निकोलाई पाब्लोभको जन्म सेन्ट पिटर्सबर्ग सहरको नजिकै ऐतिहासिक पुश्किन गाउँको एक मध्यम वर्गीय परिवारमा भएको थियो। यो गाउँको नाम पहिले सारस्कोये सेलो थियो तर पछि पुश्किन रहन गयो किनकि यो रुसका महान् प्रसिद्ध कवि अलेक्जेन्डर पुश्किनको जन्मथलो थियो। हो, निकोलाई त्यही प्रख्यात गाउँमा जन्मेर बाल्यकाल त्यतै बिताएको थियो।
सुरुवाती दिनहरूमा निकोलाई गाउँभर प्रख्यात थियो किनकि बाल्यकालदेखि नै ऊ कुराहरूलाई एकदम गहिरिएर खोतल्ने गर्थ्यो, उसलाई हरेक कुरा रहस्यमय लाग्थ्यो। त्यसैले साधारण गाउँलेहरू बिच ‘यति बच्चै उमेरमा पनि यति गम्भीर चिन्तनशील बच्चा’ भनेर उसको ख्याति फैलिएको थियो। मान्छेहरू उसलाई महान् कवि अलेक्जेन्डर पुश्किनकै पुनर्जन्मको रूपमा समेत तुलना गर्थे।
आज पर्यन्त पनि पुश्किन गाउँ (जुन अहिले धेरथोर बजारमा परिणत भइसक्यो)का बचेका उसका समकक्षी बुढापाकाबिच उसको चर्चा चल्ने गर्छ भलै निकोलाईले गाउँ छाडेको दशकौँ भइसकेको छ। चिकित्सक पिताको सेन्ट पिटर्सबर्ग सहर तिर सरुवा भएसँगै उसलाई पनि पिताले राम्रो पढाउन उतै लगेका थिए, छोरालाई पनि आफू जस्तै चिकित्सक बनाउने अभिलाषाका साथ।
पढाइमा तेज भए पनि अन्तरआत्मामा रहेको ‘संसारको रहस्य’ बुझ्ने भोकका कारण निकोलाईको संगत प्राय: साधु सन्तसँग हुन गयो र हुँदा-हुँदा बिस्तारै ऊ गाँजाको अम्मलमा समेत फस्न पुग्यो। पढाइ औसत चल्दै थियो जसले गर्दा उसले चिकित्साशास्त्र पढ्न पाउने सम्भावना न्यून हुँदै थियो। यत्तिकैमा एक मध्य हिउँदको कठ्याङ्ग्रिँदो चिसो दिन गाँजाको नशामा मस्त ध्यानमा आफ्नै कोठामा गुँडुल्किएर बसेको निकोलाईलाई कहिल्यै केही नभन्ने सादगी पिताश्री रिसको चुरमा आएर बर्फिलो चिसो पानी खन्याइदिनु भयो।
तालुबाट खनिएको चिसो पानीले संवेदनशील निकोलाईको गाँजाको नशा मात्र उतारेन, पिताश्रीलाई ‘देखाइदिने’ भूत पनि सवार गरायो। पिताश्री आफ्नो समयको राम्रा चिकित्सक भए पनि उनलाई कुनै ख्यातिप्राप्त विश्वविद्यालयको प्राध्यापक हुन नपाएकोमा ठुलै गुनासो थियो। त्यसैले किशोर निकोलाईले सोच्यो, ‘म प्रोफेसर बनेर बाउलाई देखाइदिन्छु।’
नभन्दै निकोलाई सुध्रियो। ऊ ‘रहस्य’को खोजी छाडेर दिनरात घरमै बसेर पढ्न थाल्यो र सेन्ट पिटर्सबर्ग सहरको प्रतिष्ठित पाभलोभ फर्स्ट सेन्ट पिटर्सबर्ग स्टेट मेडिकल युनिभर्सिटीमै प्रवेश पायो। निकोलाईको यो असाधारण उपलब्धिको प्रशंसा घर-परिवारमा मात्र होइन पूरै कुलघरानामा भयो। तर ‘प्रोफेसर बनेर बाउलाई देखाइदिने’ इखले नाम निकालेको निकोलाईको मन भने अझै त्यही इखले गर्दा उति खुसी हुन सकेको थिएन। तैपनि मनोविज्ञानको विश्व प्रख्यात ‘क्लासिकल कन्डिसनिङ’को सिद्धान्त प्रतिपादन गरेका इभान पाभ्लोभको नाममा स्थापित प्रतिष्ठित युनिभर्सिटीमा प्रवेश पाएकोमा भने ऊ घमन्डले फुलेल थियो।
