त्यो मेरो गर्लफ्रेन्ड थिइन, कुनै पनि नाता थिएन। तर हरेक रात ऊसँग कुरा नगरी सुत्दिनथें। रातको ११:५७ बजेको थियो। म फोन छेउमा राखेर सुत्न लागेको थिएँ— आँखा अलिकति रातो, झ्याम्मिएको, आधा बेहोस अवस्थामा थिएँ, ह्वाट्सएपमा एउटा नोटिफिकेसन आयो— ‘सुतेर भयो?’
म मुस्कुराएँ।
किनभने मलाई थाहा थियो यो सन्देश कसको हो। विमलाको।
विमला। न त त्यो मेरो गर्लफ्रेन्ड थिई, न त हामीले कहिल्यै रिलेसनसिप भन्ने शब्दको अर्थ बुझ्ने प्रयास गरेका थियौँ। हामी दुईजना त्यस्ता मानिसहरू थियौँ जसले तिमी मेरो के हौ र? भन्ने प्रश्न सोध्नुको सट्टा आज के खायौ? भनेर सोध्थ्यौँ। तर विगत ८ महिनादेखि एउटा पनि रात यस्तो भएन जहाँ हामीले कुरा नगरेका होऔँ।
गुड मर्निङदेखि गुड नाइटसम्म हामी एकअर्काको बानी बनेका थियौँ। जसरी मानिसलाई बिहान चिया पिउने बानी हुन्छ, त्यसरी नै मलाई उनको सन्देश हेर्ने बानी भइसकेको थियो। यो बानी त्यति गहिरो थियो कि कुनै दिन उनको सन्देश नआए मलाई चिया नपिएको जस्तो अनुभव हुन्थ्यो, टाउको दुख्ने, चिडचिडाहट हुने, संसार नै बेकार लाग्ने।
म चितवन बस्थेँ, ऊ सुर्खेतमा बस्थी। तर दूरी कहिल्यै महसुस भएन किनभने ह्वाट्सएपको अनलाइन स्टेटसले दूरी मेटाउँथ्यो। हामी फेसबुक र मेसेन्जरमा कुरा गर्दैनथ्यौँ तर ह्वाट्सएपको लत बसिसकेको थियो किनकि हामीले कसैले भनेको सुनेका थियौँ, पढेका थियौँ, ह्वाट्सएपको मेसेज लिक हुँदैन।
बिहान ह्वाट्सएपमा कहिले मेसेज पठाउँथी, कहिले चिया र कफीको फोटो पठाउँथी। एआईले बनाएको फोटोमा चिया र कफीको कप समातेको आफ्नै फोटो पठाउँथी। त्यो फोटो यति सुन्दर हुन्थ्यो कि चिया र कफीको वाफले पनि प्रेमको सन्देश बोकेजस्तो लाग्थ्यो।
कहिले अफिसको फ्रस्ट्रेसन पठाउँथी— आज हाकिमले फेरि झर्को लाग्ने काम लगायो भन्दै बीस वटा क्रोधित इमोजी पठाउँथी। म टाढैबाट उनको हाकिमलाई गाली गर्थें, जसको नाम मलाई थाहा थिएन, न त मैले उनको अनुहार नै देखेको थिएँ।
कहिले र्यान्डम सेल्फी पठाउँदै अचानक कुनै बिहान ६ बजे हेर मेरो नयाँ लुगा भन्दै फोटो पठाउँथी। म त्यो फोटो हेरेर सुन्दर छ भन्थें। तर वास्तवमा म त्यो लुगा भन्दा लुगाभित्रको वास्तविकता सम्झँदै मुस्कान जनाउने इमोजी पठाउँथें, कहिले लाइक पठाउँथें त कहिले पानको आकृति पठाउँथें।
आँखा गाडेर उनको तस्बिर हेर्थें। जे देखिन्छ त्यो हेर्दैनथें, जे देखिँदैन, त्यो हेर्ने कुचेष्टा गर्थें। अनि अनौठो कुरा के थियो भने दिनभरि कोहीसँग कुरा नभए पनि, उनीसँग कुरा भयो भने दिन पूर्ण भएजस्तो लाग्थ्यो। मेरो दिनको अन्तिम पेज उनको सन्देशले मात्र पूरा हुन्थ्यो। सिनेमाको अन्तिम दृश्य नहेरेसम्म फिल्म अधुरो लागेजस्तै अवस्था थियो।
त्यो रात पनि उसले सोधी — ‘यदि म भोलिदेखि सन्देश पठाउन छोडें भने?’
