मानौं, एउटी महिलाले परिवारका सदस्यलाई मिर्गौला दान गरिन्।
दानपछि उनको स्वास्थ्य सामान्य छ। तर केही वर्षपछि उनी आमा बन्न चाहन्छिन्।
अब प्रश्न उठ्छ — मिर्गौला दान गरेकाले उनको गर्भावस्थामा कुनै अतिरिक्त जोखिम आउँछ कि आउँदैन?
क्यानडामा गरिएको नयाँ अध्ययनले यसको उत्तर खोजेको छ। अध्ययनमा मिर्गौला दान गरेका महिलाको गर्भावस्थामा उच्च रक्तचापसम्बन्धी समस्या दान नगरेका महिलाको तुलनामा केही बढी देखिएको छ।
यसको अर्थ मिर्गौला दानपछि आमा बन्न मिल्दैन वा सबै गर्भावस्थामा जटिलता आउँछ भन्ने होइन। अनुसन्धानकर्ताहरूका अनुसार अधिकांश दानकर्ताको गर्भावस्था जटिलतारहित नै थियो।
यो अध्ययनको मुख्य सन्देश के हो भने, मिर्गौला दान गर्नुअघि सम्भावित जोखिम बुझाउने र पछि गर्भवती हुँदा आवश्यक निगरानी गर्ने।
यो अध्ययन यही अक्टोबर २२ मा चिकित्सा जर्नल 'जामा' मा प्रकाशित भएको हो।
नेपालका लागि यो अध्ययनको निष्कर्ष विशेष महत्त्वको छ। किनभने, यहाँ मिर्गौला दिनेमा महिला धेरै छन्, पाउनेमा पुरूष।
सन् २०२३ मा 'ट्रान्सप्लान्ट इन्टरनेसनल' मा प्रकाशित अध्ययनमा दातामध्ये ७० प्रतिशत महिला थिए। मिर्गौला प्रत्यारोपण गराउनेमध्ये भने ७९ प्रतिशत पुरूष र २१ प्रतिशत महिला थिए। आमा र पत्नी प्रमुख दाता थिए।
त्यो अध्ययनले पाँच प्रमुख अस्पतालका अभिलेख समेटेको थियो। शोधपत्रमा अगस्ट २००८ देखि डिसेम्बर २०२२ सम्म नेपालमा भएका २ हजार ४० मिर्गौला प्रत्यारोपण उल्लेख छन्। तीमध्ये २ हजार २२ वटा प्रत्यारोप तिनै पाँच अस्पतालमा भएका थिए। यो अनुपातलाई अहिलेको राष्ट्रिय तथ्यांकका रूपमा बुझ्न मिल्दैन। तर उपलब्ध अभिलेखमा दान गर्ने र प्रत्यारोपण पाउने बीचको लैंगिक अन्तर स्पष्ट छ।
यही पृष्ठभूमिमा क्यानडाको नयाँ अध्ययनले एउटा प्रश्न अगाडि ल्याउँछ — अरूको जीवन बचाउन मिर्गौला दिने महिलाको स्वास्थ्य र मातृत्वबारे हामी कति ध्यान दिन्छौं?
अनुसन्धानकर्ताहरूले क्यानडाका ओन्टारियो, ब्रिटिस कोलम्बिया र अल्बर्टा प्रान्तका स्वास्थ्य अभिलेख अध्ययन गरेका थिए। मिर्गौला दान गरेका २५२ महिलाका ३८५ गर्भावस्थालाई दान नगरेका १ हजार ५३५ महिलाका १ हजार ५४० गर्भावस्थासँग तुलना गरिएको थियो।
यहाँ महिलाको संख्या र गर्भावस्थाको संख्या फरक छन्। केही महिलाको एकभन्दा बढी गर्भावस्था अध्ययनमा परेको छ। त्यसैले नतिजाको प्रतिशत गर्भावस्थाको हो, अलग-अलग महिलाको होइन।
अध्ययनमा कम्तिमा २० साता पुगेका, एउटै भ्रूण भएका गर्भावस्था समावेश थिए। उमेर, प्रसूतिको मिति, अघिल्ला गर्भावस्था र आम्दानीजस्ता विशेषता मिलाएर प्रत्येक दानकर्ताको गर्भावस्थासँग चार गैरदानकर्ताका गर्भावस्था तुलना गरिएको थियो।
यसबाट तुलना सकेसम्म समान पृष्ठभूमिका समूहबीच गर्न खोजिएको देखिन्छ।
मुख्य रूपमा अनुसन्धानकर्ताहरूले तीन अवस्थासँग सम्बन्धित अस्पताल भर्नाको अभिलेख हेरेका छन् — गर्भावस्थामा हुने उच्च रक्तचाप, प्रि–एक्लाम्प्सिया र एक्लाम्प्सिया।
यी सबै एउटै गम्भीरताका समस्या होइनन्।
गर्भावस्थामा पहिले सामान्य रहेको रक्तचाप बढ्न सक्छ। प्रि–एक्लाम्प्सियामा उच्च रक्तचापसँगै पिसाबमा प्रोटिन देखिन वा मिर्गौला, कलेजो लगायत अंगमा असर पर्न सक्छ। यो प्रायः गर्भावस्थाको २० सातापछि देखिन्छ।
एक्लाम्प्सियामा शरीरमा झट्का आउने जटिलता हुन्छ। त्यसैले रक्तचाप बढेको अवस्थालाई समयमै पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ।
मिर्गौला दान गरेका महिलाका ३८५ गर्भावस्थामध्ये ४६ मा यीमध्ये कुनै एक समस्या देखिएर अस्पताल भर्ना भएको अभिलेख भेटियो। यो ११.९ प्रतिशत हो।