चिकित्साको पढाइ सुरु भएसँगै निकोलाईको ‘रहस्य बुझ्ने’ जिजीविषाले फेरि टाउको उठाउन थाल्यो। बिस्तारै उसको बास फेरि युनिभर्सिटी नजिकका साधुसन्तका अखाडामा हुन थाल्यो र फेरि गाँजा ‘बुटी’को सेवन सुरु भयो। अब त ‘साधुसन्त’को संगतले गर्दा उसलाई चिकित्सा शास्त्र भन्दा तिनै ‘रहस्य’को खोजी गर्न रुचि लाग्न थालेको थियो र त्यो रुचिलाई गाँजाको सेवनले अझै मलजल गरेको थियो।
अब उसलाई बिस्तारै हो न हो ऊ महान् कवि अलेक्जेन्डर पुश्किनकै उत्तराधिकारी हुँ भन्ने लाग्न थालेको थियो। उसलाई किताबी अध्ययनमा कम र ‘मान्छे’को अध्ययनमा बढी रुचि लाग्न थालेको थियो। उसले आफ्ना हरेक साथीको बोलाइ, हिँडाइ, लवाइ, खवाइमा केही विशेष ‘प्याटर्न’ देख्न थालेको थियो, हरेक कुरामा केही अर्थ लुकेको देख्थ्यो। त्यसैले उसका साथीहरूले उसलाई ‘सन्तबाबा’ भनेर उडाउन थालेका थिए। तर उसलाई लाग्थ्यो हो न हो आफू कुनै ‘सन्त’ नै भइसक्यो।
उसका उडन्ते कुरा सुनेर मज्जा आउने हुनाले केटाहरू फुर्सद हुने बित्तिकै मनोरञ्जनको निम्ति उसको कोठामा आउन थालेका थिए। त्यसैले उसलाई झन्-झन् आफू ‘सन्त’ भइसकेको र अब बाहिर अखडामा जानु पनि आवश्यक नरहेको लाग्न थालेको थियो| त्यसैले ‘बुटी’ लिन बाहेक ऊ अखडातिर धाउन छाडेको थियो।
घरी घरी ऊ साथीहरूलाई सम्पूर्ण मानव स्वभावको रहस्य पत्ता लगाएर इभान पाभ्लोभभन्दा उच्च कोटीको वैज्ञानिक बन्ने बताउँथ्यो र त्यसको लागि आफू गम्भीर साधनामा लागेको भन्थ्यो। उसको त्यो गम्भीरता र आत्मविश्वास देखेर विशेष गरी पहिलो, दोस्रो वर्षका उरन्ठेउला केटाहरू झनै ऊबाट प्रभावित हुन थालेका थिए र उसको कोठा एक किसिमले नयाँ अखडा नै बनिसकेको थियो। अब नयाँ केटाहरू पनि गाँजाको लतमा पर्न थालिसकेका थिए। यस सुरमा निकोलाईले ‘बाउलाई देखाइदिने’ इख पनि बिर्सिसकेको थियो।
तेज बुद्धिको भएकाले पढाइमा जसोतसो पास गर्दै थियो। चौथो वर्षको वार्षिक परीक्षा सकेर घर जानुपर्ने निकोलाई यस पटक आफ्नै होस्टेलको अखाडामा बसेर ध्यानमा समय बिताउने निधो गर्यो र अरू केही केटाहरू पनि उसकै अखडामा जमेर बसे। उता पिताश्री चिन्तामा परे- सदाजसो वार्षिक परीक्षापछि घर आउने छोरो आएन भनेर।
