म जान्दछु
आजको सपना
मान्छेहरू
मान्छे रहेनन्
बुद्धका आँखा स्वयम्भूमा सजाएर
मान्छे युद्धको परेड खेली बसेको छ
बुद्धको प्रिय शान्ति भूमिमा
हामी कति मूर्ख छौँ
हामी युद्धको अहंकारले थिचिएर
आफैभित्र चिमोटिँदै
आफै मर्न लागेका छौँ।
समय बौलाइरहेछ
बिना लगामको टाँगा जस्तो
हिलोभित्र जाकिएको छ समय
समयको हिसाब किताब राख्नु पर्ने
समय शान्त हुन्छ जब
व्यर्थ होला पढाउन
शान्तिका अग्रदूत थिए बुद्ध
अग्नि क्षेप्यास्त्र खस्नै लागेको छ
शान्ति भङ्ग गर्दै
कोलाहललाई अंकमाल गरी
युद्धको नगरा बजाएर।
मलाई थाहा छ
अविवेकी छन् मान्छेहरू
स्वयं रापिएर बाफले
कुन बेला पड्कन्छन्
तानातान भइरहेछ जिन्दगी
हामी बाँच्नै नजान्ने मान्छे
आफैभित्र ठुँगा ठुँग गरेर
बुच्चे भएका छौँ हामीहरू।
अभिशाप नबनोस् विज्ञान
पहिलो र दोस्रो विश्व युद्धको
भयावह दृश्य बिर्सी
पुनः मिसाइल र बमहरूमा
पृथ्वीको सिङ्गै आयु नापिरहेछौँ यस बेला हामीहरू।
हामी पतित नहुनु पर्ने
दम्भले फुलेर
हतियार प्रदर्शन गरी
तेस्रो विश्व युद्धको सुरुवात गर्नैका लागि
हिट्लर भएर जन्मेका त छैनौँ हामीहरू?
तथाकथित
विश्व विजेता बन्ने रहरमा पुनः एक पटक
आजका मान्छेहरू।