दान नगरेका महिलाका हकमा १ हजार ५४० गर्भावस्थामध्ये १२८ मा त्यस्तो अभिलेख थियो। यो ८.३ प्रतिशत हो।
सरल भाषामा भन्नुपर्दा, अध्ययनमा प्रत्येक सय गर्भावस्थामध्ये दानकर्ताको समूहमा करिब १२ र गैरदानकर्ताको समूहमा करिब ८ मा यस्तो समस्या रेकर्ड गरिएको थियो।
यस आधारमा मिर्गौला दान गर्ने महिलामा गर्भावस्थाको जोखिम अनुपात १:५१ थियो। तर यसलाई 'दान गर्ने ५१ प्रतिशत महिलालाई समस्या हुन्छ' भनेर बुझ्नु गलत हुन्छ। यो दुई समूहको जोखिम तुलना गर्ने मापन मात्र हो।
अनुसन्धानले बच्चाको जन्मसम्बन्धी नतिजा पनि हेरेको थियो।
गर्भमा बसेको अवधि अनुसार अपेक्षितभन्दा कम तौल भएका बच्चा जन्मिने अनुपात दानकर्ताको समूहमा १३.८ प्रतिशत र गैरदानकर्ताको समूहमा ७.९ प्रतिशत थियो।
यसको अर्थ पनि 'सबै बच्चा कमजोर जन्मिन्छन्' भन्ने होइन। गर्भको अवधि अनुसार बच्चा सानो जन्मिनु, समयअगावै जन्मिनु र निश्चित सीमाभन्दा कम तौल हुनु फरक सूचक हुन्। अनुसन्धानकर्ताहरूले अधिकांश अन्य मातृ तथा शिशु स्वास्थ्य परिणाम दुवै समूहमा उस्तै रहेको बताएका छन्।
यो अध्ययनलाई बुझ्दा यसको सीमामा पनि ध्यान दिनुपर्छ। यो स्वास्थ्य अभिलेखमा आधारित अवलोकनात्मक अध्ययन मात्र हो। अनुसन्धानकर्ताहरूले तुलना मिलाउने प्रयास गरे पनि दुई समूह बीचका सबै सम्भावित भिन्नता हटाउन सकिँदैन।
त्यसैले मिर्गौला दान र गर्भावस्थाको समस्याबीच सम्बन्ध देखिएको भन्न मिल्छ, तर हरेक समस्या मिर्गौला दानकै कारण आएको प्रमाणित गर्न मिल्दैन।
त्यस्तै, क्यानडामा देखिएको अनुपात नेपालका महिलामा ठ्याक्कै लागू हुन्छ भन्ने प्रमाण यो अध्ययनले दिँदैन।
यो अध्ययनले नेपाली दानकर्ताको गर्भावस्था जाँचेको छैन। नेपालमा महिलाको दान गर्ने अनुपात र क्यानडामा गर्भावस्थामा देखिएको जोखिमलाई जोडेर नेपाली महिलाको जोखिमको संख्या निकाल्न पनि मिल्दैन।
तर मिर्गौला दान गर्ने महिलालाई भविष्यको सम्भावित जोखिमबारे जानकारी दिने आधारका रूपमा यो अध्ययनलाई लिन सकिन्छ।
मिर्गौला रोगसम्बन्धी अन्तर्राष्ट्रिय संस्था केडिगोको सन् २०१७ को दाता मूल्यांकन निर्देशिकाले महिलासँग भविष्यमा सन्तान जन्माउने योजनाबारे सोध्नुपर्ने उल्लेख गरेको छ। पहिलेको गर्भावस्थामा उच्च रक्तचाप वा प्रि–एक्लाम्प्सिया भएको थियो कि थिएन भन्ने पनि बुझ्नुपर्छ।
भविष्यमा गर्भवती हुन चाहेकै कारण मात्र महिलालाई दानबाट वञ्चित गर्न नहुने निर्देशिकाको भनाइ छ।
बेलायतको एनएचएस ब्लड एन्ड ट्रान्सप्लान्टले पनि मिर्गौला दानपछि गर्भवती भएका महिलाको रक्तचाप, मिर्गौलाको काम गर्ने क्षमता र गर्भमा रहेको बच्चाको अवस्था नियमित जाँच्न सुझाएको छ।
दान गर्नुअघि र गर्भधारणको योजना बनाउँदा उपचार टोलीसँग व्यक्तिगत जोखिमबारे छलफल गर्नु यो अध्ययनको महत्त्वपूर्ण पक्ष हो।
नेपालका लागि यो अध्ययनले दानकर्ताको हेरचाहबारे केही प्रश्न उठाउँछ — दानअघि महिलालाई भावी गर्भावस्थाको जोखिम बुझाइन्छ कि बुझाइँदैन? दानपछि उनी गर्भवती हुँदा प्रत्यारोपण टोली र प्रसूति सेवा दिने चिकित्सकबीच समन्वय हुन्छ कि हुँदैन? नियमित जाँचको व्यवस्था कसले गर्छ?
मिर्गौला दानले परिवारको एक सदस्यलाई नयाँ जीवन दिन सक्छ। तर त्यो निर्णय गर्ने महिलाले आफ्नो स्वास्थ्यबारे पर्याप्त जानकारी, स्वतन्त्र निर्णयको अवसर र आवश्यक हेरचाह पनि पाउनुपर्छ।
अरूको जीवन बचाउने क्रममा महिलालाई आफ्नै जीवन र भावी मातृत्वबाट वञ्चित गराउनु हुँदैन।
***