यत्तिकैमा निकोलाईको वार्षिक परीक्षाको रिजल्ट घर पुग्यो, पिताश्री छाँगाबाट खसेझैँ भए, किनकि निकोलाई धेरै विषयमा फेल भएको थियो। घोडचढीमा अस्पताल जान तयार पिताश्री यो नतिजाका कारण दुःख, रिस, लज्जा र क्षोभले चुर भएर ठाडै निकोलाईको होस्टेलतिर हानिए। होस्टेल पुग्दा निकोलाई गाँजाको नशामा लट्ठ भएर केटाहरूको बिचमा बसेर ‘नित्सेको निस्सारतावाद’को व्याख्या गर्दै रहेछ।
रिसको झोकमा पिताश्रीले निकोलाईलाई ताकेर फट्कारेको घोडाको चाबुकले बालबाल दाहिने आँखा छल्दै निधारको बिचोबिच यसरी बज्रियो कि निकोलाई पुर्लुक्क भुइँमा लड्यो भने केटाहरूको भागाभाग भयो। उति बेलाको त्यो चाबुकको दाग आजपर्यन्त निधारको केन्द्रमै टीका जस्तै भएर बसेकै छ। खैर, एकाध घण्टापछि होसमा आउँदा निकोलाई गाँजाको नशाबाट मात्र उत्रेको थिएन ‘बाउलाई देखाइदिने’ त्यो पुरानो इख फेरि बौरिएको थियो र फेरि निकोलाई सुध्रियो।
हुन त उसलाई आफू फेल हुनुमा कक्षामा जीवनको रहस्य खोज्न आफूले सोध्ने ‘उच्च कोटीका’ प्रश्न मन नपराएका प्रोफेसरहरूको कारण हो भन्ने नै लागेको थियो तैपनि उसले टुप्पी कसेर पढेर ब्याक लागेका विषयहरू पास मात्र गरेन, चिकित्साशास्त्रको अन्तिम परीक्षा पनि सरासर पास गर्यो।
पिताश्री फेरि खुसी भए तर ‘बाउलाई देखाइदिने’ इख सवार भएको निकोलाई प्रोफेसर नबनेसम्म थामिने मुडमा थिएन। उसलाई जसरी हुन्छ ‘प्रोफेसर’ बन्नु थियो। त्यसैले यस बिचमा उसलाई मानव रहस्य बुझ्न मनोचिकित्सा वा मनोविज्ञानभन्दा बेहोसी विज्ञान बढी प्रभावकारी हुने लाग्न थालेको भए पनि मनोचिकित्सा पढ्ने मौका मिलेकाले त्यही विषय पढ्न थाल्यो- अर्जुन दृष्टि त्यही थियो ‘प्रोफेसर बनेर बाउलाई देखाइदिने।’
जसै मनोचिकित्सा पढ्न थाल्यो, निकोलाईको ‘मानव रहस्य’ बुझ्ने कौतुहलताले फेरि टाउको उठाउन थाल्यो। सुरु सुरुमा फ्रायडका यौन मनोविज्ञानका सिद्धान्त, सपनाका सिद्धान्त, एरिक एरिक्सनका मनोसामाजिक विकासका सिद्धान्त, जाँ पिआजेका संज्ञानात्मक विकासका सिद्धान्त आदिमा केही रुचि लागे पनि उसलाई यी सबै अपूरो भएको लाग्न थालेको थियो र फेरि आफैँले अन्वेषण गरेर यो ‘मानव स्वभावको रहस्य’ पत्ता लगाउने निष्कर्षमा पुगेको थियो। त्यसैले फेरि ऊ आफूले हेर्ने बिरामी मात्र होइन, आफ्ना सहकर्मी अनि आफ्ना प्राध्यापकहरू सबैको व्यवहारमा विशेष रहस्य देख्न थालेको थियो। यो रहस्यमा फेरि सुरु भएको गाँजा सेवनले मलजल गर्दै थियो।
