परिबन्धले दुई वर्ष जेल बसेपछि पोखरा गएँ! सरकारी अनुसन्धान र न्याय प्रणालीप्रति भलिभाँती गुनासो छ मेरो!
मनले अनेक कुरा सोच्यो! मानव अधिकार आयोगमा निवेदन दिऊँ वा माथिल्लो अदालतमा क्षतिपूर्ति सहितको मुद्दा दायर गरौँ?
धेरै दिन मनमा अन्तरसंघर्ष चल्यो! अन्ततः उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेँ।
पोखरा र काठमाडौं ओहोर दोहोर बढ्यो। वास्तवमा म दोषी थिइनँ। गाँजा कारोबारी थिइनँ! सरकारलाई दुई वर्षको १०,०००००/ (दशलाख ) क्षतिपूर्ति भर्न अदालतले आदेश दियो! सफाइसहित न्याय पाएँ मैले! बल्ल हल्का भो मन!
सबभन्दा दु:खको कुरा, आमाको वार्षिकी नसकिँदै जेल परेको थिएँ म! लोकले के भन्यो होला? आमाको वार्षिकी पनि गरेन! कस्तो कुपुत्र रहेछ भन्दै कुरा काटे होलान्! जेल परेको कुरा अनितालाई बाहेक कसैलाई थाहा छैन। थाहा दिनू पनि कसरी? कान्छा बाले समेत थाहा पाएनन् मेरो कहानी!
८/९ महिना होटलमा बसेर अनिताको व्यापारलाई सघाएँ। व्यापार झन् राम्रो भयो। अनिताले सहज भएको महसुस गरी! आमाको तेस्रो वार्षिक तिथि नजिक आउँदा मन भत्भती पोल्यो! अनिता र म फरक संस्कारका थियौँ। उसलाई सप्ताह वा वार्षिकी सम्बन्धी रूचि थिएन। जान्दिनँ थिई पनि ऊ! हिन्दु संस्कार अनुसार चल्न भन्थ्यो मनले मलाई। स्कुलिङ नै त्यही थियो। आमाको तिथिमा सप्ताह लगाऊँ भन्ने विचार आयो मनमा! आमाले पाउनु हुन्छ वा आमा स्वर्ग जानु हुन्छ भनेर होइन! समाजले कुरा काट्छ भनेर गर्न चाहेको हो! खास स्वर्ग र नर्क भन्ने कुरा भ्रम हो। छैन त्यो! भगवान प्रतिको भरोसा पहिल्यै टुटिसकेको थियो मलाई!
'खाइसार लाइसार, मरेपछि लम्पसार!' मरेको लासलाई फ्याँके पनि हुन्छ! बगाए पनि हुन्छ! गिद्धलाई खुवाए पनि हुन्छ! मरेपछिका सबै काम बेकाम हुन्! मात्र सन्तानलाई सन्तुष्टि! त्यो भन्दा अरू केही होइन! अहिले लाग्छ, मर्दा मलामी आउनु या नआउनु! थाहा हुने होइन! मरेपछि माटो हो! जे गर्ने हो, जीवित हुँदै गर्नुपर्छ। मानिसको आत्मामा बाहेक कहीँ छैन भगवान ! मनले त्यसो भन्दै–भन्दै पोखराबाट गाउँ फर्किएँ म! फर्किंदा ३ लाख रुपैयाँ साथमा लिएर आएँ।
समाजलाई देखाउन भए पनि आमाको तेस्रो वार्षिक तिथिमा सप्ताह धुमधामसँग लगाएँ। 'किन वार्षिकी नगरेको? कता हराएको?' भनेर धेरैले सोधे! 'विदेश गएको हुनाले गर्न भ्याइएन' भनेर ढाँटी दिएँ! खास कुरा अर्कै थियो! कुरा लुकाएँ ! भन्यो भने आफ्नै बेइज्जत!
