अलिकति संवेदना जीवित भएको भए
तिमी निर्लज्ज हाँस्ने थिएनौ
अकाल मृत्युमा।
मृत्यु सामयिक हुन सक्दैन
शोक व्यक्त गर्छ समय
आफन्तहरू बिलौना गाउँछन्
बगाउँछन् अश्रुधारा
सहानुभूतिका स्वरहरू सुनिँदैनन्
मानवता रोई बस्छ
विवेकहीन मान्छेहरूको चटाई खाएपछि।
अबोध बालकहरू
आमाको काख खोज्छन्
मुक्ति युद्धमा सामेल छन् आमाहरू
काम तमाम नगरी
फर्कने छैनन् तिनीहरू
अधकल्चो सपना बोकेर
नानीहरूको मुहार सम्झँदै
सुस्केरा हाल्न विवश छन् आमाहरू।
युद्धले नमिठो पीडा छोडेर गयो
फर्केनन् छोराछोरी
वृद्ध बा-आमा टोलाई बस्छन्
कर्कश स्वरमा झ्याउँकिरी कराउँछन्
साँझमा जुनकिरी पिलपिलाउँदैनन्
मूलबाटो सुनसान छ
रित्तै छ फलैँचा
सुनिँदैन पदचाप
रात रोएर बित्छ।
तर्दै आऊ
आँसुका नदी
गाउँदै आऊ
दुःखका गीत
लाउँदै आऊ
अमर प्रीत
सान्नानी गर्तमा फसेकी छे
जीवन मरणको लडाइ लड्दै
तिमीले दिएको संकल्पको डोरी
स्नेहले सुमसुम्याउँछे
तिम्रो आकृति आँखामा सजाएर
छर्लङ्ग रात कटाउँछे
बेचैनी छ मन
मनका ढोका उदाङ्गै राखेर
विरह गाउँदा
न्याउली चरी रोएर साथ दिन्छे।
झरनाको कलकल पानी जस्तो
बगी हिँड्ने जिन्दगी
मृत्युले खाइदिन्छ
मृत्युलाई जित्न सकेन मान्छेले
पराजित मानसिकता बोकेर
शिखर चढ्न सक्दैन मान्छे
जुगुप्सा नपाल
सफेद बनाऊ मन
हार भाग्ने छ दूर
मृत्यु डराउने छ
तिम्रो संकल्प यात्रा देखेपछि।