मैले मजाकमा लेखें— ‘त्यो भए सायद फोन नै बदल्छु।’
ऊ हाँस्ने इमोजी पठाएर अफलाइन भई।
तर त्यो रात म पहिलो पटक त्यो प्रश्नको बारेमा सोच्न थालें।
साँच्चै यदि ऊ नभए त?
मैले आफ्नो फोनको ग्यालरी खोलेर हेरें— ८ महिनाको कुराकानी, हजारौँ सन्देश, अनगिन्ती इमोजी, र असंख्य हाँसेका क्षणहरू। यो सबै डिलिट भयो भने के हुन्छ?
मेरो मनले भन्यो— ‘केही हुँदैन, ऊ त साथी मात्र हो।’ तर मेरो मनले भन्यो— ‘बकवास नगर, तँलाई थाहा छ ऊ साथी मात्र होइन।’
भोलिपल्ट बिहान कुनै ‘गुड मर्निङ’ आएन।
मैले सोचें— ‘व्यस्त होला, अफिसको मिटिङ होला।’
दिउँसो... बेलुका... रात... केही आएन।
पहिलो पटक ह्वाट्सएप यति खाली लागिरहेको थियो कि कुनै विशाल मरुभूमिमा एक्लै उभिएको छु।
मैले सन्देश पठाएँ— ‘सबै ठीक छ?’
ह्वाट्सएपमा ‘सिन’ पनि भएन।
मैले फोन घुमाएर हेरें, डाटा अन-अफ गरें, ह्वाट्सएप रिस्टार्ट गरें, फोन रिस्टार्ट गरें, तर केही भएन। त्यो ‘सिन’ नभएको सन्देश मेरो मानसिक शान्तिसँग खेलिरहेको थियो।
दोस्रो दिन। फेरि केही आएन। तेस्रो दिन। अब बेचैनी हुन थाल्यो। म बारम्बार उनको च्याट खोल्थें, ‘लास्ट सिन’ हेर्थें, प्रोफाइल पिक्चर हेर्थें, तर केही थिएन।
मैले आफ्नो प्रोफाइल पिक्चर हेरेर सोचें— ‘के मेरो प्रोफाइल पिक्चर नराम्रो छ? के मैले नराम्रो फोटो राखें? के ऊ रिसाएकै हो?’
मैले मेरा सबै साथीहरूलाई सोधें— ‘विमलाको बारेमा केही थाहा छ?’
सबैले एउटै जवाफ दिए— ‘के हो? तँलाई नै थाहा छैन भने हामीलाई कसरी थाहा होला?’
मैले सोचें— ‘सायद मैले कुनै गलत इमोजी पठाएको थिएँ? कि 'हो' भन्दा 'हाँ' लेखेकोमा रिसाई?’
चौथो दिन राति अचानक फोन बज्यो। अज्ञात नम्बर।
मैले उठाएँ। अर्कोतिर त्यही विमलाको आवाज थियो। तर उनको आवाज पहिलेजस्तो थिएन। सुस्त, ढिलो, अलिकति मलिनो, लरबराएको जस्तो, कुनै भारी बोझ बोकेर हिँडिरहेको छ जस्तो।
उसले ढिलो गरी भनी— ‘मलाई लागेको थियो तिमीले कुनै सन्देश पठाउँदैनौ।’
म हाँसेँ। तर मेरो हाँसोभित्र अचम्मको पीडा थियो। मैले भनें— ‘पागल हो र?’
केही सेकेन्ड मौनता। त्यो मौनता यति गहिरो थियो कि फोनको ‘डल’ आवाज पनि सुनिन्थ्यो।
त्यसपछि उसले सोधी— ‘यदि म अर्काकै भएँ भने?’