उसलाई बिरामीले देखाउने अस्वाभाविक व्यवहारमा मात्र होइन, अर्को टेबलमा बिरामी हेर्दै गरेको सहकर्मीले कलम टोक्दा होस् वा बिरामीको बारे छलफल गर्न बस्दा प्राध्यापकले हल्लाउने खुट्टा, हरेकमा उसले कुनै सन्देश देख्न थालेको थियो। एक दिन छलफल गर्दै गर्दा झुक्किएर एक कनिष्ठ सहकर्मीले गिलास झारेर फुटाउँदा पनि उसले त्यसमा विशेष सन्देश देखेको थियो। उसले भन्न चाहिँ ‘आहा हेर्नुस् त, त्यो गिलास कसरी ठ्याक्कै यति मिलेर फुट्यो’ भनेको थियो तर त्यसै बखत उसलाई पक्कापक्की लागिसकेको थियो कि त्यो सहकर्मीले ‘उसलाई पनि त्यही गिलास फुटाए जस्तै चकनाचुर पारेर फुटाउँछु’ भनेर संकेत गरेको थियो।
तत्काल उसले पत्ता लगाएको त्यो रहस्यले ऊ भित्रभित्रै यति काँपेको थियो कि त्यो सम्झँदा आजको प्रोफेसर निकोलाईको मन पनि उत्तिकै काँप्थ्यो। त्यो दिनदेखि नै उसलाई पक्कापक्की लागेको थियो कि त्यो सहकर्मीले जोसँग बोल्छ, त्यो व्यक्ति पनि उसलाई ‘चकनाचुर’ पार्ने षड्यन्त्रमा लागेको छ, जे बोल्छ उसैलाई पेच पार्ने गरी बोलेको छ।
एक दिन त्यो सहकर्मीले आफूले वार्डमा हेरेको बिरामी राति बेहोस भएकोले आएर हेर्दा पनि उसैलाई दोष लगाउन त्यसरी राति आएर हेरेको हो भन्ने लागेको थियो। त्यसैले त्यो थाहा पाउने बित्तिकै रातभर उसलाई निद्रा परेको थिएन। भोलिपल्ट उसले सोचे जस्तो कसैले उसलाई केही दोष लगाएन तर पनि उसलाई त्यो कुराले यति असर गरेको थियो कि वार्डमा त्यो बिरामी देख्यो कि ‘मलाइ दोषारोपण गर्छन्’ भनेर त्राहिमाम् हुने भएकाले बिचरा त्यो बिरामीलाई अर्कै वार्डमा सारिदियो। तर उसले मुखले चाहिँ ‘बिरामीको हितको’ लागि भनेको थियो।
त्यस्तै एक दिन हिँड्दा एउटा कनिष्ठ सहकर्मी ठिक्क ऊभन्दा अगाडि परेछ, उसका खुट्टाका हरेक चालले केही रहस्य भनेको जस्तो लागेर हेर्न थाल्यो। खुट्टा उचाल्दा जुत्ताको पैतालामा खिइएर एकातिर देखिएको सेतो भागले उसलाई ‘त्यस्तै सफेद पारेर सक्काइदिन्छु’ भनेर भन्दै छ भन्ने लागेर उसले ‘आफूलाई सक्काउनु भन्दा अगाडि उसैलाई सक्काइदिन्छु’ भनेर पछाडिबाट हानेर लडाइदिने सोच्दै थियो। तर त्यही बेला कुनै ढुंगामा नराम्रो ठेस लागेर ऊ होसमा आयो र त्यो दुर्घटना टर्यो। त्यस यता ऊ सकेसम्म त्यो सहकर्मी छेउ पर्ने छाडेको थियो किनकि उसको उपस्थिति मात्रले पनि उसको आँत सुक्ने गरी भित्रभित्रै डर पैदा हुन्थ्यो जुन कम गर्न आज प्रोफेसर निकोलाई एक फाँको रसियन सुर्ती बलले च्यापेर बस्थ्यो।