सप्ताहमा पनि अनितालाई गाउँ लाने आँट आएन। गइन ऊ गाउँ ! कुरा काटेर हैरान गर्छन्। जाऊँ नै भनिनँ बरू! व्यापार सम्हालेर बसी! के गर्नु?देशको संविधानभन्दा ठूलो छ, सामाजिक कानुन! जात भातको कुरा अझै निमिट्यान्न भएन! ग्रामीण समाज परिवर्तन जरूरी छ भन्ने ठानेँ मैले!
सप्ताहको चाँजोपाँजो काका–काकीले मिलाई दिनुभयो। पैसा मात्र दिए पुग्यो! सप्ताह सकेपछि काकालाई खेतबारी, घर सबै जिम्मा लगाएर फेरि गाउँ छोडेँ!
'काका, यो मातृभूमिले नसरापोस्! जग्गा–जमिन तपाईंकै हो' गाउँबाट बिदा भएँ।
फेरि पोखरा गएँ!
अनितासँग मिलेर व्यापारलाई अझ बढाएँ! जीवनमा सुखको अनुभूति भयो!
अनिताले बच्चा जन्माउन चाहेकी थिई! म पनि त्यसमा सकारात्मक थिएँ। सामान्य उपायले बच्चा भएन! किनकि अनिता ४० कटिसकेकी थिई।बुढ्यौली उमेरमा महिलाबाट बच्चा हुन गाह्रै हुन्छ! भयो तेस्तै! डाक्टरहरूसँग अनेक सल्लाह लिएँ मैले। आइभिएफ प्रविधिबाट भए नि बच्चा जन्माउने कि भनेर सोच्यौँ दुबैले!
अन्ततः झन्झट नगर्ने, छोरी 'आशा' मा नै चित्त बुझाउने सहमति भयो!
'आशा' नै छोरो! आशा नै सबथोक! छोरी आशा कक्षा ६ मा पढ्दै थिई!
होटलमा सधैँ खाना खान आउने साइबर संचालक भाइले एक दिन के सुरले हो, 'दिदी, तपाईंको डिभी भरिदिऊँ?' भन्यो।
'होस् यहीँ छ अमेरिका' भनी उसले!
'तै पनि भरिदेऊ न त भाग्य जाँचौं!' भर्न सहमति दिएँ! मोबाइलमै ३ जनाको फोटो खिच्यो! फर्म भर्न चाहिने विवरण पनि लग्यो उसले!
समय एवं रीतले चल्दै थियो। एक दिन त्यो भाइ अरू दिनभन्दा फरक हाउभाउमा होटल छिर्यो !
'दिदी ... ए दिदी, तपाईंलाई बधाई छ! अमेरिकाको डिभी पर्यो!' सिरियल नम्बर पनि अगाडि नै छ! सुनेर फिसिक्क हाँसी मात्र ऊ! हर्ष न विस्मतको प्रतिक्रिया जनाई!
बेलुका सुत्ने बेलामा अलि गम्भीर विषयमा कुरा भयो! अब के गर्ने?
'आ... मिल्यो भने जाऔं!'
दुबै सहमत!
अमेरिका जाने तयारीको काम हुन थाल्यो! होटलको केही घण्टा समय निकालेर ब्युटिसियन तालिम लिई अनिताले! सबै प्रक्रिया मिलेपछि होटल बेचिदियौं! बेच्दा राम्रै मूल्य आयो!
झन्झट अनेक थिए! अनितासँगको विवाह दर्ता थिएन! छोरीको जन्मदर्ता थिएन! गाउँपालिकामा गएर सबै कुरा मिलाएँ! दोस्रो पटक उसलाई गाउँ लिएर गएँ! विवाह दर्ता गर्न दुबै जना उपस्थित नभए दर्ता गर्न मान्दैनन् गाउँपालिकाका कर्मचारी! त्यसैले लानै पर्यो! मान्छेहरूले 'विजात विवाह गरेछ! गुँड नै ल्याएछ' भनेर कुरा काटे रे!
