एकान्तमा राष्ट्रिय गान सुन्दै
जब बस्छु म कविता कोर्न
वरिपरि देख्छु
म धमिला अनुहारहरू!
मेरा शब्दहरूमा
आफूलाई बोकेर आउनेहरू
को होलान्?
के जात होला यिनको?
कुन धर्मका होलान्?
मानिस भएर
मानिसजस्तो बाँच्न पाए कि नाइँ?
स्वाभिमान बेचेर पनि
दुई छाक टार्न पाए कि नाइँ?
यिनीहरूलाई कसले मार्यो होला?
किन मार्यो होला?
कति ठुला–ठुला
कारण होलान् यिनको मृत्युको!
सपनाहरूको डोरीमा अल्झिएर
त पक्कै मरेनन्
जाबो हजार रुपैयाँ नपुगेर
त के मर्लान् र?
केही भन्न खोजेको
जस्तो लाग्छ यिनले
कसैको मुख थुनिएको
जस्तो देख्छु
कसैको स्कुलको फ्रक
च्यातिएको जस्तो देख्छु
कसैले फुटपाथमा
ठेला ठेलेजस्तो लाग्छ
कसैले चोकमा
ट्राफिक भनेजस्तो…
कसैले
‘प्रहरी मेरो साथी’
भनेजस्तो सुन्छु
कसैले
‘देश जस्तो देश’
भनेजस्तो सुन्छु…
मैले सोधेँ—
‘तिमीहरू कुन देशका हौ?’
उत्तर आयो—
देश भनेको के हो?
त्रिभुज आकारको झन्डा?
या
नयाँ पार्टीको आधारमा
अंशबन्डा?
कि हो
महानगरको गाडी?
या
बलात्कारी जन्माउने कारखाना?
या हो
अल्गोरिदमको प्रयोगशाला
गरिबहरूको मृत्युमा
सट्टेबाजी गरिने
जुवाघर?
आखिर
के नै नाप्छ देशले?
भोकालाई खाना दिन्छ?
मेरो च्यातिएको फ्रक
सिलाइदिन्छ?
गरिबीको आगो
निभाइदिन्छ?
केही गर्न सक्दैन।
म मरिहालेँ भने बल्ल
एक–दुई दिन
देश भएजस्तो गर्छ
बेच्छ आँसु
अल्गोरिदममा,
फेरि सकिन्छ!
यो देश जस्तो देश—
गरिबलाई
सधैँ बिझाउँछ।
म कविता लेख्न बसेको दिन…
आँखा भरिएजस्तो हुन्छ
मसँग
कुनै जवाफ हुँदैन
र रोकिदिन्छु
लेख्न लागेको
नारा—
जय देश!