उसलाई आफूले बुझेको ‘मानव स्वभावको रहस्य’ बाट प्रतिपादित आफ्नै उपचार पद्धति मनोचिकित्साका कतिपय स्थापित उपचार पद्धतिभन्दा उच्च लाग्थ्यो। त्यसैले एक पटक आत्महत्याको प्रयास गरेको कारण उपचारका लागि अस्पतालमा भर्ना गरेको बिरामीले उसले आफूले प्रतिपादित गरेको अत्यन्त प्रभावकारी उपचार पद्धति प्रयोग गर्दा समेत फेरि आत्महत्याको प्रयास गरेको भनेर बिरामीलाई रातारात कुटपिट गरेको थियो। बिरामीमाथि नै कुटपिट गरेको यो घटना जघन्य अपराध थियो र यो घटनाले विभागमा ठुलै हङ्गामा भयो। उसलाई भित्रभित्रै चाहिँ आफूले प्रतिपादित गरेको आफ्नो प्रभावकारी उपचार सिद्धान्त प्रयोग गरेको भन्ने नै लागेको थियो तर ठुलै हङ्गामा भएपछि उसले माफी मागेर टार्यो र अस्पतालले पनि उसलाई दया गरेर क्षमादान गर्यो। तर ऊ आफूले उक्त बिरामीलाई कुटपिट हैन उपचार गरेको भनेर दृढ विश्वासमै छ र बेला बखत रक्सीले मातिँदा आजको प्रोफेसर निकोलाई आज पर्यन्त केही दयालु सहकर्मीका कानमा खुसुक्क ‘मैले त्यो बिरामीलाई उपचार गरेको हो नि, त्यसैले त्यो बिरामी भोलिपल्टै पूरै ठिक भएको थियो’ भनेर दाबी गर्थ्यो।
अरू सहकर्मीले गरेको उपचारको खिल्ली उडाउँथ्यो र चिकित्सकीय मर्यादा विपरीत बिरामीहरूसँग आफ्ना सहकर्मी चिकित्सकहरूको कुरा काट्थ्यो। एक पटक एउटा कर्मचारीलाई उसले त्यसरी कुरा काटेको पटक्कै चित्त नबुझेकाले त्यसको प्रतिवाद गर्दै ‘अरू सबैको यति धेरै बिरामी हुन्छन् तर तपाईंको त यत्रो वर्षमा पनि किन फाट्टफुट्ट मात्र बिरामी हुन्छन् त?’ भनेर प्रश्न गर्दा उसले ‘आफूले प्रतिपादन गरेको उच्चस्तरीय उपचार पद्धतिले उपचार गरेका सबै बिरामी पूर्ण रूपमा ठिक हुने भएकाले फेरि फलोअपमा आउनु नपर्ने भएर त्यसो भएको’ भन्ने जवाफ दिएको थियो।
यसरी ‘प्रोफेसर बनेर बाउलाई देखाइदिने’ इख लिएर मनोचिकित्सा पढ्न थालेको निकोलाई फेरि ‘मानव स्वभावको रहस्य बुझ्ने’ खोजमा डुब्दा जसोतसो मनोचिकित्सामा पास त भयो तर यस बिचमा ‘प्रोफेसर बन्ने’ इख बिचैमा बिलायो र ऊ वर्षौँ बिना प्रमोसन अल्झिरह्यो।
यस्तैमा एक साल आफ्नो अवकाश पनि भएको अवसर पारेर पिताश्रीले परिवारका सबै सदस्यलाई आमन्त्रण गरेर थ्यांक्सगिभिङ रात्रिभोज आयोजना गर्नुभयो जहाँ निकोलाई पनि पुगेको थियो। उसलाई अब आफू सिद्धहस्त मनोचिकित्सक भइसकेको र ‘मानव स्वभावको रहस्य’ सबै बुझिसकेकोमा घमन्डका साथ उपस्थित भएको थियो। तर सबैलाई धन्यवाद दिन पिताश्री बोल्दै गर्दा निकोलाईले पिताश्रीलाई रोक्दै ‘तपाईंले बोल्दै गर्दा त्यो शिरको टोपी त्यसरी मिलाउनु र ख्याक्क खोक्नुको रहस्य चाहिँ बुझिएन नि पिताश्री’ भनेपछि पिताश्रीले ‘थुइक्क, यो बुढेसकालमा पनि अझै सुध्रिनस्?’ भनेर शब्दवाण प्रहार गरेपछि निकोलाईको त्यो ‘प्रोफेसर बनेर देखाइदिने’ इखले फेरि फणा उठायो।