कतिले पहिलाकै केटी रहिछे भनेछन्! खासमा काका पनि खुसी हुनु भएन! तर बालै भएन मलाई। यो पटक भने ३ नै जना गाउँ गएका थियौँ!
पोखरा फर्केपछि कन्सल्टेन्सीलाई स्पोन्सर खोजी दिन अनुरोध गर्यौं। उसले टाकटुक मिलाइदियो। पैसा रहेछ! मिल्यो सबै कुरा!
पोखरामै हुँदा एक दिन अनिताले 'तिमी छोरीको स्कुल किन जान्नौ?' भनेर सोधी मलाई।
'आ... तिमी जाऊ न' भनेँ उसलाई! त्यो कुरा त्यत्तिकै भयो! उसले विगतका कुरा कोट्याई! भन्दै गई ऊ, सुन्दै गएँ म! छोरी आशाले एक दिन 'बाबा कहिले आउने?' भनेर सोधी! छोरीको सोधाइले रातभरि रोएँ म!
छोरीलाई साँचिकै उसको बाबा विदेशमै बितेको कुरा कहिल्यै सुनाइनँ मैले!
'अलि पछि आउनुहुन्छ बाबा!' भनेर टारेँ! एक दिन बाबासँग फोन गर्छु भन्न थाली! फसादमा परेँ म! कुरा टारेँ! कुरा मोडिदिएँ! बच्ची न हो! भुली उसले!
फेरि अर्को दिन 'बाबाले विदेशबाट फर्कंदा के–के ल्याई दिनुहुन्छ?' भनेर सोधी! ना–उत्तर भए म! छोरीको अनुमानमा विदेशबाट आउने बाबा सुटकेस सहित आउनुहुन्छ! छोरी र मामुलाई नयाँ–नयाँ कपडा, मोबाइल र चकलेट ल्याई दिनुहुन्छ भन्थी ऊ! त्यस्तो दिन आएन!
'तिमी खाली हात आयौ!' विदेशबाट बाबा आएको उसलाई विश्वास लागेन! 'बाबा हो र?' सोधी मलाई! मैले 'हो' भनेँ! 'यस्तो नि बाबा हुन्छ? खै त नयाँ कपडा! चकलेट! सुटकेस! मोबाइल?' मलाई सोधी उसले!
कहानी छोरीलाई बताइनँ! हुन्थ्यो त बताउन? तिमी नै भन! प्रश्न सोधी अनिताले मलाई!
पछि पुराना कुराको आफै बिट मार्न खोजी।
'छोडिदेऊ पुराना कुरा! रमाइला कुरा गरौँ!' खुसी बनाउन खोजी मलाई!
अमेरिकाको भिसा लाग्यो! सबै प्रक्रिया पूरा गरेर अमेरिका पुग्यौँ। सेटल हुने कसरी होला? चिन्ता भयो! तर त्यहाँका नेपाली समुदायले सक्दो सहयोग गर्दा रहेछन्! खासै गाह्रो भएन! ग्यास स्टेसनमा काम पाएँ मैले! अनिताले ब्युटीपार्लर खोली ! छोरी स्कुल जान्थी! राम्रै चल्दै गयो हाम्रो जीवन! सोचेभन्दा सजिलो ! उथलपुथल पनि कति धेरै! छ्या जीवनमा!
ड्युटी सकेर अपार्टमेन्टमा आएर बसेको थिएँ! छोरी आशालाई चिया खान मन लाग्यो। 'पकाऊ, छोरी!' भनेँ मैले!
उसले मानिन!
