज्यले
तर पसिना र रगतको मोल माग्दा
ढाड खुस्काउन लाउने श्री ६ का मालिक महोदय!
अब कहाँ खोज्छन् होला राज्य?
किसानले भोट दिएर देश बनाउन पठाएको सरकार
पर्चामा?
सडकमा?
बालुवाटारमा?
शितल निवासको तापमा?
पक्ष/विपक्षको भागवण्डामा?
कि किसानका मृत्यु मलामीमा?
कि तपाईंहरूको राष्ट्रिय (पार्टीको) झण्डामा
कि खोजूँ सरकार!
हामीले आफ्नै छातीमा
भोकको
अन्यायको
पसिनाको
रगतको
अवसानको स्लोगन टाँसेर
उखु मृत्युको अन्त्य?
सरकार! हामी उखुसहित
सडकमा छौँ
सरकार कहाँ छ होला?
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७, ००:२३:००