त्यहाँबाट एक शब्द नबोली निस्केको निकोलाई फेरि ‘मानव स्वभावको रहस्य बुझ्ने’ धुनबाट निस्केर साम दाम दण्ड भेद प्रयोग गरेर एकैचोटि प्रोफेसर बन्यो। अब प्रोफेसर निकोलाईलाई ‘बाउलाई देखाइदिने’ कुनै इख बाँकी रहेन न त ‘मानव स्वभाव बुझ्नुपर्ने’ कुनै जरुरत नै। अब उसलाई आफू सिद्धहस्त भइसकेकोले आफूले प्रतिपादन गरेको उपचार पद्धति प्रयोग गर्ने कुनै बन्देज पनि छैन भन्ने पूर्ण विश्वास थियो।
भर्खरै उसले उन्मादको मनोरोगले समस्या भएर अस्पताल भर्ना भएकी एक युवतीलाई आफूले प्रतिपादन गरेको उत्कृष्ट उपचार पद्धतिअनुसार उपचार गर्दा पनि अझै उन्मादपूर्ण व्यवहार देखाएको भनेर हातपात गरेको थियो। तर अब उसले माफी माग्नु पर्दैन किनकि विभागमा कसैले पनि ‘प्रोफेसर निकोलाई’ माथि प्रश्न गर्न सक्दैन- सबै सहकर्मी सबै प्रक्रिया मिचेर प्रोफेसर हुन पुगेको उसको पछाडि ठुलै शक्ति हुनुपर्छ भन्ने विश्वास गर्थे। तर उसलाई एउटा मात्र डर थियो, दशकौँ अघि भूलवश टेबलबाट गिलास खसाएर फुटाएको त्यो सहकर्मीले कुन दिन उसलाई त्यो गिलास फुटाएजस्तै चकनाचुर पार्छ। त्यसैले प्रोफेसर निकोलाई त्यो सहकर्मीले आफूलाई चकनाचुर पार्नु अघि नै कसरी उसलाई चकनाचुर पार्ने भन्ने ध्याउन्नमा थियो।
एक दिन प्रोफेसर निकोलाई अफिस आएन र बिना सूचना एक हप्ता नै आएन। त्यसपछि अविवाहित (तीन-तीन पटक विवाह भए पनि सबै पत्नीले उसको ‘रहस्य बुझ्ने’ कौतुहलताबाट आजित भएर छोडेका थिए) निकोलाईको कोठामा मान्छेहरू हेर्न जाँदा कोठाको मूल ढोका भित्रबाट बन्द थियो र केही कुहिएको गन्ध आइरहेको थियो। आत्तिएर सबैले प्रहरी बोलाए र प्रहरीले बलपूर्वक ढोका फोडेर हेर्दा प्रोफेसर निकोलाई कोठामा बत्तीको झुमर मुनी रगताम्य लडिरहेको भेटे। उसको घाँटीमा र छातीमा झुमरबाट खसेर झरेका केही सिसाका टुक्राहरू धसिएका थिए र शरीर कुहिन थालेको थियो।
घटना रहस्यमय भएकाले प्रहरीले तत्काल घटनास्थलको मुचुल्का उठाएर लास पोस्टमार्टमको लागि पठायो र घटनास्थलमा भएको केही थान शंकास्पद डायरी र गाँजा जस्तो देखिने केही पोकाहरू पनि लिएर गयो। सबै स्तब्ध थिए, के भएको हो भनेर मान्छेहरूले अनेक थरी लख काट्न लागे। तर भोलिपल्टै घटनाले थप नाटकीय मोड लियो।