कम्प्युटर चलाएर बसी! टेर्दै टेरिन! बेस्सरी गाली गरेँ उसलाई! एक थप्पड हिर्काएँ पनि! कता–कता मनमा 'यो मेरो रगत पनि त होइन नि!' भन्ने लाग्यो! आमा आउने बेलासम्म रोई बसी ऊ! आमा आएर उसलाई फकाई! ऊ मसँग रिसाको रिसाई गरी! मैले त्यसलाई ठूलो रूपमा लिइनँ! उसले भने इख लिइछ! भोलिपल्ट पनि बोलिन मसँग! नेपालको संस्कार थियो ममा! परिवर्तन भएनछ अमेरिकामा पनि!
छोरी स्कुल! श्रीमती ब्युटीपार्लर! म ग्यास स्टेसन! दैनिकी यही थियो हाम्रो! ड्युटी सकेर अपार्टमेन्टमा आएर बसेको थिएँ! एउटा फोन आयो!
स्कुलबाट भन्यो उसले! स्कुलको शिक्षक हुनुपर्छ भन्ने अनुमान लगाएँ! सरल भाषामा सुस्तरी अङ्ग्रेजी बोल्यो ऊ। सायद आप्रवासी भन्ने बुझेर होला! नम्र भाषामा सोध्यो, 'तपाईं आशाको बाबा हो?'
'हो' भनेँ मैले!
'एक दिन तपाईं आशाको स्कुल आउन सक्नुहुन्छ? तपाईंलाई भेट्न सक्छु?,' सोध्यो उसले।
'छुट्टी छैन मेरो! किन र?' भनेँ उसलाई!
'मिल्छ भने भोलि स्कुल आउनुस् न' आग्रह गर्यो!
मन नमानी–नमानी 'हुन्छ' भनेँ।
भोलिपल्ट नै स्कुल गएँ! काममा छुट्टी मागेँ! कहिल्यै बिदा नबस्ने भएकोले ओके गर्यो म्यानेजरले!
किन बोलाएको होला? खुल्दुली लिँदै स्कुल गएँ! हिजो फोन गर्ने नै होला ऊ सायद! आशाको बाबा भन्नासाथ एकान्त कोठामा लग्यो मलाई! केही प्रश्न सोध्न सक्छु भन्यो।
'हुन्छ' भनेँ मैले!
विस्तारै प्रश्न गर्न सुरू गर्यो उसले!
'तपाईंका कति जना छोरा–छोरी छन्? छोरीसँग चिडियाखान घुम्न मन पराउनुहुन्छ? नयाँ ठाउँहरू छोरीलाई कत्तिको घुमाउनु हुन्छ? सब परिवार फिल्म हेर्न कति पटक जानुभयो? कति दिन कपडा लगाइदिन सघाउनुभयो छोरीलाई? आज बाहेक छोरीको स्कुल कति पटक आउनु भयो?' हरेकका उत्तर दिएँ।
तर उत्तर एउटै थिए। 'अहँ.... म भ्याउँदिनँ! उसकी आमाले सबै हेरचाह गर्छे! गर्दिनँ म!' उसले नम्रतापूर्वक बिदा गर्यो मलाई। घर फर्किएँ म!
भोलिपल्ट उसको ममीलाई बोलाएछ!
'तपाईं र विकल्पबीच सम्बन्ध कस्तो छ?' भनेर सोधेछ।
उसले 'एकदम राम्रो छ! कुनै समस्या छैन!' भनी रे!
अघिल्लो दिनको घटना अनितालाई बताएको थिएँ मैले! अनिताले मलाई तिमी पनि उस्तै छौ क्या! छोरीलाई माया नै गर्दैनौ तिमी! किन हो? प्रश्न गरी उसले! तर म बोलिनँ!
खास यो कुरालाई महत्त्व दिइनँ! स्कुलको त्यो सरले सिधा प्रश्न सोधेन मलाई! घुमाएर सोध्यो। किन सोध्यो त्यस्ता प्रश्न बुझिनँ! खासमा महत्त्व दिइनँ मैले! अरू दिन जस्तै काममा गएँ!