मेरो मुटुको धड्कन रोकियो। साँच्चै मलाई लाग्यो मेरो छातीमा कोही बसेर हेर्दैछ।
मेरो स्वर निस्कियो— ‘मतलब?’
उसले भनी— घरका मानिसहरूले उनको विवाहको टुङ्गो लगाउँदैछन् रे, विवाहको मिति फिक्स गर्दैछन् रे।
कोठामा अचानक सन्नाटा छायो। त्यो सन्नाटा यति गहिरो थियो कि मैले आफ्नो मुटुको धड्कन मात्र सुनें— ढुक-ढुक! ढुक-ढुक! म केही बोल्न सकिरहेको थिइनँ।
किनभने पहिलो पटक मैले बुझें, मैले उनलाई केवल साथी मात्र ठान्दिनथें। मैले कहिल्यै स्वीकार गर्न चाहिनँ। किनभने स्वीकार गर्नुको अर्थ हुन्थ्यो, म पनि प्रेममा छु भन्नु। अनि प्रेममा हुनुको अर्थ हुन्थ्यो, जिम्मेवारी, डर, अस्वीकारको सम्भावना।
केहीबेरपछि उसले भनी— ‘केही बोल्दैनौ त?’
मैले गहिरो सास फेरें। त्यो सास यति गहिरो थियो कि फोनको माइक्रोफोनमा हावा चल्यो जस्तो। त्यसपछि ढिलो गरी भनें— ‘कहिलेकाहीँ सबैभन्दा ठूलो गल्ती यो हुन्छ कि हामी कसैलाई गुमाउँदासम्म यो बुझ्दैनौं कि त्यो हाम्रा लागि कति महत्त्वपूर्ण थियो।’
अर्कोतिर मौनता थियो। त्यसपछि मैले उनको हल्का सिस्की सुनें। त्यो सिस्की सुनेपछि मलाई आफैँ रुन मन लाग्यो र पहिलो पटक हामी दुवैले बुझ्यौं कि हामी को थियौँ। तर सायद धेरै ढिलो भइसकेको थियो।
फोन राख्नुअघि उसले एउटा कुरा मात्र भनी— ‘यदि हामीमध्ये कसैले अलिकति चाँडो सत्य बोलेको भए।’
कल कट्यो। अनि म रातभर त्यही खाली स्क्रिन हेरिरहें, जहाँ उनको अन्तिम सन्देश अझै लेखिएको थियो— ‘सुतेर भयो?’
मैले त्यो सन्देश पढें। फेरि पढें। अनि फेरि पढें। आँखाको पानीले स्क्रिन धुमिल भयो। मैले स्क्रिन पुछें, तर आँसु रोकिएनन्।
सोच्दा सोच्दै म यति गम्भीर बनेछु कि म किन गम्भीर बनें भनेर बिर्सेछु।
त्यो रातपछि मैले फोनको सिम बदल्ने सोचें। किनभने जब पनि म उक्त फोन हेर्थें, उनको सन्देश देख्थें। म नयाँ सिम किन्न गएँ। सिम मात्र हैन, फोनकै सेट बदल्ने सोच आयो र मोबाइल पसल गएँ। पसलेले सोध्यो— ‘कस्तो फोन चाहियो?’
मैले भनें— ‘यस्तो फोन जसमा ह्वाट्सएप नचलोस्।’
पसलेले अनौठो नजरले हेर्यो— ‘सर! तपाईंलाई ठीक छ?’
मैले भनें— ‘ठीक छैन। ठीक छ भने म फोन बदल्न आउँथें र?’