प्रहरीले निकोलाईको विभागको एक सहकर्मी पावेल पुश्किनलाई निकोलाईको हत्या गरेको आशंकामा पक्राउ गर्यो। कारण थियो निकोलाईले आफ्नो डायरीमा पटक पटक आफूलाई पावेलबाट खतरा भएको उल्लेख गरेको थियो र निकोलाईसँग घनिष्ठ सम्बन्ध भएको उक्त विभागकै अर्को एक सहकर्मीले पनि निकोलाईको हत्या पावेलले नै गरेको हुन सक्ने थप सुराक दिएको थियो। यता आफूलाई दुःख नै दिएको भए पनि एक्कासि आफ्नो सहकर्मी गुमाउनु पर्दा स्तब्ध भएको पावेल प्रहरीले यसरी एक्कासि आफूलाई नै पक्राउ गरेकोमा तीन छक्क परेको थियो।
उता प्रहरीको अनुसन्धान अधिकृतले निकोलाईको थप डायरीहरू अध्ययन गर्दै जाँदा निकोलाईको मानसिक सन्तुलनमाथि आशंका पैदा भएकाले उक्त डायरीहरूको थप विश्लेषण गर्न विज्ञको राय चाहिने भनी सिफारिस गर्यो। हुन पनि दुर्घटनावश गिलास फुटेको घटनालाई जोडेर निकोलाईले आफ्नो सहकर्मी पावेलमाथि ‘उसले आफूलाई पनि त्यसै गरी चकनाचुर पारेर फुटाउँछु’ भनेर संकेत गरेको उल्लेख गरेको थियो जुन उक्त अधिकृतको समझ बाहिरको कुरा थियो। त्यस्तै निकोलाईले अर्को ठाउँमा ‘आफू महान् कवि पुश्किनको अर्को रूप भएको र सहकर्मी पावेल पुश्किनले पनि आफूलाई ‘महान् कवि पुश्किन’को उत्तराधिकारी सम्झिने हुनाले ऊप्रति आरिस गरेर उसलाई मार्ने षड्यन्त्र गरेको छ’ भनेर ठोकुवा गरेको थियो।
अर्को एक ठाउँमा विभागको एक बैठकको उल्लेख गर्दै (जुन बैठकमा निकोलाईले एक सहकर्मीलाई मौखिक दुर्व्यवहार गरेकाले त्यसको भर्त्सना गर्दै निकोलाईलाई सचेत गराउनु पर्ने कुरा उठेको थियो) कसरी उक्त बैठकमा उसलाई दिन दहाडै मारेर त्यहीँ गाडेर लास बेपत्ता बनाउने प्रपञ्च भएको थियो र उसले बैठकबाट भागेर ज्यान जोगायो भनेर एकदमै अविश्वसनीय कुरा उल्लेख गरेको थियो। त्यस घटनापश्चात् कसरी उसले पावेलले विभागमा पटक पटक ‘उसले हाम्रो मार्ने योजना थाहा पाइसकेकाले हाम्रो विरुद्ध उजुरी हालेर दुःख दिन सक्छ, त्यसैले उसलाई कुनै पनि हालतमा मार्नुपर्छ’ भनेर अरूलाई भनेको कोठामै बसेर आफूले प्रस्ट सुनेको थियो भनेर पनि उल्लेख थियो। त्यसै कारण ऊ महिनौँ अफिस नगएको र अफिस वरिपरि पुग्दा जहिल्यै आफूले अरू सहकर्मीहरू बसेर मिलेर उसलाई मार्ने प्रपञ्च रचेको सुन्ने गरेको पनि उल्लेख गरेको थियो।