मेरो बिदाको दिन थियो। एकाएक घरमा पुलिस आइपुग्यो। घरमा म मात्र थिएँ। केरकार गर्यो मलाई! अस्पताल जान अनुरोध गर्यो! अगुल्टोले हिर्काएको कुकुर बिजुली चम्कँदा तर्सिन्छ भनेझैं भो। नेपालको कुरा फेरि सम्झिएँ! डराएँ। पुलिसले भनेपछि अस्पताल जानै पर्यो ! गएँ! रगतको नमूना दिन लगायो। दिएँ!
के, किन, कसरी भन्ने प्रश्न मनमा आइरह्यो! पुलिसलाई सोधे 'के हुँदै छ यो?' पुलिसले उसकी छोरी आशाले स्कुलमा लेखेको निवेदन देखायो! साथै साथै स्कुलले पुलिसलाई आवश्यक कारबाही गर्न अनुरोध गरेको अर्को पत्र पनि देखायो! म छाँगाबाट खसेँ!
निवेदनमा लेखेको रहेछ—मलाई शंका छ, विकल्प मेरो बाबा हो भन्नेमा! नत्र मलाई किन गाली गर्नुहुन्थ्यो? किन कुट्नुहुन्थ्यो? बाबा हो/होइन, यकिन गर्न चाहन्छु! बाबाको डि.एन.ए. टेष्ट गरी पाऊँ!
छोरी आशाको निवेदन देखेर मलाई लाज र शरम एकैपटक भयो। साँच्चिकै म परम्परागत र रूढीवादी रहेछु भन्ने लाग्यो! मन झस्कियो!
'हुन त छोरी होइन नि मेरी!' भन्ने पनि आयो एक मन! तर उसलाई स्वीकार गरेको थिएँ! आफ्नो व्यवहार बालमनोविज्ञान अनुसार नभएको अनुभूति गरेँ! आफैलाई नरमाइलो लाग्यो! पछुताएँ!
डिएनएको रिपोर्ट आयो। डिएनए छोरीसँग मिल्ने कुरै थिएन। मिलेन। वास्तवमा ऊ फेरि छोरी नै थिइन। त्यो स्वाभाविक थियो। पुलिसलाई सत्य कुरा बताएँ!
पुलिसले भन्यो 'आशा' मतलब 'छोरी'! तपाईंसँग खुसी छैन! आशालाई हामी केयर होममा लान सक्छौँ! के छ विचार?' माफी मागेँ पुलिससँग मैले!
'त्यसो नगर्नुस्! मैसँग रहन्छे आशा! पुलिसले अब आइन्दा दुर्व्यवहार गर्दिनँ भन्ने प्रतिबद्धताको कागज गरायो। दुर्व्यवहार फेरि भए कारबाही हुने बतायो। 'मिलेर बस्न सक्ने— नसक्ने?' पुन: सोध्यो! आफ्नै व्यवहारप्रति आफैलाई आत्मग्लानि भयो! हुन्छ भन्ने संकेतले टाउको हल्लाएँ! आशालाई यो कुरा स्कुलले बतायो। बताएन! थाहा पाइनँ मैले! सोध्न पनि खोजिनँ!
आजभोलिका केटाकेटीहरु कस्ता क्या? हाम्रो पालामा सरको पिटाइ त कति खाइयो, खाइयो! घरको काम नगरेकोमा बाआमाको गाली र कुटाइ सामान्य भयो! सम्झिए आफ्नो पालाको कुरा! बल्ल थाहा पाए आज भोलिका केटाकेटी फरक र स्मार्ट छन् भनेर! घरमा आएँ र छोरीसँग माफ मागेँ! सरी है छोरी ! म तिम्रो बाबा नै हुँ!
यी पनि:
न पैसा कमाएँ, न श्रीमती पाएँ!
पूर्वश्रीमतीसँग होटलमा जम्काभेट!
निर्दोष हुँदाहुँदै पाएँ जेल सजाय!