'शनिबार भेटौं।'
अकस्मात आएको तिम्रो प्रस्तावले म घोत्लिएँ।
'हुन्छ' त मैले भनिदिएँ। त्यस हप्ताभरि म सुत्न सकिनँ। र मैल नानाभाँती कुरा खेलाएँ।
हुन त, महिनौं फेसबुकको मेसेन्जरमा बोलेपछि तिमीले एकाएक सिग्नल डाउनलोड गर्न भन्यौं, त्यहाँ गोपनीयता हुन्छ भन्ने तिम्रो विश्वास, मैले त्यसै गरिदिएँ, सिग्नल डाउनलोड भइसकेपछि तिमी एकाएक अजिब भयौं। अचानक तिमीलाई भविष्यको चिन्ताले पिरोल्यो तिम्रो प्रश्नैप्रश्नले मेरो सिग्नलको बक्स नै भरियो। तिम्रा प्रश्नहरूले म घोत्लिएँ। खासमा ती प्रश्नहरू हामीसँगै सम्बन्धित थिए। हामीले एक युगजति कुरा गरिसकेका थियौं। डिजिटल माध्यमले।
एक जुगजति समय एकअर्कालाई दियौं भिडियोमा। अब हामीलाई एकअर्काबीच आउने सुगन्धको महसुस गर्नु थियो। स्पर्शको अनुभव गर्नु थियो। प्रत्यक्ष तिम्रा गहिरा आँखालाई नियाल्नु थियो। तिमीले यिनै कुराहरू भनेर पहिलो डेटका लागि मनाएका थियौं मलाई।
मलाई पुरूषको सानिध्य त्यति मन पर्दैनथियो। म डराउँथेँ। किनकिन तिमीसँग मैले सुरक्षित महसुस गर्न थालेँ। यसै पनि दर्जनौं पुरूषहरूसँग कुरा गरिन्थ्यो च्याटमा तर तिमी विशेष लागेको थियो। लामो समयसम्म च्याट त्यसपछि अडिओ र अन्तिममा भिडिओसम्म्म कुरा गरेपछि तिमीले वाकई मेरो फरक तारिफ गरेऔं। त्यसो त पहिलो केही घण्टाकै च्याटमा तिमीले दिएको झुठै सही म मग्ध थिएँ।
खासमा भन्नैपर्दा म भित्रैदेखि हल्लिएकी थिएँ। तिमीले अन्य पुरूषले झैं ‘तिम्रो आँखा कति राम्रो, ओठ कति राम्रो वा केश’ यस्ता कुनै कुरा गरेनौ। यस्ता टाइपका कम्प्लिमेण्ट तिमीले दिएनौ। अधिकांश पुरूषले यस्तै दिने गर्थे तर तिमीले फरक दियौ। गुडनाइट भन्नुअघि तिमीले आजको बार्तालापको निष्कर्ष निकाल्दै भन्यौ ‘तिमीभित्र त्यस्तो खास चिज रहेछ जो मेरो मुटुलाई हल्लाइदिने।’
त्यो खास चिज के रहेछ तिमीले भनेनौ।
तिमीभित्र जो एउटा ‘खास चिज’ छ भन्ने शब्दले म रातभर सुत्न सकिनँ। दर्जनौं पुरूषले नदेखेको त्यो खास तिमीले कसरी देख्यौ? के देख्यौ? मन कुँडलियो मेरो। त्यो कुराले रातभर हलचल भएँ। भोलि कहिले होला र तिमीसँग कुरा गरौंला भन्दै म तिम्रो मेसेन्जर चेक गर्न थालेँ, ५ घण्टाअघि, ६ घण्टा हुँदै ९ घण्टामा पुगेर तिमी अन भयौ र मलाई गुड मर्निड भन्यौं। त्यो दिनको गुडमर्निंङ मेरो जीवनको हरदिन ताजा याद दिलाउँछ। यसरी सुरूआत भएको हाम्रो सम्बन्धको पहिलो डेट तिमीले मागेका थियौ।
तिमीसँग पहिलो डेट जाँदै गर्दा, तिमी तल बाटोमा लिन आइसकेका थियौ। त्यसदिन मैले अरू दिनभन्दा बढी समय आफ्नो श्रृंगारपटारमै बिताएँ। मैले आफ्नो ओठमा लगाएको लिपिष्टिक चारचोटि परिवर्तन गरेँ। मैले आफ्नो ड्र्रेस तीन पटकसँग खोले अनि लगाएँ। मेरो कपाल र मेकअपमै मैले समय बिताएँ। मैले आँखामा गाजललाई हल्का तरिकाले कोतरे। तर ती मेकअपहरू गर्दैगर्दा मेरो दिमागमा यी कुराहरू नचलेका भने होइनन्।