कुरा के हो भने, टेक्नोलोजीले प्रेमलाई सजिलो बनायो, तर ब्रेकअपलाई झन् गाह्रो बनायो। पहिले मानिसहरू चिठी पोस्ट गर्थे, पोस्टम्यानले तीन दिन लगाउँथ्यो, त्यतिबेलासम्म रिस चिसो हुन्थ्यो। अहिले ह्वाट्सएपको डिलिट बटन छ, तर मेटाउन नसकिने सम्झनाहरू छन्। अनि पसलेले भन्यो— बिर्सिदिनुस् न उसलाई।
मैले पसलेलाई भनें— ‘के तपाईं बिर्सन सक्नुहुन्छ?’ मैले फेरि थपें, ‘मैले ८ महिना उसलाई 'साथी' भनेर चिनें। अब 'प्रेमिका' भनेर चिन्न ८ महिना लाग्छ। अनि बिर्सन ८० महिना लाग्छ।’
पसलेले भन्यो— ‘त्यो भनेको त तपाईंले आफैँले आफैँलाई धोका दिनु हो।’
मैले भनें— ‘अहँ! म फोन निर्माता कम्पनीलाई धोका दिइरहेको छु, किनभने उनीहरूले मलाई 'प्रेम-सन्देशको लागि बनाइएको' फोन बेचिदिए।’
अन्त्यमा मलाई लाग्यो, के प्रेम ढिलो गरी व्यक्त गर्नु हार हो र?
कसै-कसैले भन्छन्— ‘प्रेम ढिलो गरी व्यक्त गर्नु हार हो।’
म भन्छु— हार होइन, अपरिपक्वता हो। किनभने जबसम्म मानिसले आफ्नो मनको कुरा भन्न सक्दैन, त्यो डरले हो, अस्वीकारको डर, सम्बन्धको डर, जिम्मेवारीको डर।
विमला र मेरो कथा एउटा सामान्य कथा हो, जुन आजको डिजिटल युगमा हजारौँ जोडीहरूको कथा हो। तिनीहरू ‘बेस्ट फ्रेन्ड’ भनेर चिनिन्छन्, तर ‘प्रेमी-प्रेमिका’ भन्न सक्दैनन्। तिनीहरू ‘गुड नाइट’ भन्नुअघि १० पटक सन्देश मेटाउँछन्, ‘आई लभ यू’ भन्दा डराउँछन्।
तर याद राख्नुहोस्, प्रेम व्यक्त गर्न कहिल्यै ढिलो हुँदैन, जबसम्म अर्को व्यक्ति अझै त्यहाँ छ। जब ऊ अर्काकै हुन्छ, तब चाहिँ ढिलो भइसकेको हुन्छ। त्यसैले, आज नै भन्नुहोस्, किनभने भोलि फोनको ब्याट्री सकिएला, डाटा समाप्त होला वा त्यो व्यक्ति नै समाप्त होला।
अन्तिम प्रश्न: के प्रेम व्यक्त गर्न ढिलो गर्नु हार हो?
म भन्छु, हो, तर त्यो हार त्यति पीडादायी छ कि जितभन्दा पनि गहिरो घाउ छोड्छ। किनभने जितमा पुरस्कार हुन्छ, तर यो हारमा सम्झनाहरू मात्र हुन्छन्।
अनि सम्झनाहरू... ती सधैँ रहन्छन्, जस्तै उनको त्यो अन्तिम सन्देश— ‘सुतेर भयो?’
हो, सुतें। तर निद्रा आएन। आँखा बन्द भए, तर मनको स्क्रिनमा उनकै फोटो थियो। अनि ओछ्यानमा पल्टिएर मैले सोचें— ‘यदि, मैले त्यो रात 'हो, म तिमीलाई माया गर्छु' भनेको भए।’
तर के गर्नु, अब त केवल ‘यदि’ शब्द मात्र बाँकी छ। अनि केही ‘गुड नाइट’ सन्देशहरू, जो कहिल्यै पठाइएनन्, कहिल्यै पढिएनन् र कहिल्यै बिर्सिने छैनन्।
यो कथा लेखिसकेपछि, आफ्नो फोन खोलेँ र त्यो विशेष व्यक्तिलाई ‘गुड नाइट’ भनेँ किनभने भोलि कसको हातमा के छ, कसैले जानेको छैन। त्यसैले मनमा बसेको मान्छेलाई गुड मर्निङ भन्न र गुड नाइट भन्न ढिलो गर्नु हुँदैन भनेर जानेँ।