भारतको राजधानी नयाँदिल्लीमा जारी सरकारविरोधी आन्दोलनका सहभागीविरूद्ध प्रहरीले कम्तीमा तीनवटा मुद्दा दर्ता गरेको छ।
आन्दोलनसँग सम्बन्धित सामग्री सार्वजनिक गर्ने १७ वटा सामाजिक सञ्जाल एकाउन्टमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
शुक्रबार भएको 'लहरा दो तिरंगा' प्रदर्शनपछि दिल्ली प्रहरीले विभिन्न मुद्दा दर्ता गरेको हो।
भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' ले आइतबार बिहान प्रकाशित गरेको समाचार अनुसार मुद्दामा कक्रोच जनता पार्टी (सिजेपी) का संस्थापक अभिजीत दिप्के, अखिल भारतीय विद्यार्थी संघ (आइसा) की अध्यक्ष नेहा बोरा र आम आदमी पार्टीका नेताहरूको नामसमेत समावेश छ।
प्रहरीले उनीहरूमाथि निषेधाज्ञा उल्लंघन गरेको, सडकमा जुलुस निकालेको र सुरक्षाकर्मीको काममा अवरोध पुर्याएको आरोप लगाएको छ।
कनट प्लेस र मन्डी हाउस प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामा भारतीय न्याय संहिताको धारा २२३ प्रयोग गरिएको छ।
प्रहरीले प्रदर्शनस्थलका सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओका आधारमा थप प्रदर्शनकारीको पहिचान गरिरहेको छ। मुद्दा दर्ता भएका केही व्यक्तिलाई अनुसन्धानमा उपस्थित हुन निर्देशनसमेत दिइएको छ।
यसैबीच 'इन्डियन एक्सप्रेस' ले आइतबार प्रकाशित गरेको समाचार अनुसार प्रहरीले कम्तिमा १७ वटा सामाजिक सञ्जाल एकाउन्टमाथि अनुसन्धान अघि बढाएको छ।
प्रदर्शन क्रममा भएका झडपसम्बन्धी भिडिओ, अपमानजनक टिप्पणी र भ्रामक सामग्री फैलाएको आरोपमा ती एकाउन्टमाथि कारबाही प्रक्रिया सुरू गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले सामाजिक सञ्जाल 'एक्स' लाई पत्र लेखेर सम्बन्धित एकाउन्टका प्रयोगकर्ताको पहिचान, दर्तासम्बन्धी विवरण र आइपी लग उपलब्ध गराउन आग्रह गरेको छ।
विद्युतीय माध्यमबाट नक्कली भिडिओ र गलत सूचना फैलाएर सार्वजनिक शान्ति खलल पुर्याउन खोजेको आरोपमा छुट्टै मुद्दासमेत दर्ता गरिएको छ।
तर प्रहरीले आरोप लगाएका सबै भिडिओ नक्कली भएको स्वतन्त्र पुष्टि भइसकेको छैन।
यसैबीच शुक्रबार नियन्त्रणमा लिइएका कक्रोच जनता पार्टीका संस्थापक दिप्के शनिबार रिहा भएका छन्।
प्रहरीले करिब २४ घन्टा नियन्त्रणमा राखेपछि उनलाई विशेष कार्यकारी मजिस्ट्रेटसमक्ष उपस्थित गराएको थियो।
एक वर्षसम्म शान्ति कायम राख्ने लिखित प्रतिबद्धतामा हस्ताक्षर गराएपछि उनलाई सशर्त रिहा गरिएको रोयटर्सले जनाएको छ।
विद्यार्थी नेतृ नेहा बोरा पनि शनिबार बिहान रिहा भएकी छन्।
रिहाइपछि दिप्केले सरकारले विरोधका आवाज दबाउन खोजेको आरोप लगाएका छन्। बोराले समेत प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्ने आन्दोलन जारी राख्ने बताएकी छन्।
शनिबार दिल्ली प्रहरी मुख्यालयबाहिर पनि प्रदर्शन भएको थियो। त्यहाँ भेला भएका आन्दोलनकारीले आफूमाथि कुटपिट गरेको आरोप लागेका प्रहरी अधिकारीविरूद्ध मुद्दा दर्ता गर्न माग गरेका थिए।
प्रहरीले भने निषेधित क्षेत्रमा अनुमतिबिना प्रदर्शन गरिएको र सार्वजनिक व्यवस्था कायम राख्न कारबाही गर्नुपरेको जनाएको छ।
भारतमा मतदाता सूचीको विशेष सघन परीक्षण (एसआइआर) प्रक्रियामा भएको कथित अनियमितताविरूद्ध आन्दोलन भइरहेको छ। प्रदर्शनकारीहरूले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आएका छन्।
शुक्रबार दिल्लीको कनट प्लेस क्षेत्रमा भएको प्रदर्शनमा सयभन्दा बढी मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
आन्दोलनका अगुवाहरू रिहा भए पनि मुद्दा दर्ता र थप प्रदर्शनकारीको पहिचान गर्ने प्रहरीको प्रक्रिया जारी छ।