पहिलो दिन तिमीले देख्दै गर्दा अन्त्य पनि देखियोस् भन्ने चाहन्थेँ त्यो के भने, जब तिमीले मलाई जीवन अन्तिम देख्नेछौ मेरो कपाल सेतै, पातलो र झरेको हुनेछ। मेरा अनुहारहरू चाउरिएर टारीखेतका गराजस्ता हुनेछन्। जहाँ कुलोकुलो भएर पानी घाँटीसम्म आइपुग्दोहोस्। म निरीह दुब्ली पातली र बुढी हुनेछु र मैले आशा राखे पहिलो डेट जसरी अन्तिम डेटसम्म तिमीले माया गरौंला भन्ने।
पहिलो र अन्तिम डेटका बारेमा सोचेँ, अब बीचको समय सोच्नेछु।
बीचको समय।
मानौं, तिमीले बिबाह गर्नेछौ। त्यसपछि म तिम्रो अपार्टमेण्टमा सिफ्ट हुँला। हामी बेडमा पल्टेर नयाँनयाँ मुभिहरू हेर्नेछौं। तिम्रा मनपर्ने मुभि र मेरा मुभिहरू एउटै हुनेछन् भन्ने आशा राख्छु। तिमीलाई मनपर्ने खानाहरू म पकाइराख्छु। तिमी कामबाट आएपछि तिमीलाई एकपटक कसेर अँगालो मार्छु। तिमी थाकेर सोफामा बस्दै खुटृा सानो टेवलको माथि राख्नेछौं, मैले थाकेको ठानेर तिम्रो गन्हाएको जुराफ खोलेर एक ठाउँमा जम्मा गरिदिनेछु।
शुक्रबारको दिन होला, तिमी र म दुबै बाथरूममा सँगै फ्रेस भएपछि तिमीले नाइट डिनरका लागि मलाई रेष्टुरेन्टमा लैजान्छौ। मन्द मोमबत्तीको उज्यालो, सुमधुर म्युजिक अनि तिमी र म केवल, हल्का रेड वाइन पिउँदै तिमीले मेरो ओठमा लाहछाप लगाउने छौ र हामीले डिनर सकेर घर आएपछि भोलिपल्ट बिहान १२ बजेसम्म हामी बेडबाट नउठौंला।
यस्तैयस्तै दिनहरू होलान्, शनिबार, कहिले हामी तिम्रो साथीकोमा लन्च वा डिनरमा जाऔंला। केही साथीलाई तिमीले फोन गरेर घरमा बोलाउँला उनीहरूका लागि म मिठामिठा डिसहरू तयार गरिदिउँला। तिमीलाई थाहै छ म कामकाजी महिला हुन चाहन्नँ।
म तिम्रोको बच्चा जन्माउन चाहन्छु। जब बच्चा होला, र तिमी घर पुग्छौ अब के होला सोचेको छौ? बच्चाले मलाई पछ्याउँछ। घर वरिपरि बच्चाको खेलौना जताततै छरिएको हुन्छ। घर अस्तब्यस्त हुन्छ। चुल्होका खाना चलाउन भ्याउँदिनँ। घर समालूँ कि बच्चा अनि तिमी, बच्चा कराउने, म कराउने र टिभीको कोलाहलपूर्ण वातावरणमा तिमीले ठान्नेछौ मैले तिम्रो केयर गरिनँ। तिमी मलाई भन्न थाल्नेछौ मैले तिमीलाई माया गरिनँ। थाहा छ एकअर्काले एक अर्कालाई मार्नअघि हस्तक्षेप गर्नुपर्छ। तिमीले ममा हस्तक्षेप गर्नेछौ र मैले तिमीमा। म दिनको बारेमा सोध्छु आजको दिन कसरी बित्यो? तिमीले भन्नेछौ म पछि भन्छु। र अन्त्यमा सुत्नका लागि हामी जान्छौं। म तिमीलाई बोलाउँछु तिमी ल्यापटपमा बसिराख्नेछौ। म बच्चा सुताउन जानेछु अनि हामी यसरी बेग्लाबेग्लै एक्लै सुत्नेछौं। यो हुनैपर्छ तर म यो चाहन्नँ।
हाम्रा दिनहरू निर्धारित हुनेछन्। हाम्रा आवश्यकताहरू बढ्नेछन्। बच्चाको रेखदेख, स्कुल, फिस आदि इत्यादिमा कुनैकुनै दिन तिमीलाई दिक्क लाग्दो हो। हामीसँग फिल्म हेर्ने समय हुने छैन। हामी डेटमा जान सक्दैनौं। हाम्रा प्रत्येक क्षणहरू बहुमूल्य हुनेछन्। बच्चाले तिमीलाई बाबा भन्दै नछोड्दो। तिमीसँग झुण्डिदो हो। तिमीलाई दिग्दार लाग्दो हो। तिमीभित्र कताकता अपुरो अधुरो नारीभोगको तृष्णा रहँदो हो। यी सबै कुरा एउटा पुरूषले सहनै पर्छ। यो जीवन, यी बच्चा हामीले चाहैकै जीवन हुनसक्छ। मैले बुझिदिनेछु।
