मरेको बूढो रुखमा
टाँसिएको छ हजार लहरा
विगतसँग पनि
यो कस्तो मोह!
अभावले भरिएका
ए प्रेमका मतियारीहरू हो
म यहीँ छु
खोज्न आऊ फेरि यहीँ मलाईक
मैले जप्दै गरेका मोह इच्छाहरूमा
सुमसुम्याओ मलाई समेटेर
ढल्दै गरेको मलाई लाग्छ
अझै ममा दुई अंश प्रेम बचेको छ
मरेको बूढो रुखमा
अझै टाँसिएको छ हजार लहरा
मर्दै जाँदा पनि विगतसँग
यो कस्तो मोह!
अघि या पछि
ऊ आउनु नै थियो
मैले भयले ढोका थुनिराखेँ
बन्द ढोकाभित्र
मेरा मोहका हजार रंग
मेरा तृष्णाका हजार रंग
बन्द दिवार भित्र
मेरा मृगमरिचिकाका झुन्डै झुन्ड
आखिर उसले ढोका तोडेरै छिर्यो
म अब त्यही मरेको बूढो रुख
ममा अझै टाँसिएका हजार लहरा
मर्दै जाँदा पनि विगतसँग
यो कस्तो मोह!