जब अधिकृतले डायरीको सबैभन्दा अन्तिम पाना पढ्यो, तब ऊ निश्चित भएको थियो कि प्रोफेसर निकोलाईको मगज त पूरै सड्किसकेको रहेछ। अन्तिम पानामा निकोलाईले अब पावेलले आफूलाई मार्ने निश्चित जस्तै भएकाले कुनै पनि हालतमा त्यसअघि नै उसलाई मार्नुपर्ने स्थिति भएको उल्लेख गरेको थियो। त्यसको निम्ति उसले केही दिन पावेलसँग मिलेजस्तो गर्ने र उसलाई आफ्नो कोठामा डिनरको लागि आमन्त्रित गर्ने अनि सिसैसिसाले बनेको बत्तीको त्यो ठुलो झुमर कुनै तरिकाले पावेलको शरीरमाथि झारेर उसलाई मार्ने योजना बुनेको थियो। पावेललाई डिनरको लागि बोलाउनु अघि नै दुर्घटनावश झुमर उसैमाथि झरेर त्यो घटना घटेको निष्कर्षमा अधिकृत पुगेको थियो।
यस बिचमा अनुसन्धान अधिकृतको सिफारिसअनुसार जिल्ला वकिलको कार्यालयले सेन्ट पिटर्सबर्ग मनोचिकित्सक संघको अगुवाइमा विज्ञ टोली गठन गरेको थियो जसले अधिकृतको आशंका पुष्टि गर्दै निकोलाईको डायरीहरू र उपलब्ध जानकारीहरूको विश्लेषण गर्दा निकोलाई लामो समयदेखि व्यक्तित्व विकारको मनोरोग, साइकोसिसको गम्भीर मनोरोग र गाँजाको समेत दुर्व्यसनमा परेको रिपोर्ट दियो। साथै त्यस्तो गम्भीर मनोरोग र समस्याका बाबजुद कसरी निकोलाईले त्यत्रो लामो समय बिरामीको उपचारमा संलग्न भयो त्यसको समेत थप अनुसन्धान हुनुपर्ने सिफारिस गर्यो। यी सबै रिपोर्ट पश्चात् घटनाको २५औँ दिन जिल्ला वकिलको कार्यालयले निकोलाई गम्भीर मनोरोगहरूबाट ग्रसित रहेको र दुर्घटनावश उसको मृत्यु भएको निष्कर्षका साथ पावेल निर्दोष भएको भन्दै हिरासतबाट निकाल्ने आदेश दियो। साथै यस बिचमा अनाहकमा निर्दोष पावेलले हिरासतमा बसेर प्रताडना भोग्नु परेकोले सरकारले उसलाई क्षतिपूर्ति स्वरूप एक महिनाको तलब बराबरको रकम दिनुपर्ने समेत आदेश दियो।
त्यसपछि रिहा भए पनि जीवनमा कुनै कानुन नतोडेको पावेल विना कसुर त्यसरी २५-२५ दिन हिरासतमा बस्नु परेको पीडाले मरेतुल्य भइसकेको थियो। निकोलाई त मनोरोगी भएकोले त्यसो गर्यो भनेर उसले चित्त बुझाउने कोसिस गर्दै थियो तर जब उसले थाहा पायो कि उसको अर्को सहकर्मीले पनि निकोलाईकै लहैलहैमा लागेर ऊ विरुद्ध हत्याको पोल लगाएको थियो, त्यो पीडाले ऊ विक्षिप्त प्रायः भएको थियो। त्यसैले रिहा हुने बित्तिकै ऊ सेन्ट पिटर्सबर्गको प्रख्यात सन्त आइज्याक क्याथेड्रल गयो। आफूलाई अनाहकमा दुःख दिए पनि अहिले मरिसकेको निकोलाईको आत्माको चीर शान्तिको कामना र उसका सबै पापको निम्ति माफी माग्यो।
अनि उसको विरुद्ध पोल लगाउने अर्को सहकर्मीको दुष्टआत्माको शान्तिको निम्ति प्रभु येसु समक्ष भावपूर्ण प्रार्थना गर्यो र भारी मनका साथ भोलिपल्टै सपरिवार सधैँका निम्ति सेन्ट पिटर्सबर्ग छाड्यो।