एकदिन ठिक हुनेछ भन्ने चक्करमा हामी अव्यवस्थित हुनेछौं र बच्चा ठूलो भैसकेपछि ऊ आफ्नो छुटृै दुनियाँ बनाउँला। तिमी बुढो हौला। तिम्रो शरीरभरी कोलोस्टोरल, प्रेसर र सुगरले भरिएको हुनसक्छ। भगवान सम्झेर भन्छु यस्तो नहोस्, भैदियो भने, तिमी हिँडडुल गर्न कम गर्नेछौ। घरमै बस्नेछौ। शरीर दर्दले भरिनेछ। तालु खुइलिनेछ। कपाल सेतै हुनेछ। मेरो पनि तिम्रोजस्तै हालत हुनेछ।
हामीले सुप बाहेक अरू खान सक्दैनौं, हामीले एक अर्काका आँखामा हेरेर जीवन मृत्यु कुर्नेछौं, प्रिय, मेरो पहिलो प्रेमको पहिलो डेट, बल्ल त्यतिबेला मैले तिमीलाई फेरि प्रेम गर्नेछु। म तिम्रो प्रेमको अपेक्षा गर्नेछु। हामी फेरि प्रेममा पर्नेछौं। प्रिय श्रीमान्, मसँग फेरि प्रेममा पर्नुहोस् म यही चाहन्छु।
म त्यतिबेला एनिमेटेड चलचित्रको पात्र जस्तो देखिन्छु। मैले जबर्जजस्ती लिपिष्टक लगाएर तिमीसँग हिँड्दा गल्लीका अन्य तरूनीहरूले मलाई गिज्याउँलान्। म तिम्रो हात समातेर हिँड्दा युवाहरूले हामीलाई कस्तो नकच्चरो नकच्चरी भन्लान्। रेष्टुरेण्टमा खाँदै गर्दा तिमीले अंगालौला वा मैले तिमीलाई खुवाउँला तिमीले मलाई त्यतिबेला हाम्रो प्रेम हेर्न अरूलाई गाह्रो होला। जब हामीले एकअर्काको सहाराले उठौंला उनीहरूलाई हाम्रो प्रेम हेर्न गाह्रो होला।
जब हामी घर पुग्छौं म हतारहतार बाथरूममा पुगेर लिपिष्टकहरू पुछ्नेछु। हामी सोफामा अंगालौंला, तिम्रा खुटृा नजानेर म माथि चढेको होला एक तरिकाबाट अडेसलाग्दा लाग्दा अर्काेतिर ढल्कन खोज्दा मेरो आडमा टाउको परेको बखत उनीहरूलाई लज्जित अनुभव होला।
जब घरमा सबै जना सुतिसकेका हुनेछन्। हामीलाई निन्द्रा नलागेर हामी आआफ्नो बेडमा ढल्कदै गर्दा, हाइहाइले अरूलाई डिस्टर्व हुन सक्ला। मसँग तिमीलाई देखाउने र दिने सपना हुनेछैनन् र तिमीसँग लिने र दिने सामर्थ्य हुने छैन। म हिम्मत गुमाएकी हुन सक्छु त्यतिबेला तिमी मेरो सर्वस्व हुनेछौ। देवता तुल्य। यी सबै कुराको लागि म तिमीप्रति आभारी हुनेछु। सकुनसाथ मैले आफ्नो जीवनको अन्तिम सास तिम्रो काखमा फेर्न पाएँ भने त्यो भन्दा सौभाग्य मेरो केही हुने छैन।
मैले विश्राम लिँदै गर्दा, म एउटा उत्तम पत्नी, उत्तम आमा र उत्तम साथी साथै, धैर्यवान, दयालु र निश्वार्थ नारी भएर यस संसारबाट बिदा लिनेछु। र मैले तिमीलाई पनि यसरी जान्ने छु धर्तीमा, मैले चिनेको एउटा असल गार्ड, एउटा परिश्रमी पुरूष, निश्वार्थ माया गर्ने मान्छे, देवतुल्य मेरो श्रीमान। म तिमीबाहेक अरूसँग जीवन बिताउने कल्पना गर्ने छैन। म तिमीलाई यो थाहा दिन चाहन्छु कि मैले तिमीलाई पहिलो माया गरेँ।
म आज पहिलो डेटमा जाँदैछु। मैले ऐनामा फेरि हेरेँ सबै ठिकै छ। ब्याग हातमा लिएँ, ढोका लगाएँ। मलाई थाहा छ तिमी तल आएर कुरिरहेका छौ। म आज पहिलो डेटमा जाँदैछु।